हरिविनोद अधिकारी | दृष्टिकोण | चैत १९, २०७८
शिक्षा दिने होइन, सिकाउने हो । सिकाउने के भनेर ? समय, विश्व परिवेश, समसामयिक समाज, प्रचलित परम्परा र विश्वका अन्य देशहरुले गरेका राम्रा अभ्यासहरूलाई सिकाउने हो ।
संसार सानो भइसक्यो, कुनै पनि देश आफैँमा मात्र निर्भर हुन सक्दैन र परनिर्भरता ले पनि बाँच्न सक्दैन भन्ने कुरा यतिखेर छर्लङ्ग हुन थालेको छ । हाम्रो देश मैले थाहा पाउँदा का बेलामा पनि धानमा आत्मनिर्भर थियो र भारतका उत्तर प्रदेश, पश्चिम बंगाल र विहार प्रान्तका उत्तरी भेगबाट नेपाल आएर दाईँ भित्रैबाट धान किनेर लाने, धानको एकमुष्ट बैना गरेर जाने, पराल लैजाने गर्थे ।
हाम्रो मूलघर पूर्व २ नम्बर सिन्धुलीको उत्तरी भेगको दिङ्दिङ्मध्येको ग्वाल्टार भन्ने ठाउँमा थियो, जसलाई अहिलेको राजनीतिक विभाजनम वाग्मती प्रदेशको सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका, वडा नम्बर ३, ग्वाल्टारमा पर्छ ।
महोत्तरी जिल्लाको पाटु भन्ने ठाउँमा हाम्रो खेती थियो । भन्न त बाले १५ बिघा किन्नुभएको थियो रे कागजमा तर खासमा जग्गा त ९ विघा मात्र रहेछ । पछि नापी आएपछि नाप्दा त मात्र ९ बिघा । अनि हामीलाई जग्गा दिने सरजु चौधरी सुँडीलाई बाले सोध्दा भनेका रहेछन्, रातु खोलाभित्रै परेको छ केही, केही जंगलमा परेको छ यस्तै यस्तै ।
त्यसैले बाहरु भिन्न हुँदा त्यो जग्गाको तीन भाग लागेको थियो, माहिला बाको र कान्छा बाको भाग चाहिँ माहिला बाले लिनु भयो, हाम्रो एक भाग हामीसँग रह्यो । त्यसको कारण थियो, झार्लाङ्गेटार भन्ने ठाउँमा भएको जग्गाको पनि तीन भाग लाउँदा कान्छा बाले माहिला बाको भाग लिनु भयो र साटफेर गरिएको रहेछ । अर्थात् बा जहिले पनि हिउँदमा पाटुको धान र पराल बेच्न आउँदा म पनि कुनै कुनै बेला आउने गर्थेँ ।
मसँग त्यो पाटुको सम्बन्ध यस्तो रहेछ- म जब २०११ साल बैशाखमा जन्मिएँ, अनि बालाई लागेछ कि यही ग्वाल्टारमा मात्र बसेर हाम्रा सन्तानको के पो जीवन चल्ला र ? त्यसैले अब मेरो पनि सन्तान जन्मियो, अब ग्वाल्टार बाहेक, झार्लाङ्गेटार या तीनपाटक बाहेक पनि अन्यत्र कतै जग्गाको व्यवस्था गर्नुपर्छ । त्यसो त मभन्दा पहिले पनि बाका सन्तान थिए, माहिला बाका पनि सन्तान थिए, कान्छा बाका पनि सन्तान थिए तर मेरो तर्फ भने पहिलो आमाको तर्फबाट ६ वटी दिदीहरु र दुईवटा दाजुहरु जन्मिएर पनि सबै जनाको निधन भइसकेको रहेछ ।
त्यसैले म जन्मेपछि बालाई लाग्यो होला, अब मेरो पनि सन्तान फेरि जन्मिएको छ, त्यसैले फराक ठाउँमा बसून् , मज्जाले धानको भात खाएर बाँचून् जहाँ बस्तुभाउ पनि पाल्न सकून् । पाटु भन्ने ठाउँका बारेमा यतिमात्र सम्झाउन सक्छु म कि बीपी राजमार्गको बर्दीबास पुग्ने बेला भन्दा करिब ५ किलोमिटर उत्तरतिर रमणीय फाँट छ जंगलको बिचमा । जंगल किन पनि भनेको भने त्यो बेलामा जुन बेला बाले त्यहाँ किन्न लाग्नु भएको थियो, त्योबेलामा पाटुमा बाघको जग जगी थियो र रातु नदीमा जुठो परेमा, कसैले जाँड पानीमा हालेमा, दिसा पिसाब गरेमा बाघ गर्जन्छ भन्थे रे ! कति गाई गोरु बाघले मार्थ्यो रे !! मानिसहरु बाघको गन्ध पाएपछि जंगलमा रुखमाथि चढेर बस्थे रे हाँगामा छलिएर । यदि बाघले देख्यो भने त्यही रुखमुनि बसेर मानिस नझर्दासम्म ङुर्रङुर्र गरेर बस्थ्यो रे !!! आदि आदि ।
जंगलको बीचमा रहेको रमणीय फाँट जहाँ रातु नदीको पानी बाह्रै महिना प्रशस्त हुन्थ्यो, त्यहाँ बस्ने बिचारले होला, बाले त्यहाँ नै जग्गा किन्नु भएको रहेछ । तत्कालै बस्ने योजना त थिएन रे !, पछि फराक ठाउँमा बस्ने इच्छाचाहिँ रहेछ र त किन्नु भएको थियो होला ।
सायद ! त्योबेलामा बर्दिबासमा पनि बारी किनेको बुझिन्छ मझुवाका माहिला मामा इन्द्रलाल उपाध्याय दाहालसँग मिलेर । हुनसक्छ, पाटु र बर्दीबास एक प्रकारले साझा हिसाबले किनेको हो कि ? अहिले म स्पष्ट भन्न त सक्दिन ।
मैले थाहा पाउँदा पनि हाम्रो घरमा चिनी, नुन र मट्टितेलबाहेक अरु केही किन्नु परेको थाहा छैन । धान भकारीमा छँदै थियो, चामल किन्नु परेन । बारीमा तोरी लगाएको हुन्थ्यो , तोरी पेलेपछि तेल भइहाल्थ्यो, गाई भैँसी प्रशस्त थिए, घरमा दूध, दही, मोही, घिउ भइहाल्थ्यो । अझ हाम्रो बारीमा कपासको पनि खेती हुन्थ्यो । कपासको वहु आयामिक प्रयोग यसरी गरिन्थ्यो कि त्यसबाट प्यूरी तयार गरी बत्ती तयार गरिन्थ्यो, कपास फिटेर रुवाइ बनाई त्यसबाट धागो तयार गरिन्थ्यो जसबाट लुगा तयार गर्न देउराली टारमा परम्परागत खाँडी बनाउन दिइन्थ्यो, या मुढाजोरमा दिइन्थ्यो ।
मुढाजोरमा बनाएको खाँडी हाम्रो ठाउँमा प्रख्यात थियो जबकि हामीले पढ्ने सामाजिक शिक्षामा दुम्जामा खाँडी बनाइन्छ र त्यहाँको खाँडी राम्रो हुन्छ भनेर लेखिएको थियो । यसरी आफ्नो खुट्टामा उभिएको नेपाल थियो र कतिपय सामानहरु निर्यात गरेको बुझिन्थ्यो । आज आयातको भारबाट किचिएको हाम्रो देशमा व्यापार घाटा चुलिएको छ ।
मुकुन्द दाइले चौहत्तर भन्ने पुस्तक लेख्नु भएको रहेछ, त्यो पुस्तकको पृष्ठ नम्बर ११२मा तालीका बारेमा आफ्नो कटु संस्मरण लेख्नु भएको रहेछ । हामी बडी ल्याङ्ग्वेजको कुरा गर्छौँ नि, हो त्यही भाषाभित्र तालीको पनि प्रकार, मुखको हाउभाउ, जिउको चालढाल, बोलीचालीको तरिका, बोल्दा शब्दको उतार चढाव आदि हाम्रालागि सिक्नुपर्ने विषय रहेछ ।
भारत, चीन, या अन्य देशहरूसँगको व्यापार घाटाले हामीलाई विदेशी मुद्राको कमी हुन थालेको छ । अहिले विदेशमा काम गरेर बस्ने नेपाली युवाहरुको पसिनाको मूल्य रेमिट्यान्सको रुपमा नेपाल आएकाले विदेशी मुद्राको सञ्चिति देखिएको छ । निर्यातका कारणले नगण्य मात्रामा मात्र डलर भित्रिएको छ र यसरी जम्मा गरेको डलरको भुक्तानी पेट्रोलियम पदार्थमा प्रयोग गर्नु परेको छ ।
यो सबैका पछिल्तिर को कारण हाम्रो शिक्षा जीवनोपयोगी भएन भन्ने नै छ । हामीले तयार गर्ने जनशक्ति काम गर्ने भन्दा घरमा बसेर खाने र जागिर खाने प्रवृत्ति भएको भनेर आलोचना गरिन थालेको छ । अनि त्यही शिक्षा प्रणालीलाई निरन्तरता दिएका छौँ ।
कतिसम्म भने हामीले कक्षामा कसरी बस्ने, कसरी खाने, कसरी बोल्ने र कसरी ताली बजाउने भन्ने पनि सिकाएका छैनौँ रे भनेर एकजना परिपक्व इन्जिनियर मुकुन्द ढकाल दाइले मलाई आफ्नो एउटा पुरानो स्मरण सुनाउनु भएको सम्झन्छु । मुकुन्द दाइ मेरा भानिज बाका छोरा हुनुहुन्छ र अहिले पनि ७४ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय जीवन बिताइरहनु भएको छ ।
कुनै पनि इन्जिनियरिङ कलेजमा अप्ठयारो विषय अध्यापन गर्नु परेको खण्डमा उहाँलाई बोलाइन्थ्यो । उहाँले तासकन्दको विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तथा स्नातकोत्तर तह राम्रो अंकमा उत्तीर्ण गरेर आउनु भएको छ र नेपाल राष्ट्र बैंकको पेन्सनर पनि हुनुहुन्छ ।
उहाँ करिब ३२ वर्षको हुनुहुन्थ्यो रे ! जुन बेलामा उहाँ तासकन्दमा पढ्दै हुनुहुन्थ्यो र त्यो बेलाको सोभियत संघ भित्रको एउटा गणराज्य जर्जियाको राजधानी तिल्बसीमा कुनै सेमिनारका लागि जानु भएको थियो । करिब ६ हजार मानिसहरु अटाउने हलमा उहाँहरु कुनै विद्वानको प्रवचन सुन्दै हुनुहुन्थ्यो ।
अचानक त्यहाँ हाँसोसँग वक्ताको भनाइलाई मन पराउँदै ताली बजाउन थालियो । त्यसैसँग सम्बन्धित एउटा घटना उहाँले बेहोर्नु परेको थियो तालीका विषयमा । भएको रहेछ के भने युवा जोस तर राम्रोसँग नबुझेको भाषामा सबैले ताली बजाउन थालेपछि मुकुन्द दाइले पनि जोड जोडले ताली बजाउन थाल्नु भयो मानौँ कि त्यो प्रवचन उहाँलाई साह्रै नै मन परेको छ, उहाँले बुझेको हुनाले नै खुसी भएर ताली बजाइरहनु भएको छ ।
मच्ची मच्ची ताली बजाउँदै गर्दा कसैले कठालोमा समातेर अपहरणको शैलीमा उहाँलाई हल बाहिर ल्यायो । यसो हेरेको त रुसी भाषा पढाउने गुरु आमाले पो राता राता आँखा पार्दै उहाँलाई घिस्याएको भान पर्ने गरी बाहिर लिएर आउनु भएको थियो र सोध्नुभयो रे ! किन ताली त्यसरी बजाएको ? अनि उहाँले पनि अपमान महसुस गर्दै भन्नुभएछ, म त त्यो कुरा मन परेर खुसी हुँदै थप्पडी बजाउँदै थिएँ, तपाईँले मलाई कठालोमा समाएर बाहिर ल्याउनु भयो ।
बल्ल ती रुसी शिक्षिकले भनिछन्- सम्भावना छ, तपाईँलाई त्यो विद्वानको अपमान गरेको भनेर पुलिसले पक्राउ गर्न सक्छ किनभने तपाईँको थप्पडको अर्थ हुन्छ , 'आइ हेट दिस स्पिच, गो आउट इमिडिएट्ली' । तिम्रो भनाइ मलाई पटक्कै मन परेन, तिमी यहाँबाट निक्ली हाल । के तपाईँले त्यसै भन्नका लागि मच्ची मच्ची ताली बजाउनु भएको थियो र ?
मुुकुन्द दाइले भन्नु भएछ, होइन मेडम ! तर उनले भनिछन् , त्यसो भए फेरि हलमा नबस, तत्काल होस्टेलमा गएर आराम गर ! यदि खोजतलास भएछ भने पनि उसले भेट्ने छैन । नभए तपाईँको विश्वविद्यालयमा पत्र लेखेर भए पनि यहाँको प्रहरीले पक्राउ गर्नेछ र अपमानको बदला लिनेछ ।
मुकुन्द दाइले माफी माग्नु भएछ गुरु आमासँग र आफूलाई तालीको बारेमा खालि थप्पडी ठोक्न बाहेक अरु कुनै अर्थ थाहा नभएको भने पछि भोलिपल्ट उनले एउटा दैनिक व्यवहारसम्बन्धी पुस्तक किनेर दिइछन् जसमा कसरी बस्ने, कसरी खाने, कसरी बोल्ने, कसरी ताली बजाउने, ताली कसरी बजाउँदा केके अर्थ लाग्छ भनेर लेखेको पुस्तक । जुन पुस्तक प्राथमिक तहको पनि सुरुकै कक्षामा सिकाइँदो रहेछ ।
मैले जब सुनेँ उहाँको कुरा, बल्ल मलाई पनि लाग्यो, हो नि हामीले कहिल्यै पनि त्यस्तो शिक्षा लिएनौँ र दिएका पनि छैनौँ । अनि चम्चा चलाउन नजानेर रत्नपार्कको रिमझिम होटलमा कतिपटक समोसा या सिंगडा अर्काको प्लेटमा नाच्दै पुगेको धेरैलाई सम्झना छ पनि होला हामी पहाडबाट या मधेसबाट आएर रिमझिममा खान जानेलाई ।
तालीका विषयमा नेपालमा एउटा उखान पहिलेदेखि नै छ, एक हातले ताली बज्दैन । हो नि त । ताली पनि सभ्य तरिकाले चित्त बुझेकोमा बजाउने तरिका रहेछ, दाहिने हात माथि पारेर देब्रे हातमा बिस्तारै थ्याप थ्याप पार्ने सकेसम्म तीनपटक मात्र । अलि महत्वपूर्ण कुरा रहेछ भने त्यसै गरेर अरु एक दुई पटक बजाउने । योगका लागि टाउको माथि हात लगेर बजाउन सकिन्छ, छाती बराबरीमा भगवानलाई प्रणाम गरिन्छ, हातको बराबरीमा बिस्तारै दाहिने हातको पन्जाले देब्रे हातको पन्जामा ढ्याप ढ्याप बजाउने रहेछ सही तरिका ।
यदि मनपरी तरिकाले ताली बजायो भने त्यो अपमान रहेछ र तत्काल बोलिरहने मानिस निस्केर जा भनेको अर्थ लाग्ने रहेछ । मुकुन्द दाइले मच्ची मच्ची बजाएको तालीको अर्थ अरुले बजाएको भन्दा भिन्न परेछ जसको अर्थ हुने रहेछ, हे बोलिरहेको मानिस, तेरो कुरा मलाई मन परेन मात्र होइन, तँ बेवकुफ कुरा गरिरहेको छस्, तत्काल बाहिर जा । एकातिर विश्वविद्यालयले अतिथि वक्ता बनाएर विशिष्ट पाहुना ल्याएको छ, सबै देशका विद्यार्थीहरु खुसी भएर विस्तारै ढ्याप ढ्याप बजाइरहेका छन्, एउटा विद्यार्थी बेतालले मच्ची मच्ची ताली बजाइ रहेकोले रुसी भाषाकी शिक्षिकले दाइलाई सतर्क गराउन घिच्याउँदै बाहिर ल्याएर सिकाएकी रहिछन् अनि त्यहाँको पुलिसबाट बचाएकी रहिछन् ।
मुकुन्द दाइले चौहत्तर भन्ने पुस्तक लेख्नु भएको रहेछ, त्यो पुस्तकको पृष्ठ नम्बर ११२मा तालीका बारेमा आफ्नो कटु संस्मरण लेख्नु भएको रहेछ । हामी बडी ल्याङ्ग्वेजको कुरा गर्छौँ नि, हो त्यही भाषाभित्र तालीको पनि प्रकार, मुखको हाउभाउ, जिउको चालढाल, बोलीचालीको तरिका, बोल्दा शब्दको उतार चढाव आदि हाम्रालागि सिक्नुपर्ने विषय रहेछ ।
कूटनीतिक क्षेत्रमा बडी ल्याङ्ग्वेजको कत्रो महत्व छ भनिन्छ । कसो गरेमा वास्ता गरेको देखिने, कसो गरेमा अपमान गरेको बुझिने, कसो गरेमा माया गरेको बुझिने भन्ने सांकेतिक तरिका पनि शिक्षाको एउटा भाग हुने रहेछ जसलाई सञ्चारको कोटीमा राखिन्छ । नैतिक शिक्षा, नागरिक शिक्षा, जान्नै पर्ने शिक्षा भनेर हामीले सिकाउनै पर्ने रहेछ । हामीले दिने शिक्षा कति व्यावहारिक, कति प्रयोगात्मक र कति जीवनोपयोगी भनेर हामीले नै छुट्याउन सक्ने रहेछौँ । क्रमशः