विश्वको सबैभन्दा महँगो निर्वाचन अमेरिकालाई पछि पार्दै भारत अगाडि

विश्वको सबैभन्दा महँगो निर्वाचन अमेरिकालाई पछि पार्दै भारत अगाडि

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ०६, २०७६

‘सेन्टर फर मिडिया स्टडीज’ले गरेको अध्ययन अनुसार भारतीय लोकसभाको  निर्वाचनमा झन्डै सात अर्ब डलर खर्च भएको छ । 

नयाँ दिल्ली । भारतमा सम्पन्न भएको लोकसभाको निर्वाचन विश्वको सबैभन्दा बढी खर्च भएको निर्वाचन बनेको छ । 

‘सेन्टर फर मिडिया स्टडीज’को अनुसार भारतको सत्रौँ लोकसभाको निर्वाचन सम्पन्न गराउन झन्डै भारतीय मुद्रामा ५ हजार करोड (७ अर्ब डलर)  खर्च भएको छ ।  

ओपन सिक्रेट ओआरजीका अनुसार २०१६ मा सम्पन्न भएको अमेरिकी राष्ट्रपति निर्वाचनको खर्च यो भन्दा कम झन्डै ६.५ अर्ब डलर रहेको थियो । 

मिडिया स्टडीजका अनुसार २०१४ काे लोकसभा निर्वाचनमा झन्डै ५ अर्ब डलर खर्च भएको थियो । पाँचपर्ष पछि सम्पन्न भएको २०१९ को लोकसभा निर्वाचनमा २०१४ को तुलनामा झन्डै ४० प्रतिशत वृद्धि भएको हो । 

भारतमा लोकसभाका ५४३ सिटका लागि चुनाव हुन्छ । यसपटकको चुनावमा निर्वाचन आयाेगका अनुसार झन्डै ९० करोड मतदाता रहेका थिए । यस हिसाबले प्रति व्यक्ति निर्वाचन खर्च झन्डै आठ डलर पर्न गएको छ । 

भारतीय निर्वाचन आयोगका अनुसार भारतमा पहिला तीन आम निर्वाचनको खर्च झन्डै १० करोड रहेको थियो । १९८४ मा भएको चुनाव खर्च १ अर्ब पुगेको थियो । १९९६ को चुनावमा खर्च सीमा ५ अर्ब रहेको थियो । २००४ मा भएको निर्वाचनमा खर्च बढेर दश अर्बका हाराहारीमा पुगेको थियो । 

यसैगरी २०१४ मा सम्पन्न भएको निर्वाचन खर्च भारतीय रुपियाँमा  झन्डै ३९ अर्ब पुगेको थियो । २०१९ सम्म आउँदा भारतीय निर्वाचन विश्वकै सबैभन्दा महँगो निर्वाचन बन्न पुगेको छ ।  याे खर्च  सीमा पचास अर्ब पुगेकाे छ।