लोकसंवाद संवाददाता | समाचार | जेठ ०७, २०७६
काठमाडाैं । नेपालमा बर्डफ्लुबाट एकजनाको मृत्यु भएपछि उनको नजिक गएका एक सय ७२ जनाको नमुना संकलन गरी सरकारले परीक्षणका लागि जापान पठाएको छ । सोमबार जापानको डब्लुएचओ कोलाबोरेटिङ सेन्टर फर इन्फ्लुएन्जा प्रयोगशालामा नमुना पठाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । गत १५ चैतमा काभ्रेका २१ वर्षीय युवकको बर्डफ्लु संक्रमणबाट ज्यान गएको थियो । सोही ल्याबले ती युवकलाई एच फाइभ एन वान भाइरस लागेको प्रमाणित गरेको थियो ।
सरुवारोग विशेषज्ञहरूका अनुसार बर्डफ्लु भाइरस टाढाबाट सर्दैन । एक मिटरको दूरीमा मात्रै यो भाइरस एकबाट अर्कोमा सर्न सक्छ । ‘त्यसैले हामीले संक्रमित मानिसको नजिक आएका एक सय ७२ जनाको नमुना संकलन गरी जापान पठाएका हौँ,’ महाशाखाका एक अधिकारीले भने । महाशाखाका अनुसार एक मिटरको दूरीमा पनि धेरैपटक आवतजावत भएपछि मात्रै यो भाइरस सर्छ । तर, हालसम्म मान्छेबाट मान्छेमा बर्डफ्लु सरेको छैन ।
युवक बिरामी भएपछि उनको सम्पर्कमा आएका व्यक्तिको नमुना संकलन गरिएको छ । जसमा उनको परिवार र आफन्त सातजना छन् भने उनको उपचारमा संलग्न अस्पतालका एक सय ६५ जना छन् । चिकित्सक, नर्स र अन्य कर्मचारीको पनि नमुना संकलन गरिएको महाशाखाले जानकारी दिएको छ । मृतक युवकको काठमाडौंका दुई अस्पतालमा उपचार गरिएको थियो । अस्पताल र मृतकको परिवारको अनुरोधमा उपचार गरिएका अस्पतालको नाम खुलाइएको छैन । नयाँ पत्रिकाले यो समाचार प्रकाशित गरेको छ ।