लोकसंवाद संवाददाता | लोकरञ्जन | चैत १९, २०७८
मकवानपुर । मकवानपुरको मनहरीका युवा गोविन्द बर्तौलाले ‘जीवन धराप भो’ बोलको लोकगीत सार्वजनिक गरेका छन् ।
अमृत नेपालीको शब्द, रामकुमार नेपालीको संगीत रहेको गीतमा बर्तौला र आशा केसीको स्वर रहेको छ । सानैदेखि लोकगीतमा रुचि भएका बर्तौलाले ‘जीवन धराप भो, छाला राम्रो हुनेको चाला खराब भो’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
मान्छेलाई बाहिरबाट हेर्दा जति सुन्दर देखे पनि उसको चरित्र त्यस्तो हुन नसक्ने भन्ने सन्देश आफ्नो गीतमा रहेको गायक बर्तौलाको भनाई छ । बर्तौलाको गीत भारती पिक्चर्स नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । विभिन्न सार्वजनिक कार्यक्रम, स्टेज सोहरूमा आफ्नो लोकगायक कला प्रस्तुत गर्दै आएका बर्तौलाले लोकगीतको एल्बम बजारमा ल्याउन पाउँदा खुसी लागेको बताउँछन् ।
वि.स.२०६२/०६३ सालदेखि लोकदोहोरीमा रुचि बढ्न थालेकोमा अहिले आफ्नो रहर एल्बम नै निकालेर पूरा गरेको उनी बताउँछन् । ‘सानैदेखि लोकगीत सुन्ने, गुन गुनाउने गर्थे, एक दिन लोकगीत निकाल्छु भन्ने सोच मनमा पालेको थिए । ’ बर्तौला भन्छन्, ‘ लामो समयदेखिको त्यही इच्छा आज पूरा गरेको छु ।’
गीतको भिडियो ललितपुर भैंसेपाटीस्थित श्रीकाली चौरमा सुटिङ गरिएको हो । ९ मिनेट ३० सेकेन्डको गीतमा कलाकार लोमश शर्मा र रिना थापा मगरको मुख्य अभिनय रहेको छ ।