नारायण गाउँले | दृष्टिकोण | चैत १४, २०७८
बोल्ने कला र साहस पनि मिसाइलभन्दा बलिया हुने रहेछन् ! युक्रेन आधा हतियारले लडेको होला, आधा लडाइँ राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको बोली र हिम्मतले लडिरहेको छ । कैयौँ गुणा शक्तिशाली रुसी आक्रमणसँग युक्रेन यतिन्जेल लड्न र टिक्न सक्छ भन्ने विश्वास यही एउटा व्यक्तिबाहेक बाँकी विश्वलाई थिएन । अमेरिकी अनुमान त रुसले ३ दिनभित्र राजधानी कब्जा गर्छ भन्ने थियो ।
यो युद्ध जेलेन्स्कीले सुरु गरेको युद्ध होइन । नाटोमा जाने युक्रेनी चाहना २० वर्ष पुरानो हो, जेलेन्स्कीको नयाँ चाहना होइन । जेलेन्स्की सत्तामा आउनुअघि नै रसियाले क्राइमिया निलिसकेको थियो भने दोनबास क्षेत्रमा रसियन सैन्य सहयोगमा विद्रोहीले कब्जा जमाएका थिए । त्यहाँ गृहयुद्धको अवस्था थियो । जेलेन्स्की कुनै शक्तिले बन्दुकको नालमा सत्ता परिवर्तन गरेर कुर्सीमा राखिदिएको तानाशाह होइनन्, जनमतबाट निर्वाचित राष्ट्रपति हुन् ।
आफ्नो देशको सार्वभौमिकता सबैलाई प्यारो हुन्छ । एक इन्च भूमि पनि विदेशीलाई दिने गरी कुनै पनि सम्झौता गर्दा उसको ७ पुस्ता 'लेन्डुप' भनेर चिनिन्छ । आफ्नो भूमि निलेको, तँ देश नै होइनस् भनेर धम्की दिने र आफ्ना भूभागमा कब्जा जमाएर बसेको देशसँग मित्रवत् सम्बन्ध राख्न सजिलो हुँदैन । अझ मेरो जमिन पनि तेरो र मेरो सुरक्षा पनि तेरै हातमा भनेर आत्मसमर्पण गर्न त कुन राजनीतिज्ञ तयार होला र ?
जेलेन्स्कीलाई त्यही समस्या थियो । देशभित्रै तीव्र विवादका बाबजुद उनले रुससँग वार्ता गरेर, दोनबास क्षेत्रमा गृहयुद्ध रोक्न असफल प्रयास गरेका थिए । युक्रेनमा अतिराष्ट्रवादीले त उनलाई रुसको दलाल नै भन्ने गरेका थिए । उनी देशभित्र तीव्र असन्तुष्टि भए पनि नाटोको सदस्य बन्ने चाहना त्याग्न तयार देखिएका छन् ।
युद्धको कारणबारे नजाऊँ । त्यहाँ तपाईंका आफ्नै तर्क होलान् र पक्ष/विपक्ष होला । तर, कुनै पनि बेला मारिन सक्ने अवस्थामा समेत जेलेन्स्की आफ्नो ३ पुस्तालाई पुग्ने धनदौलत जम्मा गरेर देश नछाडेको र डटेर देशका लागि लडेको देख्दा विश्वका धेरै मान्छे छक्क परेका छन् । एकाएक उनी प्रेरणाका स्रोत बनेका छन् । अमेरिकालगायत पश्चिमी मुलुकले उनलाई सकुशल उद्धार गर्न जहाज पठाउने प्रस्तावसमेत राखेका थिए । तर, उनले देशमाथि शत्रुले आक्रमण गरेका बेला जहाज होइन, हतियार पो सहयोग गर्ने हो भनेर सबैलाई अचम्भित बनाए ।
जेलेन्स्की भागेको दिन या उनी मारिएको दिन युक्रेनी प्रतिरक्षा ध्वस्त हुन्छ र केही दिनमै पूरा देश रुसको कब्जामा हुन्छ भन्ने धेरैलाई लाग्छ । सेनाले आत्मसमर्पण गरेको दिन युक्रेनको नक्सा आजको जस्तो पक्कै हुँदैन । तत्कालका लागि रुसले चाहेको कसैलाई राष्ट्रपति बनाउने र क्राइमियामा जस्तै एउटा जनमतसंग्रहको नाटक मञ्चन गराएर रुसमा विलय गराउने डर युक्रेनीहरूलाई छ ।
४० लाख युक्रेनीले त्यसै पनि देश छाडिसकेका छन् । जर्जियादेखि क्राइमियासम्मका उदाहरण तिनले देखेका छन् । दोनबास क्षेत्रलाई पनि अहिले छुट्टै देशका रूपमा अलग्याउने, जनमतसंग्रह गर्ने र रुसमा विलय गराउने दिशामा रुस अघि बढेको सबैले देखेका छन् ।
जेलेन्स्कीसँग विकल्प छैन । उनले हतियार बिसाउने हो भने देश रहँदैन । उनी कुनै आइल्याण्डमा सुख सयलपूर्वक जीवन बिताउन सक्लान् तर ७ पुस्तासम्म 'लेन्डुप' भनेर युक्रेनभित्र सरापिनेछन् । मान्छेले उनलाई कमेडियन भनेर हेपेका पनि देखिन्छ तर एउटा कमेडियनले विश्वको सबैभन्दा शक्तिशाली शासकमध्ये एक पुटिनको रणनीतिलाई कडा टक्कर दिइरहेका छन् ।
युक्रेनमाथि विश्वका धेरै नागरिकको सहानुभूति कमाइरहेका छन् र महत्त्वपूर्ण कुरा वाक्पटुताले अन्य देशलाई सहयोग गर्न बाध्य बनाइरहेका छन् । धेरैलाई थाहा छ, जेलेन्स्कीको प्रभावपूर्ण बोलीकै कारण पश्चिमी देशहरूले रुसविरुद्ध आफू नोक्सानमा रहेर पनि सोचेभन्दा कडा नाकाबन्दी गर्न बाध्य भए ।
उनको भाषा र सम्बोधन यति शक्तिशाली छ कि टर्की र जर्मनी जस्ता रुससँग मधुर सम्बन्ध भएका देशसमेत युक्रेनलाई सैन्य सहयोग गर्न अगाडि आएका छन् ।
युद्धमा महत्त्वपूर्ण मानिने लडाकु विमान दिन पश्चिम तयार भएन, नो फ्लाई जोनको अनुरोध पूरा गर्न नाटो तयार भएन, सेना पठाउन कोही तयार भएन । यस्तोमा युक्रेन धेरै दिन टिक्दैन भन्ने स्वयं पश्चिमको अनुमान गलत साबित गर्दै उनले देशलाई अहिलेसम्म बचाई राखेका छन् । ठूलो क्षति र कडा प्रतिकार बेहोरेको रुसले अब युद्धको रणनीति फेर्ने सम्भावना बढेको देखिन्छ । छिट्टै युद्धबिराम हुन पनि सक्छ ।
रुससँग शान्तिवार्ता भयो भने पनि युक्रेनले दोनबास क्षेत्र बचाउन सक्ने सम्भावना देखिँदैन । सिंगो युक्रेन कब्जा गर्ने रणनीतिबाट पछि हट्यो भने रुसलाई 'फेस-सेभिङ'का लागि पनि दोनबास क्षेत्र चाहिन्छ नै । यस्तोमा जेलेन्स्कीले कुनै सम्झौता गरे भने पनि उनलाई देशभित्र असहयोग हुने र मारिने खतरा त रहन्छ नै । हाम्रो भाषामा उनी देश बेचुवा ठहरिन्छन् । युक्रेनमा अतिराष्ट्रवादीहरू प्रशस्त छन्, जसलाई पुटिनले नवनाजी भन्ने गरेका छन् ।
भोलि के होला, स्पष्ट छैन तर आजका लागि जेलेन्स्कीले विश्वले असम्भव ठानेको कुरो गरेर देखाएका छन् । हिजोसम्म युक्रेनको नक्सा नचिन्ने विश्वभरका लाखौँ बालबालिकाले आज उनको तस्बीर देख्नेबित्तिकै चिन्छन् ।
(गाउँलेको फेसबुकबाट)