जिके पोख्रेल | दृष्टिकोण | चैत २३, २०७८
अन्जान र अल्पज्ञानीहरू इतिहासका पानामा रुमल्लिन्छन् । आफूलाई सर्वज्ञ ठान्छन् र आफ्नो अजासु (अति जान्ने सुन्ने) चेतनाको चक्रव्यूहमा ‘अभिमन्यू’ हुन्छन् । अलिकति ज्ञानगुनका कुरा र अलिकति चेतना निर्माण गरेका योगीहरू निर्धारित समयका लागि ओथारो बस्छन् र सम्भावनाका सहस्र चल्ला कोरल्छन् ।
अब अनकन्टार यात्रा सुरु गरौँ, नेपालमा कम्युनिस्टको सर्वनास हुन्छ भन्ने घनश्याम भुसाल दाइको साँघुरो चेतनाको ‘गन्थने’ गल्छीबाट । हजारौँ शब्दको आलेख, हजारौँको वाहवाही । उफ् ! यति पनि थाह छैन ? आन्दोलनको कहिल्यै पूर्वयोजना र उद्देश्य हुँदैन अनि समयको ‘सर्वनास’ हुँदैन । हामी अप्ठ्यारो समयका साक्षीलाई थाहा छ- हामी समयका सारथि हौँ । यति त थाहा छ- अन्त्यपछिको सुरुआत नै समय हो । समय भनेको हामी हौँ- समय भनेको म हुँ । अहं ब्रह्मास्मि ।
माथि नै भनियो- समयको सर्वनास हुँदैन अनि कम्युनिस्ट भनेको समय हो । कम्युनिस्ट सकिनु त सर्वहाराको पक्षमा निरन्तर प्रवाहित हुने अभियानको नास हुनु बराबर हो- सृष्टि रोकिनु बराबर हो । यस कारण पनि कम्युनिस्टको सर्वनास हुनुहुँदैन/हुँदैन ।
कम्युनिस्ट भनेको परिवर्तनको सूत्र धार हो- नयाँ सोचको सुरुवात । नयाँ सोचमाथि विज्ञान त परास्त छ भने बिचौलियाको ‘धाक धक्कु’ले रोक्न सक्छ र नयाँ सिर्जनाको मुहान ?
१) तपाईंले सर्वनाश भयो भन्दैमा सर्वनास हुने हो र ?
विचार निर्माण गर्न सक्ने म (तपाईं हुनुहुन्थ्यो) मात्र हुँ भन्ने भ्रमबाट मुक्त हुनुहोस् घनश्याम दाइ । मेरो पुस्तामा पनि कम्युनिज्मको साउँ अक्षर चिनेका केटाकेटी छन् ।
अब सुरु गरौँ- ब्रोइलर विद्वान्का सर्वनाश चेतना ।
अब सर्वनास नै हुने हो भन्ने लागेको भन्ने भ्रमबाट पनि मुक्त हुनुहोस् । (डिजास्टरबारे तल विस्तृतमा पढ्नुहोला) हरेक डिजास्टरपछि नयाँ निर्माण हुन्छ । झन् अग्ला संरचना निर्माण हुन्छन्- भौतिक र बौद्धिक दुवै पक्षमा यो नियम लागू हुन्छ । तपाईंको घन्टाउके चेतना (घन्टाउके कमिलाको जस्तो)भन्दा पर पनि सोच्न सक्ने मान्छे हुन्छन् ।
२) ट्याक्टिकल्ली कमजोर कम्युनिस्टभित्र बिचौलिया ‘कमाउनिस्ट’को चलखेल ।
घनश्याम दाइ लेख्नुहुन्छ, ‘पार्टीमा एकसेएक नेताहरू थिए । आफ्नो स्तरको अर्को नेतासँग नतर्सिने, ऊ सँगसँगै काम गर्न सक्ने नैतिक साहस र गरिमा भएको नेतृत्व थियो । गुटहरू थिए तर नेतृत्वले क्रान्ति र पार्टीको भविष्यलाई देखादेखी दाउमा लगाउँदैनथ्यो । आफ्नै गुटको नेतालाई प्रश्न सोध्ने र असहमत हुन सक्ने वातावरण थियो । त्यस्तो मनोवैज्ञानिक स्वतन्त्रता र अधिकारले पार्टी, सिद्धान्त, क्रान्तिको भविष्यप्रति विश्वास र त्यो विश्वासले सिर्जना गरेको एकता थियो ।’
हो, थियो तर कहिलेसम्म थियो भन्ने प्रश्नमा घनश्याम चेतना मौन छ । समय आफू अनुकूल हुन्जेलसम्म राम्रो थियो- समय प्रतिकूल हुनेबित्तिकै सबै सकियो भन्ने मपाईंत्व मात्र हो । आसन्न निर्वाचनमा केही सिटको हार-जीतलाई नै सर्वनास मान्ने हो भनेचाहिँ केही दहसम्म घनश्याम दाइ सही हुनुहुन्छ । घनश्यामहरूको चेतनाले एमालेबाहेक अरूलाई कम्युनिस्ट मान्दैन, फुटपरस्त दक्षिणपन्थी मान्छ ।
अरू कम्युनिस्टलाई सोध्नुहोन्- एमाले त नव सामन्तवादी ‘बा’पन्थी भइसक्यो भन्छन् । अलिक गहन दर्शनको तहबाट इतिहासको पुनर्मूल्यांकन गर्ने हो भने कम्युनिस्ट हामीले बहुलवादी र खुला चरित्रको जबजको व्यावहारिक पाटोलाई छाडेर चुनावमुखी गठजोडमा भासिएकै दिन धुलोपिठो भइसकेका हौँ ।
३) अपमानको आहालमा बोक्रेहरूको फेहरिस्त ।
घनश्याम दाइ लेख्नुहुन्छ- ‘अपमानको आहालमा कम्युनिस्ट ।’ म भन्छु- अपमानको आहालमा तथाकथित बौद्धिक । केशर, भीम, बाबुराम आदि इत्यादि । निष्कर्ष- अति सर्वत्र वर्जयेत् । अजासु भएपछि वयस्कलाई पनि ‘केटाकेटी’ देखिन्छ । भन्न त मन थिएन । हुबहु सारेको र डबलीहरूले पढाकुबाट ज्ञान आफूमा केन्द्रित गर्दै पाठशालाको नाममा कहिले बागबजारमा त कहिले बबरमहलतिर पाकशाला चलाएको ससम्मान विदितै छ । खासमा यही पाकशालामा सिकेको पाककलाको परिपक्व राजनीतिक चिन्तन विकास गरेको भए कम्तीमा मेरो पुस्ताले माथा रगड्नुपर्ने थिएन ।
४) २०४७ सालमा ‘कम्लिस्ट’ हाकाहाकी थिए अहिले ‘कमाउनिस्ट’ च्याम्बर/डबलीमा ।
गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका जानु जस्तै हो’ भन्ने केपी शर्मा ओली अहिले तपाईंले कम्युनिस्ट मानेको एमालेको अध्यक्ष हुनुहुन्छ । तपाईं कम्युनिस्ट आत्माको हरिबिजोग भयो भन्नुहुन्छ ? कहाँ छ तपाईंसँग कम्युनिस्ट आत्मा ? हामी २०६२/०६३ को आन्दोलनपछि जन्मेका नेता हौँ भनेर गुड्डी हाँक्न सक्ने के लछारपाटो लगाउनुभएको छ ? कहिले माधवको त कहिले ओलीको, ताल परे दुवै जनाको अनुहारमा हिलो छ्याप्नुबाहेक तपाईंको पुस्ताले के गरेको छ ?
घनश्याम दाइ लेख्नुहुन्छ- ‘गिरिजाकालमा कम्युनिस्टहरू अपमानित भएका थिए । कांग्रेसीहरूलाई के चिन्ता थियो भने, संसारभरि लखेटिँदै गरेका कम्युनिस्टहरू २०४७ सालको आन्दोलनको नेता हौँ भनेर हाकाहाकी बाटामा हिँड्दै थिए ।’ यसको आशयमा खुलाउन सकस पर्ने कुनै गोलचक्कर छैन । अहिले हामी कम्युनिस्ट पार्टीको २०६२/०६३ को आन्दोलनको नेता हौँ भन्नेर हाकाहाकी हिँड्न सक्ने अवस्था छैन ।
हो, छैन । २०४६ सालको आन्दोलनमा मदनकुमार भण्डारी, माधवकुमार नेपाल, सीपी मैनाली, प्रदीप नेपाल, राधाकृष्ण मैनाली, मनमोहन अधिकारीहरू मैदानमा थिए- भुइँबाट उठेर आउनुभएको थियो । जुझारु र युवा हुनुहुन्थ्यो (मनमोहनबाहेक) । परिवर्तनका लागि जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने अठोट र दृढता थियो । देशको मुहार फेर्ने संकल्प थियो- भिजन र मिसनसहित आन्दोलनमा होमिएनुभएको थियो ।
म भर्खरै किशोरावस्थामा प्रवेश गर्न लागेको बेलामा उनीहरूको शान नै भिन्नै थियो । हामी कम्युनिस्ट हौँ भन्नेहरूका लागि अमरसिंह, भक्ति, बलभद्रका जिउँदा प्रतिमान हुनुहुन्थ्यो । मदन जस्ता पथप्रदर्शक र नीति-निर्माता, माधव जस्ता संगठक र गरिब गुरुवाका अभिभावक, मनमोहन जस्ता तपस्वी र जनप्रिय शालीन व्यक्तित्व उदाएका हुनुहुन्थ्यो अनि किन नहिँडून् खुला सडकमा छाती फुलाउँदै ?
२०६२/०६३ को आन्दोलनमा ‘गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका जानु जस्तै हो’ भन्ने केपी शर्मा ओली अहिले तपाईंले कम्युनिस्ट मानेको एमालेको अध्यक्ष हुनुहुन्छ । तपाईं कम्युनिस्ट आत्माको हरिबिजोग भयो भन्नुहुन्छ ? कहाँ छ तपाईंसँग कम्युनिस्ट आत्मा ? हामी २०६२/०६३ को आन्दोलनपछि जन्मेका नेता हौँ भनेर गुड्डी हाँक्न सक्ने के लछारपाटो लगाउनुभएको छ ? कहिले माधवको त कहिले ओलीको, ताल परे दुवै जनाको अनुहारमा हिलो छ्याप्नुबाहेक तपाईंको पुस्ताले के गरेको छ ?
त्यसैले म दोस्रो पुस्ता (वा धार) भनिने हिजोका १० भाइलाई नहिचकिचाई तरमारा पुस्ता भन्न सक्छु- बिचौलिया भन्न सक्छु- दले दाइ भन्न सक्छु । जता मल्कु, उतै ढल्कु पाराको तपाईंहरूकै चलखेलका कारण आज कम्युनिस्ट आन्दोलन धरासायी बनेको हो ।
आज पनि हामी २०४६ सालको नेताकै वृत्तमा छौँ । अर्को ‘लिडर’ छैन भने पनि हुन्छ । यो विचारशून्यताको निरन्तरता रहिरह्यो भनेचाहिँ उहाँले भनेजस्तै ‘क्राइसिस’ हुन सक्छ । क्राइसिसपछि डिजास्टर अवश्यम्भावी छ । अहिल्यै भइहालेको छैन । अनि, डिजास्टरपछि पुनर्निर्माण हुन्छ । उहाँले भनेजस्तो अहिल्यै छाती फुटाउने, बिलौना गर्ने, रोइकराइ गर्ने र डिप्रेसनको गर्तमा फसिहाल्ने बेला भएको छैन । तर, योचाहिँ पक्का हो कि उहाँको तरमारा पुस्ता र प्रवृत्तिबाट चाहिँ सम्भव छैन ।
२०६२/०६३ को आन्दोलनपछि नआए २०७९/०८० को महापतनपछि आउँछ । भनिन्छ, एक युगमा एक दिन एकचोटि आउँछ । त्यसरी नै एक युगमा एक सपुत कसो नजन्मिएला ? त्यसै पनि २०४६ सालपछि आजसम्म हामीले एउटा मिनीपुस्ता त बिचौलियाको भरमा लतारेकै हौँ । कोही आउँछ- विचार, विधि, संगठन, नीति र नेतृत्वको एजेन्डा लिएर । आखिर यिनै हुन् असल राजनेतामा हुने गुण । कोही त पक्कै होला ‘नघनश्याम !’
५) बिचौलियाको समाधान सूत्र ‘एकता’
विद्रोहीको चेतवनी विचारका ‘दले दाइ ए ‘कता ?’ कहिले माधवतिर कहिले ओलीतिर लपक्क टाँसिनेका लागि हो एकताको रटान । पुनर्निर्माणका लागि जुटेका ‘वारियर’ले डिजास्टरपछिको विकल्प सोच्छन् । चेतनापछिको विकल्प । तर, ठीक यतिखेर घनश्याम प्रवृत्ति कि आफ्नो इस्टदेवको बार्दलीमा फन्का मारिरहेको हुन्छ वा डबलीतिर कचहरी । त्योभन्दा परतिर सोच्ने ठाउँ नै छैन किनकि पहिल्यै आफ्नो मस्तिष्क इष्टदेवको चरणकमलमा रगडिसकेको छ ।
विचार, विमर्श, मन्थन पिट्ने घन हुन नसकेका घन्टाउके कमिलाका सन्तति अर्थात् ब्रोइलर विद्वान् । अर्काको चिन्तन सारुवा ‘विद्वान्’ बिचौलिया अर्थात् घनश्याम‘हरू’ले यतिविघ्न खोक्नु वैचारिक अस्वस्थताको लक्षण हो । ‘क्षय’ (टीबी होइन, क्षति)ग्रस्त चेतनाको खोकी हो कि चेतनाको ट्यु‘मर’ ? यदि आजसम्मको ज्ञान र चेतना आफ्नै बुताको हो भने यसमाथि टिप्पणी गर्नुहुनेछैन घनश्याम दाजीले । अब अर्को एपिसोडमा अर्को घुम्तीमा भेटौँ । आफ्नै समयमा जन्मिएका आफ्नै मान्छे हौँ, पक्कै भेट हुन्छ- मायाले यति सम्झाइयो । बाँकी अर्को भेटमा ।
उहाँ झिनामसिना गन्थनमै सीमित हुनुहुन्छ । उहाँलाई नयाँ युगको नेतृत्व नयाँ विचारले मात्र गर्न सक्छ भन्ने नै छैन । नेताहरूका वैयक्तिक गठजोड र जीवनशैलीकै डाह गरेर समय नष्ट गरिरहनुभएको छ । उहाँले भन्नुभएकोे छ- ‘एजेन्डा, जीवनशैली, पार्टीभित्र र बाहिरका सम्बन्ध, उनीहरूको विचार हेर्दा यो आन्दोलन आधाउधी कांग्रेस जस्तो भइसकेको छ । विभाजन बढाउँदै कार्यकर्तालाई पनि कांग्रेस बनाएपछि यो अझ बढी कांग्रेस बन्दै जान्छ । त्यसपछि फुकुयामाबाट शिक्षित नेपाली उदारवादी बुद्धिजीवीहरूले केही समयसम्म विभिन्न परियोजनाअन्तर्गत ‘इतिहासको अन्त्य र अन्तिम मानिस’ शीर्षकवरिपरि लेख-रचनाहरू लेख्नेछन् ।’
यहाँ इतिहासको अन्त्य गर्ने अन्तिम मानिस नै आफैँ हुँ भन्ने घनचक्करमा घनश्याम दाइ आफैँ जकडिनुभएको छ । के उहाँपछि कम्युनिज्म नै सखाप हुने हो र ? उहाँ मात्र कम्युनिज्म बुझेको अन्तिम युवा हुनुहुन्छ ? लाग्छ- उहाँले भनेको ‘कम्युनिस्टको सर्वनास त एजेन्डा, जीवनशैली, पार्टीभित्र र बाहिरका सम्बन्ध, उनीहरूको विचार आधाउधी कांग्रेस भइसक्यो’सँगै आफैँ दलदलमा हुनुहुन्छ ।
६) पहिले पनि फुटेकै हुन् सिपीहरू । फेरि पनि जुट्छन् ओलीहरू ।
फुटेरै सकिने भए कालीगण्डकीको शालिग्राम शून्यमा बिलाइसकेको हुन्थ्यो । फुट्नु भनेको बढ्नु हो- फैलिनु हो । सकिनु होइन- खँदिलो हुनु हो । फुटेकोमध्ये जुन टुक्रामा शक्ति हुन्छ, त्यो शालिग्राम हुन्छ । जुन टुक्रामा शक्ति हुँदैन, त्यो धुलो भएर उड्छ । अर्को कुरा टुक्रिन/फैलिन सक्ने चेतना परिवर्तनका संवाहक जीवित पदार्थमा हुन्छ- जडमा हुँदैन । हामी जीवित छौँ- हुर्किन्छौँ, बढ्छौँ । जडसूत्रवादी जार्गन ओकल्ने घनश्यामहरू मात्र फुटेपछि बगरमा पछारिनुहुन्छ । उहाँहरूलाई समय बगेर युग बितेको पत्तै हुँदैन- हामी कालीगण्डकीको ढुंगो शालिग्राम भइसकेका छौँ । यसै कारण पनि हामी विचारको यात्राका शालिग्राम हौँ ।
उता, घनश्याम चेतना बतासे डिम्बा कोरलेर फुटेको चिन्तन जोड्ने हल्ला गर्दै चल्ला कोरल्ने ‘कुर्सी’ मन्त्रालयको लिगलिगे दौडमा ‘भ्रान्तिपुर’मा झुल्किनुहुन्छ । यस्तै लिगलिगे बामदेव प्रवृत्ति पनि शक्ति/सत्ताको दौडमा थियो । मिलाउन खोजेजस्तो गर्दै शक्ति आफूमा केन्द्रित गर्न खोज्दा बामदेवको के हालत भयो ? सोच्नुभएको छैन घनश्याम दाइ ? अब रोक्नुहोस् एकताको रटान । जसले नीति, संगठन, विचार र नेतृत्वमा नयाँ समाजको दिशानिर्देश गर्छ- ऊ टिक्छ । बाँकी समयको प्रवाहमा बगरतिर छुट्छन् । यसलाई ‘सर्वनास’ भएको भनिँदैन ।
घनश्याम दाइ लेख्नुहुन्छ- ‘कम्युनिस्ट आन्दोलनमा नेताहरूको स्वार्थ, अहंकार, थिति हराएको, मति हराएको, बिग्रिँदै-भत्किँदै गरेको प्रसंगले पाठकलाई के लाग्न सक्छ भने, यो लेखक स्वयंले निराशाको खेती गर्दै छ । वस्तुतः कुरा त्यसो होइन । यहाँ नेताहरूका कर्मको विवरण मात्र दिन खोजिएको हो ।
यसको सम्भावनाको पक्ष धेरै छ र त्यो अझ सजिलो छ । सुरुमै भनिएझैँ, कम्युनिस्ट पार्टीहरूले अहिलेको निराशा, कुण्ठा, अनिश्चय, आशंकालाई एकै झड्कामा चिर्न सक्छन् । उल्लेखनीय के छ भने, सत्यानाशको बाटो जति गाह्रो, पट्यारलाग्दो र लामो छ, त्योभन्दा सजिलो र छिटो कम्युनिस्ट पार्टीको पुनरुदयको बाटो छ । एकताको पहिलो पाइलामै बामपन्थीहरूको सरकार बन्न सक्छ, स्थानीय तहमा धेरै राम्रो परिणाम आउन सक्छ । अर्को संसदीय निर्वाचनको परिणामलाई पनि करिब करिब सुनिश्चित गर्न सक्छ ।’
पछिल्लो एक दशकको नेपाली कम्युनिस्ट राजनीतिक इतिहास नियाल्ने हो भने घनश्याम दाइ महाधिवेशनमा होस् कि सञ्चार माध्यममा सधैँ केन्द्रमै हुनुहुन्छ । उहाँलाई चासो दिएर नसुन्ने ओलीबाहेक कोही थिएनन् छैनन् पनि । कम्युनिस्ट पार्टीहरूले अहिलेको निराशा, कुण्ठा, अनिश्चय, आशंकालाई एकै झड्कामा चिर्न सक्ने क्षमता आफैँसँग थियो भने ‘जबज’ जत्रै बुकलेट निकालेर बाँड्नबाट कसले रोकेको थियो ? जबजपछिको अग्रगामी चिन्तनसहितको कुनै नयाँ समाजवादी मोडल अगाडि सारेको भए अहिले म र मेरो पुस्ता घनश्यामको पछि हुन्थ्यो ।
कम्युनिस्ट आन्दोलनको सर्वनास पनि हुने थिएन- तपाईं मदन भण्डारीपछिको विचारक मानिनुहुन्थ्यो । खै विचारको खाका ? खै तपाईंको बौद्धिकताले डिजाइन गरेको समाजवादको मोडालिटी ? खै मसँग विकल्प छ भनेर युवापुस्तालाई डिप्रेसनबाट जोगाउने सञ्जीवनी ? कहाँ लुकाउनुभएको छ बिरालालो बिष्टा लुकाए जसरी ? यति गरिदिएको भए पार्टी फुट्यो भन्दै हामीले टाउको फुटाउनुपर्ने थिएन कि !
७) विकल्पहीन ‘बिचौलिया’को अवसानः पार्टीभित्रका आन्तरिक दलाल/नोकरशाही ‘तत्त्व’हरू समाप्त ।
म त भन्छु- विकल्पहीन ‘बिचौलिया’को अवसानपछि नेपाली कम्युनिस्ट पार्टीभित्रका आन्तरिक दलाल/नोकरशाही ‘तत्त्व’हरू समाप्त भइसकेका छन् ।
केशरजंग, मोहनविक्रम, मोहनचन्द्र, मोहन वैद्य, राधाकृष्ण, सीपी, बामदेव आफ्नै चाउरिएको मरिच चेतनाले किनारा लाग्नुभएको हो । अब भीम रावल, बादल, नारायणकाजी र घनश्याम यही बाटोमा हुनुहुन्छ । यति भनिसकेपछि बुझ्नुभयो होला । एन्टिकरेन्ट पपुलिज्मले गन्तव्यमा पुर्याउँदैन भन्ने भाष्य पहिल्यै स्थापित भइसकेको होइन र ?
अब ठ्याक्कै केपी शर्मा ओली ठूलो कम्युनिस्ट डिजास्टरपछिको दोस्रो केशरजंग हुने लाइनमा हुनुहुन्छ । पुष्पलाल-रायमाझी डिजास्टरपछि मदन, माधव, सीपी, झलनाथ, राधाकृष्ण आदि नेताको जन्म र उदय भयो । पछि फेरि यसको लिगेसी पुष्पलालमा गएर हेलियो । डिजास्टरमा मूल कारकहरू तत्कालीन सत्ता लिप्सामा आफू पतन भएको थाहै नपाई नवसामन्तवादको रूप धारण गरिसक्दा रहेछन् । यहाँ ओलीको अहिलेको मोदीपरस्त नक्कली राष्ट्रवाद र अहं ब्रह्मास्मि भन्ने हिन्दू अतिवादलाई नवसामन्तवादको चरम हो भन्न खोजेको हुँ ।
चरममा पुगेपछि निःसन्देह स्खलन हुन्छ । बामदेव, भीम रावल र घनश्याम कमरेडहरू त अहिले ओली एण्ड कम्पनीको पिँजडामा छट्पटाइरहेका घाइते ‘पक्षी’ मात्र हुनुहुन्छ । उहाँहरूको नेपाली राजनीतिको मूल धारसँग कुनै सम्बन्ध र सरोकार छैन । अबका केही वर्षमै नव सामन्तवादको अन्त्य हुन्छ र माथि भनिएका ‘निभ्ने बेलाको दियो’ प्रवृत्तिको स्खलन हुन्छ ।
अनि, सुरु हुन्छ नयाँ समाजवादी क्रान्ति । अनि, आउँछ समाजवाद ।
कलमबाट