आशिष पौडेल | अन्तर्मन्थन | चैत १२, २०७८
गोपाल अश्क अर्थात् गोपालप्रसाद सर्राफले एसएलसी दिएपछि के मात्र काम गर्नुभएन । अंग्रेजीको ट्युसन पढाउनदेखि मारवाडीको पसलमा सम्म काम गर्न भ्याउनुभयो । यी सबैको राम्रो अनुभव छन् उहाँको ।
बुबाले भनेर मारवाडीको पसलमा जानुभयो एक दिन काम गर्न । तर, मारवाडीको व्यवहारले उहाँलाई एक दिन होइन, आधा दिन टिक्न पनि गाह्रो भयो । अनि, एक प्रकारको कसम नै खानुभयो- मारवाडीको गद्दामा बसेर काम गर्दिनँ । बुबालाई भन्नुभयो, 'मेरो चिन्ता गर्नुपर्दैन, मेरो बन्दोबस्त आफैँ गर्छु । तर, मारवाडीको काम गर्दिनँ बरु ट्युसन पढाएरै जीवन गुजारा गर्छु ।'
उहाँले होम ट्युटरका रूपमा बिहानदेखि बेलुकासम्म पढाउनुभएको छ । बिहान ६ बजेदेखि बेलुका ९ बजेसम्म । साइकल कुदायो अनि पढायो । अनि, बेलुका स्कुल छुट्टी भएर विद्यार्थी घर आउने समय ५ बजेदेखि फेरि होम ट्युसन चालू रहन्थ्यो ९ बजेसम्म । यसरी पढाउँदा महिनाको झण्डै ४००-५०० रुपैयाँ कमाइ हुन्थ्यो ।
उहाँको ससुराली भारतको बिहार । ज्वाइँ बेरोजगार भएको देखेर सासूआमाले जागिर खान आवेदन दिन बोलाउनुभयो । भारतमा विदेश विभागबाहेक, रेल्वे, शिक्षण तथा बैंकमा तिब्बती, भुटानी तथा नेपाली नागरिकले आफ्नो परिचय खुलाएर लडेरै जागिर खान पाइन्छ । उहाँ पनि यसैगरी जागिर खान जाने क्रममा सुगौली स्टेसनमा रेल कुरिरहनुभएको थियो ।
रेल कुर्ने क्रममा सानो एउटा तन्ना ओच्छ्याएर उहाँ आफ्नै चर्चित गीतहरूको धूनमा माउथ हार्मोनियम बजाइरहनुभएको थियो मस्तले आँखा चिम्लिएर । पछि उहाँले आँखा खोलेर हेर्दा त तन्नामा १०, २०, २५ पैसा गरेर २० रुपैयाँ जम्मा भएछ । मान्छेहरूले उहाँलाई भिखारी ठानेर त्यसरी तन्नामा पैसा हालिदिएका रहेछन् । यो उहाँको जीवनको अविस्मरणीय घटना रह्यो ।
उहाँले वीरगंजको मेलामा कस्मेटिक सामानको व्यापार पनि गर्नुभयो । तर, भएन त्यसमा पनि घाटा बेहोर्नुपर्यो । उहाँले बाटोमा इँटा र कोइलाले कोरेर भगवानको चित्रसमेत बनाउनुभयो । अनि, बाटोमा आउने-जानेले उहाँको त्यो चित्र हेरेर पैसा दिन्थे । दुःख र अभावका पहाड अग्लै छन् अश्कका ।
यसले उहाँलाई चित्रमा पो पैसा आउँछ कि भन्ने लाग्यो । अनि, उहाँ मोतिहार नातामा भिनाजु पर्नेकहाँ गएर सिमला आर्ट पनि सिक्नुभयो एक महिना । नेपालीलाई बिहान, दिउँसो, बेलुका भात खानुपर्ने । मोतिहारीमा रोटी मात्र । भाते बानीले उहाँलाई मोतिहारीले टिकाउन सकेन । अनि, फर्केर वीरगंज आएर पूजा आर्ट खोल्नुभयो । पेन्सिल आर्ट पनि बनाउनुभयो । तर, त्यसलाई पनि धेरै टिकाउन सक्नुभएन । सुरुसुरुका आफ्ना किताबमा उहाँ आफैँले पेन्सिल आर्ट गर्नुभएको छ ।
सन् १९८५ मा भने उहाँले इन्सुरेन्स कम्पनीमा काम सुरु गर्नुभयो । जुनसुकै अन्य काम सुरु भए पनि उहाँले आफ्नो लेखनवृत्तिलाई भने त्याग्नुभएन ।
०००
गोपालप्रसाद सर्राफ अर्थात् गोपाल अश्क । अश्क भने उहाँको साहित्यिक नाम हो । ७ दाजुभाई बितेपछि जन्म भएको हुनाले उहाँको नाम गोपाल राखिएको हो । उहाँको जन्म पर्सा जिल्लाको कालिका गाउँको भेडिहारीमा भएको हो ।
सर्राफ भनिसकेपछि पेसाले काम नै सुन-चाँदीको पर्यो । तर, उहाँका बुबाले भने पेसागत काम छाडर नेपाल बैंकमा काम गर्न थाल्नुभयो । 'अब पेसागत काम छाडेर अन्य काम गर्नु अनि खेतबारी पनि १० कठ्ठा मात्र भएको अवस्था भनेको निम्नमध्यम वर्गीय अवस्था नै हो आर्थिक हिसाबले', गोपाल प्रष्ट्याउनुहुन्छ ।
‘ज्याला गरेर नै खाने स्थिति हो’, गोपाल भन्नुहुन्छ, ‘बैंकमा बुबाको जागिर भएपछि अवस्था केही सुध्रियो ।’ जागिर भएपछि भने उहाँहरू वीरगंज आउनुभयो ।
उहाँको बुबा धेरै नपढे पनि मान्छे भने अध्ययनशील हुनुहुन्थ्यो । रामायण तथा गीता वाचन गर्नुहुन्थ्यो । अनि उहाँलाई पनि बुबाले पढाउनुभयो ।
०००
आर्थिक अवस्था खासै राम्रो नभए पनि एक्लो छोरो भएको हिसाबले नखाई भोकै बसेको अनुभव भने छैन उहाँको । पर्सा जिल्लामा उहाँको गाउँ शिक्षाको हिसाबले सम्पन्न मानिन्छ । राजनीतिक दृष्टिले तथा चेतनाको दृष्टिले पनि भेडिहारी उच्च मानिन्छ । गाउँमा डाक्टर, इन्जिनियरलगायत शिक्षाका दृष्टिले उच्च मानिएका जनशक्तिको बाहुल्य नै थियो ।
३ कक्षासम्म पढ्दा उहाँ गाउँमै रहनुभयो । उहाँको प्राथमिक शिक्षा नथुनी प्राविमा भएको हो । कबड्डी, ठारिटीका, गुलीटार, पाङ्ग्रा गुडाउने अनि मोजामा कपडा कोचेर झुम्राका बल खेलेरै बितेको हो उहाँको बचपन पनि ।
घाँस काट्ने एक प्रकारको खेला अनि गाडेको लठ्ठीलाई ढालेर खेलिने लठ्ठीकासा पनि नखेलेको होइन उहाँले । कति पटक खेलमा हारेपछि साथीभाइलाई पिठ्युँमा बोकेर डुलाउनुभएको छ भने जित्दा आफू बोकिनु पनि भएको छ ।
'ओका बोका तीन तरोका, बबुआ लाठी चन्दन काठी चन्दनाको गावँका' भनेर भोजपुरी गीत गाएर खेलेको पनि स्मरणमा ताजै छ उहाँको । आखिर बाल्यकाल सबैको प्रिय नै हुने गर्छ, जतिसुकै अभाव र पीडाका दिन रहे पनि ।
फुटबल उहाँको प्रिय खेल थियो । उहाँको हाफ ब्याकी । त्यसबेला हाफ ब्याकी र फुल भन्ने चलन थियो । अहिले परिमार्जन भएर डिफेन्डर भएको छ । तर, उहाँको हाफ ब्याकीले खासै प्रगति गर्न सकेन बरु त्यो हाफ ब्याकी समय बित्दै जाँदा साहित्यमा भने राम्रो डिफेन्डर बनेर निस्केको छ, जसले आफ्नो नेपाली, मैथिली, भोजपुरी भाषाको राम्रो रक्षा गरेको छ ।
०००
उहाँले पढ्ने बेलामा नथुनी राष्ट्रिय प्रावि झुप्रो थियो । बस्नलाई डेस्क-बेञ्च थिएनन् । चकटी बोकेर जानुपर्थ्यो स्कुलमा बस्नका लागि । नत्र चिसो भुइँ जिन्दावाद ! घडी थिएन । समयको जानकारीका लागि घामको ओझेल नै प्रमुख साधन थियो । ओझेल कहाँ आउँदा कति बज्छ भनेर सिन्का गाडिन्थ्यो । सिन्का हेरेर ओझेल कहाँ आउँदा खाजा समय अनि छुट्टी हुने समय भनेर खुट्याउनुपर्थ्यो । त्यस अर्थमा त्यसबेलाको त्या समय बेग्लै थियो । ओझेलको समय ।
उहाँको हातमा घडी सजिएको भनेको १० कक्षा पास भएपछि बुबाले किनिदिएपछि हो । पहिले नेपालीको पढाइ पनि भोजपुरीमा हुन्थ्यो अर्थात् नेपाली पढाउने शिक्षकले नेपाली भोजपुरीमा बुझाउँथे । पढाउने धेरै शिक्षक भारतीय नै हुन्थे ।
३ कक्षामा प्रथम हुनुभएका उहाँ ४ कक्षा नपढी एकै पटक नथुनी स्कुल छाडेर वीरगंजको नेपाल रेल्वे स्कुलमा ५ कक्षामा पढ्न आउनुभयो । नेपाल रेल्वेको अवस्था पनि नथुनी स्कुलभन्दा कम थिएन । भवन नाम मात्रको थियो । तर, विद्यार्थी भने सेक्सनमा विभाजित हुन्थे ।
६ कक्षादेखि भने उहाँ माई स्थान विद्यापीठमा पढ्न थाल्नुभयो । माई स्थान स्कुलबाट उहाँको विद्यालय जीवन सकियो अर्थात् त्यहाँबाट नै एसएलसी पूरा गर्नुभएको हो । त्यसबेला म्याट्रिक भन्ने चलन भए पनि उहाँको पालामा स्कुल लिभिङ सर्टिफिकेट अर्थात् एसएलसीको प्रमाणपत्र आएको थियो । उहाँको पालामा नै ८ कक्षाको पनि सेन्टअप जाँच अर्थात् जिल्लास्तरीय परीक्षा दिनुपर्ने बनाइएको थियो । त्यसभन्दा अगाडि यस्तो व्यवस्था थिएन ।
उहाँ ६ कक्षामा पढ्दा बी सेक्सनमा हुनुहुन्थ्यो । कक्षामा झण्डै ३० जनाजति हुन्थे । छात्राहरूको १० को हाराहारी हुन्थ्यो । छात्रा र छात्रको अलगअलग बेञ्च हुन्थ्यो । सिनेमा हलमा पनि यही चलन थियो । बोल्ने भन्ने चलन नै थिएन । १० कक्षामा गएपछि बल्ल उहाँका १-२ जना महिला मित्र बने ।
२०३५ सालमा एसएलसी दिएपछि उहाँले हिन्दीमा 'बदला' शीर्षकको नाटक लेख्नुभयो, जुन उहाँले रानीघाट वीरगंजमा खेलाउनुभयो । उहाँले लेख्न नेपालीमा सुरु गर्नुभयो । त्यसपछि क्रमश: भोजपुरी तथा हिन्दीमा लेख्नुभयो । अहिले भने उहाँ अंग्रेजी तथा मैथिलीमा पनि लेख्नुहुन्छ
माई स्थान माविको भने पक्की २ तले भवन थियो । स्कुल कम्पाउण्डले घेरिएको थियो । बस्ने डेस्क-बेञ्च पनि राम्रै थिए । शिक्षकहरू पनि राम्रै थिए माई स्थानमा । त्यसबेला शिक्षकसँग सवाल/जबाफ त दुर्लभ नै थियो । शिक्षकको छायासँग पनि डर लाग्ने अवस्था थियो । अहिले पनि उहाँहरू शिक्षकलाई भेट्दा २ हात जोडेर नमस्कार नगरी खुट्टामा नै ढोग्ने गर्नुहुन्छ । उहाँहरू त्यो संस्कारबाट संस्कारित हुनहुन्थ्यो ।
उहाँलाई अहिले लाग्छ, त्यसबेला शिक्षक पनि त्यसरी नै मर्यादामा अनि आदरभावसहितका हुन्थे । शिक्षकले विद्यार्थीलाई पनि त्यहीअनुसार माया गर्थे । अहिले समय बदलिएको छ । शिक्षक र विद्यार्थी दुवैमा त्यो संस्कार हराएर गएको छ ।
०००
उहाँ खासै मेधावी विद्यार्थी होइन । भोजपुरीमा भन्नुपर्दा भुस्कोल अर्थात् भुस अनि राम्रो नपढ्ने विद्यार्थी । अनि, बसाइ पनि अन्तिम बेञ्च अर्थात् ‘ब्याक बेञ्चर’ विद्यार्थी । पढाइमा तेज नभए पनि उहाँ गीत गाउन तथा चित्र बनाउन भने माहिर हुनुहुन्थ्यो । त्यसले गर्दा सबैले मनपराउँथे ।
उहाँले २०३५ सालमा एसएलसी दिनुभएको हो । उहाँको ब्याचमा झण्डै ३० जनाले एसएलसी दिएकामा ७-८ जना मात्र पास भए । त्यसबेला रिजल्ट पनि एकदमै थोरै प्रतिशत निस्किएको थियो । सायद त्यही कारण हो कि उहाँ पहिलो पटक पास हुन सक्नुभएन । २०३६ सालमा मात्र उहाँ पास हुनुभएको हो ।
एसएलसी दिनेबित्तिकै उहाँको बिहे भयो । बिहेले जिम्मेवारी थपिदियो । काम गर्नुपर्ने परिस्थिति आयो । तर, वीरगंजमा त्यसबेला रात्रि स्कुल थियो, कलेज भने थिएन । अनि, उहाँ बाध्य भएर पारि भारतको रक्सौलमा रहेको खेमचन्द महाविद्यालयमा जानुभयो पढ्न । आईए तथा बीए उहाँले खेमचन्दबाट नै गर्नुभयो । काम गरेरै पढ्नुपर्ने बाध्यताले गरेर उहाँले एमए भने प्राइभेट त्रिभुवन विश्वविद्यालयबाट गर्नुभयो ।
०००
उहाँले कक्षा ८ देखि लेख्न थाल्नुभएको हो । अहिले उहाँ पूर्णकालीन लेखक । तर, जस्तोसुकै दुःखका दिनमा पनि उहाँले लेख्न छाड्नुभएन । उहाँले अनुवादको काम गर्नुभयो, जीवनवृत्तिका निमित्त, जुन हालसम्म पनि जारी छ ।
झण्डै ३०-३५ वर्ष अगाडि उहाँले एमयू प्रोटेक्सन भनेर अनुवादको ५ हजार रुपैयाँ लिनुभएको थियो । उहाँ विशेषगरी हिन्दीबाट नेपालीमा अनुवाद गर्नुहुन्छ । मौलिक सिर्जना तथा शोध, अनुसन्धानका काम पनि गर्नुभयो । अहिले भने अनुवाद, सम्पादन तथा शोध, अनुसन्धानबाट नै उहाँको आफ्नो खर्च चलेको छ ।
०००
एसएलसी दिनेबित्तिकै बिहे गर्नुभएका अश्कका २ छोरा तथा २ छोरी हुनुहुन्छ । जेठी छोरी सरकारी स्कुलमा प्रधानाध्यापक हुनुहुन्छ सर्लाहीको हरिऔनमा भने अर्की छोरी पनि वीरगंजमा बोर्डिङ स्कुलमा पढाउनुहुन्छ । एउटा छोरा भने ज्योति लाइफ इन्सुरेन्सको फाइनान्सको चिफ हुनुहुन्छ भने अर्को छोरा विदेश जाने तयारीमा तथा एमआरको काम गर्दै हुनुहुन्छ ।
०००
उहाँ आफू साहित्यतर्फ आकर्षित हुनुको कारण तथा प्रेरणाको स्रोत बुबालाई मान्नुहुन्छ । बुबा धार्मिक प्रवृत्तिको मान्छे । बिहान उठेर नुहाइधुवाइ गरेर उहाँलाई काखमा राखेर रामायण तथा गोपाल गोपाल भनेर कृष्णको भजन गाउनुहुन्थ्यो । उहाँलाई लाग्थ्यो, बुबाले मेरै नाम लिँदै हुनुहुन्छ ।
गाउँघरमा हुने गरेको रामायण, महाभारतका नाटक तथा मेला पनि आफ्नो साहित्यतर्फको यात्राको अर्को कारक मान्नुहुन्छ अश्क । कक्षा ३ मा पढ्दादेखि नै गाउँमा हुने रामायण तथा छठमा हुने यस्ता नाटकले उहाँलाई साहित्यतर्फ आकर्षित गरेको हो । उहाँ आफैँ नाटक लेख्ने, खेल्ने तथा अभिनय पनि गर्नुहुन्छ ।
वीरगंज नेपाली साहित्यको उर्वर भूमि पनि मानिन्छ । ठूला लेखक, साहित्यकारको भूमि पनि हो वीरगंज । यस अर्थमा पनि भूमि पनि उहाँको साहित्य सिर्जनाको कारक भएको मान्नुहुन्छ अश्क ।
कक्षा ८ मा पढ्दा उहाँको पहिलो कथा एउटा स्थानीय पत्रिकामा छापिएको थियो । त्यो कथा उहाँको साथीको पीडा थियो, जुन उहाँलाई साथीलाई सुनाएको थियो । अनि, उहाँले कविता पनि लेख्न सुरु गर्नुभयो ।
२०३५ सालमा एसएलसी दिएपछि उहाँले हिन्दीमा 'बदला' शीर्षकको नाटक लेख्नुभयो, जुन उहाँले रानीघाट वीरगंजमा खेलाउनुभयो । उहाँले लेख्न नेपालीमा सुरु गर्नुभयो । त्यसपछि क्रमश: भोजपुरी तथा हिन्दीमा लेख्नुभयो । अहिले भने उहाँ अंग्रेजी तथा मैथिलीमा पनि लेख्नुहुन्छ ।
उहाँले 'प्रेमान्तर' शीर्षकमा नेपालीमा गजल महाकाव्य लेख्नुभएको छ । हालसम्म गजलमा महाकाव्य उहाँको मात्र हो । बीएमा यसको पढाइसमेत हुन्छ । त्यस्तै, 'जीवनको लेक र बेँसी' गजलसंग्रह पनि छ उहाँको
प्रकाशनका हिसाबले २०३२ सालमा उहाँको रचना 'पत्थरको हृदय' कथा छापिएको थियो । यो उहाँको साथीलाई सौतेनी आमाले दिएको पीडाबाट जन्मिएको कथा थियो ।
२०४५ सालमा भारतले नेपालमाथि नाकाबन्दी गरेपछि उहाँले भारतको अन्यायका विरुद्ध धारावाहिक रूपमा कविता लेख्नुभयो । २०४७ सालमा आएर उहाँको पुस्तक प्रकाशन सुरु भयो ।
उहाँको पहिलो पुस्तक 'कजरी' खण्डकाव्य हो, जुन भोजपुरीमा लेखिएको छ । उहाँले सुरुसुरुमा भोजपुरीमा धेरै लेख्नुभयो । उहाँले नेपालमा भएका २ ठूला परिवर्तन २०४६ तथा २०६२/०६३ लाई लिएर भोजपुरीमा २ वटा महाकाव्य लेख्नुभएको छ । पहिलो महाकाव्य 'धधोर' थियो, जसको अर्थ राप, ज्वाला हुन्छ । अर्को भनेको 'शंखनाद' हो ।
त्यसपछि नेपालीमा गोपाल अश्कका कथाहरू, निदाउन नसकेका कथाहरू, रातहरू आदि कथाका किताबहरू प्रकाशन भए । उहाँले 'प्रेमान्तर' शीर्षकमा नेपालीमा गजल महाकाव्य लेख्नुभएको छ । हालसम्म गजलमा महाकाव्य उहाँको मात्र हो । बीएमा यसको पढाइसमेत हुन्छ । त्यस्तै, 'जीवनको लेक र बेँसी' गजलसंग्रह पनि छ उहाँको ।
लघुकथाको सिद्धान्तको पहिलो प्रकाशन नै उहाँको हो नेपालीमा । अहिले भने उहाँ अनुवादमा धेरै व्यस्त हुनुहुन्छ । अनुवाद, सम्पादन, शोध, पाठ्यपुस्तक तथा उहाँको आफ्नो मौलिक सिर्जना गरेर झण्डै ४५ वटा पुस्तक प्रकाशनमा छन् उहाँका ।
हाल उहाँ नेपाली लेखक संघको उपाध्यक्ष, लघुकथा समाजको उपाध्यक्ष, प्रज्ञाप्रतिष्ठानबाट निस्कने त्रैमासिक पत्रिका 'समकालीन साहित्य'को उहाँ सम्पादकमण्डलमा हुनुहुन्छ । त्यस्तै, प्रज्ञाबाट निस्कने अर्को भोजपुरी पत्रिका 'मौवा'को पनि उहाँ सम्पादकमण्डलमा हुनुहुन्छ । वीरगंज महानगरपालिकाले खोलेको भोजपुरी प्रतिष्ठानको पनि उहाँ सल्लाहकार हुनुहुन्छ ।
२०५५ सालमा राष्ट्रिय प्रतिभा पुरस्कार, गंकी-बसुन्धरा पुरस्कार, २०५५, महाकवि देवकोटा पुरस्कार, २०५६, प्रज्ञाबाट छापिएको भोजपुरी नाटकमा वर्षभरिको उत्कृष्ट शोधग्रन्थका लागि साझा प्रकाशनबाट लोकसाहित्य पुरस्कार, २०६२/०६३, संस्कृति मन्त्रालयबाट २०७२ सालमा महाकवि देवकोटा पुरस्कार, दीप-गोविन्द पुरस्कार, अभिनव साहित्य पुरस्कार, गजलश्री सम्मानलगायत उहाँ थुप्रै पुरस्कार तथा सम्मानबाट सम्मानित हुनुहुन्छ ।