पर्वत भट्टराई | दृष्टिकोण | चैत २१, २०७८
मानव सभ्यताको सुरुदेखि नै एकले अर्कालाई सम्मान, कदर, प्रशंसा र इज्जत दिने परम्पराको विकास भएको पाइन्छ । जसले उत्कृष्ट, राम्रो र प्रगतिशील काम गर्छ, उसलाई कामअनुसारको सम्मान दिने कुरा सामाजिक जीवनको अभिन्न अंग पनि हो ।
यस्तो कार्य सभ्य समाजका लागि आवश्यकता जस्तै पनि हो । जुनसुकै जाति, धर्म, सम्प्रदाय, वर्ग र तहका लागि यस्ता कुराहरू दिनु र लिनु जीवनको उत्साहसँग जोडिएका हुन्छ । असल काम गर्नेलाई थप उत्प्रेरणा, जोस र जाँगर बढाउन सम्मान, कदर, प्रशंसा र इज्जत दिनु अत्यन्त राम्रो काम हो ।
यस भूगोलको जुनसुकै मानव सभ्यतामा पनि यस्ता परम्पराहरू थिए, छन् र पछिसम्म पनि रहिरहनेछन् । ईश्वर, भगवान्, देवी-देवतादेखि नेता, वैज्ञानिक, कलाकार, खेलाडी, विद्यार्थी र समाजसेवी जस्ता विशिष्ट मानिसहरूलाई त्यही समाजले सम्मान गरेका घटनाहरू हामी दिनदिनै हेरिरहेका छौँ ।
मानिसहरू प्रशंसा र सम्मानका लागि मरिहत्ते गर्छन् । आफूले सानो वा ठूलो जस्तो काम गरेको भए पनि अरूले राम्रो छ भनिदिए हुन्थ्यो भन्ने सबैलाई लाग्छ । आफ्नो कामको प्रशंसा गरेर 'आहा, क्या दामी, वाह, स्याबास' भन्दै अरूले एक पटक धाप मारिदिए पनि मन कति प्रफुल्ल हुन्छ मान्छे ।
अभिभावक, शिक्षक तथा ठूला मानिसले प्रशंसा स्वरूप केही भनिदिए मात्र पनि हाम्रो फुर्ती नै बेग्लै हुन्छ । यस्तो कार्य एउटा मानव संस्कृति जस्तै भइसकेको छ र यो आफैँमा नराम्रो पनि होइन । तर, हाम्रो समाजमा यसको दुरूपयोग गरेर असल र खराब पनि छुट्याउन नसक्ने गरी प्रशंसा, सम्मान र अभिनन्दनको बाह्रमासे भेल उर्लिएको देखिन्छ ।
गणतन्त्रात्मक लोकतान्त्रिक शासन व्यवस्था सुरु भएसँगै हाम्रो समाजका अनेक क्षेत्रमा यो भेल सुक्दै नसुक्ने गरी उर्लिरहेको छ । त्यसैले होला देशभरि नै सबैभन्दा बढी सम्मानका कार्यक्रमहरू भइरहेका देख्न पाइन्छ । सम्मान पाउनेहरूलाई देख्दा यस्तो लाग्छ कि उनीहरू गौतम बुद्ध, आइन्स्टाइन, न्युटन, कार्ल मार्क्स, गान्धी र मण्डेलाभन्दा केहीमा कम छैनन् ।
सानातिना कार्यक्रममा अनावश्यक तामझाम, खर्च, सजिसजाउ, प्रशंसापत्र, कदरपत्र, मायाको चिनो दिने र एउटा सिंगो मान्छेको टाउको पनि नदेखिनेगरी उसलाई मुर्कट्टा जस्तै पारेर खादा, माला लगाइदिने र अनुहार नै नचिन्ने गरी अबीर दलेर बाह्रै महिना बाह्रै काल फागु खेलेर आएको जस्तो किन बनाइदिनुपर्यो र ! मानका खातिर मान भनेजस्तो तक्मामाथि अर्को तक्मा किन दिनुपर्यो र ! त्यसको उपलब्धि के हुन्छ र !
गाउँदेखि शहरसम्म पूजापाठ, पर्व, मेला, महोत्सव, खेलकुद, भेला, गोष्ठी, प्रशिक्षण, राजनीतिक कार्यक्रम, सम्मेलन, अधिवेशन र तालिम जस्ता कार्यक्रम भइरहन्छन्। त्यस्ता कार्यक्रमहरूमा आज भोलि कार्यक्रमको खास उद्देश्यभन्दा बढी सम्मान, कदर, प्रशंसा र मायाको चिनो दिने भद्दा चलन सुरु भएको छ । कार्यक्रमको पूरा समयभन्दा बढी त्यहाँ तुल, ब्यानर लगाउन, आसन ग्रहण गराउन, खादा, माला लगाउन, प्रमुख अतिथि र अन्य अतिथिहरूको अनावश्यक परिचय दिन र प्रशंसा गर्नमा समय बित्छ ।
१ हजार रुपैयाँ चन्दा दिनेलाई २ हजार रुपैयाँको फ्रेममा बढाइचढाइ गरेर लेखिएको प्रशंसापत्र र कदरपत्र दिएको पनि देखिन्छ । सहयोगी र शुभेच्छुकहरूको नाम पढेर धन्यवाद र आभार प्रकट गर्दा मात्र हुने ठाउँमा शब्दकोशका गहकिला शब्द र भाषा खिपेर सगरमाथा चढेर आएको आरोही वा चन्द्रमा पुगेर फर्केको अन्तरिक्ष यात्रीलाई जस्तै प्रशंसा गरिन्छ । तर, यो केका लागि र किन ? भन्ने कुरा न प्रशंसा वा सम्मान दिनेलाई, न त लिनेलाई थाहा हुन्छ । तसर्थ एउटा गम्भीर प्रश्न हामी आफैँले आफैँलाई सोध्न जरुरी भइसकेको छ कि हामी किन यसो गरिरहेका छौँ ? कतै प्रगतिशीलका नाममा नवसामन्तवादको भद्दा अभ्यास गरिरहेका त छैनौँ ?
खेलमा जितेको खेलाडी, परीक्षामा उत्कृष्ट भएको विद्यार्थी, निर्वाचनमा जितेको जनप्रतिनिधि, नयाँ कुराको आविष्कार गर्ने वैज्ञानिक, कलाकारितामा अब्बल कलाकार वा कुनै क्षेत्रमा असल र विशिष्ट काम गरेको कुनै पनि मानिसलाई उचित प्रशंसा र कदर गर्दै सम्मान प्रकट गर्दा हुने ठाउँमा सानातिना कार्यक्रममा अनावश्यक तामझाम, खर्च, सजिसजाउ, प्रशंसापत्र, कदरपत्र, मायाको चिनो दिने र एउटा सिंगो मान्छेको टाउको पनि नदेखिनेगरी उसलाई मुर्कट्टा जस्तै पारेर खादा, माला लगाइदिने र अनुहार नै नचिन्ने गरी अबीर दलेर बाह्रै महिना, बाह्रै काल फागु खेलेर आएको जस्तो किन बनाइदिनुपर्यो र ! मानका खातिर मान भनेजस्तो तक्मामाथि अर्को तक्मा किन दिनुपर्यो र ! त्यसको उपलब्धि के हुन्छ र !
कतिपय कार्यक्रमहरूमा सभापतिले सभा विसर्जन गर्ने बेलासम्म पनि अतिथिहरूलाई आसन ग्रहणका लागि नाम बोलाइरहेको पनि पाइन्छ । कार्यक्रमको मञ्चमा भाषण सुन्ने श्रोताभन्दा बढी अतिथिहरूले आसन ग्रहण गरेको र सबैले करिबकरिब एउटै भाषण दोहोर्याइरहेको पनि पाइन्छ । कहिलेकाहीँ त भाषण गर्नेको भन्दा भाषण सुन्नेको संख्या कम रहेको पनि देखिन्छ ।
हरेक जाति, सम्प्रदाय, धर्म र संस्थाहरूको सम्मान, कदर, पुरस्कार, आदर, सत्कार, आशीर्वाद, माया र सद्भाव पाउन तथा खुसियाली मनाउनका लागि अनेक चाडपर्व, दिवस, मेला, महोत्सव र जात्रा गर्ने तिथिमिति तोकिएकै हुन्छन् । दसैँ, तिहार, उँधौली, उँभौली, क्रिसमस, गाईजात्रा, प्रणय दिवस र जन्म दिन जस्ता अनेक दिनको व्यवस्थाले सुख, दुःख, रमाइलो, प्रेम, सम्मान, शुभकामना र आशीर्वाद जस्ता कुराहरू मानिसले हरेक वर्ष लिने, दिने गरिरहेकै हुन्छन् ।
अमेरिका, क्यानाडा र फ्रान्सलगायतका देशहरूमा पनि ईश्वरलाई र खास योगदान दिनेहरूलाई धन्यवाद र कृतज्ञता व्यक्त गर्न 'थ्याङ्क्स गिभिङ डे' भन्ने पर्व १६ शताब्दी पहिलेदेखि नै प्रचलनमा आएको पाइन्छ । हामीले पनि यस्ता भद्दा तामझाम बन्द गरेर सांस्कृतिक परम्पराअनुसारका दिनहरूमा विषय र सन्दर्भ मिल्ने किसिमका प्रशंसा वा सम्मान दिने काम काम गरे ठिक हुन्छ । नत्र 'बेला न कुबेला बजिनेला' भने जस्तै हुन सक्छ । एउटा कार्यक्रम सही तरिकाले सम्पन्न गर्नु र त्यसको उद्देश्य पनि पूरा गर्नु कार्यक्रमका आयोजकको दायित्व हो ।
तसर्थ कुन काम कहिले, कसरी र कुन रूपरेखामा गर्ने भन्ने कुरामा स्पष्ट हुनुपर्छ तब मात्र कार्यक्रम खास कार्यक्रम जस्तो हुन्छ । नत्र एउटा कार्यक्रम हुने सभाकक्षमा यसको कुप्रभावले ४-५ वटा 'क्षेत्रीय प्रसारण' सुरु हुन्छन् र मूल कार्यक्रम ओझेलमा पर्छन् ।
मेरो विचारमा एउटा कार्यक्रममा सभापति, प्रमुख अतिथि, विशेष अतिथि, मन्तव्यका लागि बोलाइएका खास वक्ता र कार्यक्रम आयोजक संस्थाको सचिव गरेर सीमितलाई मात्र मञ्चको आसनमा राखेर कार्यक्रम गर्दा बढी प्रभावकारी हुन सक्छ । समयको बचत, खर्चको किफायती, कार्यक्रमको आकर्षण र उपलब्धिलाई ध्यान दिने हो भने यसो गर्नु उचित हुन्छ ।
नत्र त 'केटाकेटी आए, गुलेली खेलाए ...' भनेजस्तो मात्र हुन्छ र भइरहेको छ । एउटा टोलदेखि सिंहदरबारसम्म र राजनीतिक पार्टीका वडा कमिटीदेखि केन्द्रीय कमिटीसम्म नै यस्तो भइरहेको छ । यस्तो गलत परम्परा न त्यस पार्टी वा संस्थाका अध्यक्षको आदेशमा भएको हो, न त नीतिगत निर्णयबाट भएको हो । यो कुनै पनि पार्टी र संस्थामा अवाञ्छित तरिकाले घुसेका नवसामन्तवादी सोच राख्नेहरूले जबर्जस्ती घुसाएका हुन् ।
यस्तो गर्नाले सम्बन्धित पार्टी वा संस्थाको उद्देश्य पूरा हुने भन्दा पनि यस्तो गर्नेलाई चिनाउन र उनीहरूको व्यापारिक वा व्यावसायिक उद्देश्य पूरा गर्न मद्दत पुग्छ । पार्टीको नेतृत्वले वा संस्थागत पद्धतिले यस्ता फजुल र अर्थहीन काम गर्नुपर्छ भनेर कहीँ कतै भनेको पाइँदैन तर यही काम सबैभन्दा बढी भइरहेको छ । यसको कारण केवल फजुल प्रशंसा र सम्मान गरेर आफ्नो निहित उद्देश्य पूरा गर्न गराउन रहेको प्रस्ट हुन्छ। अब सबैले त्यस्ता तत्त्वहरूलाई यो मौका दिनुहुँदैन। यो एक्काइसौँ शताब्दीको डिजिटल युग हो तसर्थ बीसौँ शताब्दीकै नक्कल गर्न कुनै जरुरी छैन । पहिलेपहिले यस्तै हुन्थ्यो भनेर 'बिरालो बाँधेर श्राद्ध गर्ने'जस्ता कामहरू बन्द गरौँ ।