लोकसंवाद संवाददाता | समाचार | चैत १५, २०७८
नेपाली कांग्रेसभित्र गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा बहस जारी रहँदा गण्डकी र कर्णाली प्रदेशका पार्टी सभापतिसहित शीर्ष नेता स्पष्ट भएर विपक्षमा उभिने भएका छन् ।
नेकपा एमाले बलियो रहेको तर्क गर्दै सभापति शेरबहादुर देउवाले राखेको स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने धारणाप्रति असहमति जनाउँदै गण्डकी र कर्णाली प्रदेशका प्रदेश सभापति विपक्षमा उभिने भएका हुन् ।
डा. शेखर कोइराला खेमाका अधिकांश नेताले गठबन्धन गरेर गएमा कांग्रेसको पहिचान गुम्ने जनाउँदै विपक्षमा मत प्रकट गरिरहेको केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन् । ‘शेखर कोइराला समूहका अधिकांश नेता गठबन्धनको विपक्षमा रहनुभएको छ’, गौतमले भनिन्, ‘गण्डकीका शुक्रराज शर्मा र कर्णाली प्रदेशका प्रमुख ललितजंग शाही पनि विपक्षमा देखिनुभएको छ ।’ कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, बलबहादुर केसी, रमा कोइराला, प्रकाश स्नेही, टेकबहादुर गुरुङलगायतका नेताहरूले विपक्षमा मत प्रकट गरेको गौतमले जानकारी दिइन् ।