लोकसंवाद संवाददाता | खेलकुद | चैत २२, २०७८
नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्मक टी- २० क्रिकेट शृंखलाको फाइनल खेलका क्रममा गेट तोडेर दर्शक प्रवेश गरेको र असम्बन्धित व्यक्ति पुरस्कार वितरण समयमा मैदान प्रवेश गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच ४ ओभरको खेल जारी रहँदा दर्शक गेट तोडेर भित्र प्रवेश गरेका थिए । ‘मैले सुरक्षा निकायसँग बुझ्दा टिकट काट्ने काउन्टर र गेटसँगै परेको रहेछ । हाम्रो पार्टनर (सुन्बी होल्डिङ)ले त्यहाँ सँगै नराख भनेको रहेछ । अलिक तल राख भन्दा त्यहीँ राखेको रहेछ । त्यहीँ प्रेसर पर्याे । त्यो मौका पाउँदा हुल नै भित्र छिर्याे’, क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले भने, 'हामीले यसबारे सुन्बी होल्डिङसँग स्पष्टीकरण साेधेका छाैँ ।'
यसअघि क्यानले प्रतियोगिताको मर्सियल राइट सुन्बी होल्डिङलाई दिएको थियो । सुन्बी होल्डिङले टिकटका लागि आईएमई-पे र सुरक्षाका लागि केटीएमलाई जिम्मा दिएको थियो । खेल सकिएपछिसमेत दर्शक दीर्घाबाट मैदान प्रवेश भएपछि क्यानले सुन्बीलाई स्पष्टीकरण सोधेको हो । क्यानले पुरस्कार वितरणका लागि प्रमुख अतिथिमा अर्थमन्त्री जनार्दन शर्मालाई आमन्त्रण गरेको थियो ।
पुरस्कार वितरण समारोहमा गायिका रचना रिमाल र दर्शक नै मैदान प्रवेश गरी ट्रफीसहित फोटो सामाजिक संजालमा राखिएको भेटेपछि क्यानले स्पष्टीकरण सोधेकाे हो ।
दर्शकदीर्घाबाट खेल हेर्न प्रवेश गरेकी गायिका रचना रिमाल पुरस्कार वितरण समारोहमा भने मैदान प्रवेश गर्दै कप्तान सन्दीप लामिछानेलगायत खेलाडीसँग फोटो खिच्न भ्याएकी थिइन् । उनले आफ्नो सामाजिक संजालमा भिडियो र फोटोसमेत ‘पोस्ट’ गरेकी छन् ।
‘सुरुमा सहयोगी होलान् भन्ने सोच्याैँ । फेसबुकमा पनि ट्रफी समातेर फोटो राखेको देख्यौँ । याे के कारणले भयो ? कसरी भयो ? भनेर हामीले स्पष्टीकरण सोधका छौँ', मल्लले भने ।
मलेसिया, नेपाल र पीएनजी सम्मिलित टी- २० शृंखलाको फाइनल खेलमा पीएनजीलाई ५० रनले हराउँदै नेपालले उपाधि जितेको थियो, जुन सन्दीपको कप्तानीमा नेपालले प्राप्त गरेको पहिलो उपाधि बन्यो ।