लोकसंवाद संवाददाता | समाचार | चैत १७, २०७८
कास्की । पोखराको मणिपाल शिक्षण अस्पतालका कर्मचारीले तीन महिनादेखि तालाबन्दी गर्दा प्रशासनिक कामदेखि स्वास्थ्य सेवा प्रदानमा समेत सास्ती भएको छ ।
श्रम ऐन र पुराना सहमति अनुसारको सेवासुविधा माग गर्दै अस्पतालका कर्मचारीले गत २० पुसमा प्रशासन भवनमा तालाबन्दी गरिदिए । लामो समय माग सुनुवाइ नभएको भन्दै दुईवटा डीनको कार्यकक्षमा पनि ताला लगाए । अझै कर्मचारीको माग सुनुवाइ भएको छैन ।
कर्मचारीको आन्दोलनले प्रशासनदेखि उपचारमा समेत समस्या सुरु भएको छ । उपचार कक्षमा तालाबन्दी नगरे पनि कर्मचारी व्यवस्थापन र सामाग्री खरिदमा समस्या भएको अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले २०७४ सालमा कर्मचारी युनियनसँग गरेको ७ बुँदे सम्झौता अनुसारका सेवासुविधा दिनुपर्ने कर्मचारीहरूको माग छ ।
कर्मचारी अमृत पौडेलले आफ्ना मागहरु नयाँ नभएको र सहमति कार्यान्वयनलाई मात्र अघि सारिएको बताए । ‘यी कुनै पनि माग नयाँ होइनन् । अस्पताल प्रशासन र कर्मचारी युनियन बीच भएको सहमति कार्यान्वयनको माग हो,’ उनले भने, ‘धेरै पटक घच्घच्यायौँ। अस्पतालले सुन्दै सुनेन । बाध्य भएर तालाबन्दी गर्नुपरेको हो ।’
कर्मचारीलाई सुत्केरी बिदा, चार्ड पर्व र किरिया बिदा दिनुपर्ने उनीहरूको माग छ । मणि पालमा सधैँ जसो कर्मचारी र व्यवस्थापन पक्षको मनमुटाव बाहिरिनेछ । कहिले तलब वृद्धिको मागमा आन्दोलन हुन्छ भने कहिले सहमति कार्यान्वयनको दबाबका लागि । मणिपाल २०५९ सालमा खुलेको हो । आफ्ना मागबारे कर्मचारी युनियनले श्रम तथा रोजगार कार्यालय पोखरामा निवेदन दिएका थिए । श्रम कार्यालयले उपदान लगायतका सुविधा तत्कालै लागू गर्न निर्देशनात्मक पत्र दियो । तर, अस्पतालले त्यसलाई थन्क्याएर राखेको कर्मचारीको आरोप छ ।
‘नेपालको ऐनअनुसार खुलेको कम्पनीले नेपालकै श्रम ऐन मान्दैन । सरकारी निकायले दिएका निर्देशन पनि टेर्दैन,’ युनियनका अध्यक्ष जीवनबहादुर थापा भन्छन्, ‘ऐन नियम मान्दिनँ भन्ने अस्पतालमाथि सरकार किन चुप छ ?’
यस बाहेकका माग पनि कर्मचारीले अघि सारेका छन् । यसअघि गरिएको कोरोना बिमाको रकम पाउनुपर्ने, चाडपर्वमा खटाएका कर्मचारीलाई छुट्टै तलब सुविधा दिइनुपर्ने लगायत माग राखेका छन् । केही कर्मचारी कोभिड संक्रमणमा परेको र उनीहरूको बिमा गरिएको भए पनि अस्पतालले आफैँले बिमा रकम लुकाएको उनीहरूको आरोप छ । माग सुनुवाइ नभए केही दिनमै उपचार कक्षमा समेत तालाबन्दी गर्ने उनीहरूले चेतावनी दिए ।