नवीनचन्द्र घिमिरे | साहित्य | चैत २८, २०७८
पहाडहरू समान उचाइ वा समान आकृतिका भए कदाचित् स्वाभाविक र प्राकृतिक लाग्दैनन् । ठीक त्यसैगरी हातका अथवा गोडाका औँलाहरू पनि समान उचाइ वा समान आकृतिका भए ती पनि स्वाभाविक र प्राकृतिक लाग्दैनन् । यिनको असमानतामा प्राकृतिकता भेटिन्छ, स्वाभाविकता महसुस हुन्छ र शास्वत अनुभूत हुन्छ । पुँजी बजारबाट उत्पादित भौतिक वस्तुका अग्र वा पृष्ठभागमा राखिएका बार कोडहरू, जो वस्तुका मूल्य, गुणस्तर र उत्पादन बोधक सङ्केतहरू हुन्, समान देखिन्छन्, यद्यपि, ती त केवल यान्त्रिक र कृत्रिम हुन्, जसको सुन्दरता समानतामा छ र पहाडको सुन्दरता असमानतामा छ ।
स्वभाव र चरित्रका पक्षले घनेन्द्र ओझा असमान पहाडका पर्याय यात्री हुन् । आवश्यकताअनुसार आरोह र अवरोहको यात्रा गर्ने स्वभाव सम्भवतः सबैमा निहीत गुणहरू हुन् । तर, आफैँ पनि चुनौती स्वीकार गर्ने र अरूहरूलाई पनि चुनौती दिने गरी असमान पहाड अर्थात् विद्रोहको यात्रामा भेटिन्छन्- घनेन्द्र ।
यात्राका क्रममा आधा गुण/आधा अवगुणले युक्त भएझैँ लाग्छ अझै रूखो शब्दमा भनूँ- अराजक र उग्र विद्रोही लाग्छन् घनेन्द्र; तर, ठीक बिसौनीमा पुग्दा यिनका अधिकांश गुणहरूले अल्पगुणहरूलाई चटक्कै बिर्साइदिन्छन्- यथार्थ चित्रका विद्रोही घनेन्द्रसँगको सहयात्रामा ।
कन्दरा पब्लिकेसनले वितरण गरी बजारमा ल्याएको घनेन्द्रको स्वसिर्जना तथा स्वप्रकाशनको 'असमान पहाडहरू'भित्रका २१ वटा कविताहरू काव्य गुण, सिर्जनशीलता र लेख्य शैलीका दृष्टिले आफैँमा असमान छन् तर सशक्तताका पक्षले समान ।
पाँचथरबाट मोरङ झर्दा होस् या मोरङबाट काठमाडौंको यात्रा तय गर्दा होस्, कविले अनेकौँ पटक असमान पहाडहरूको सामना गरेको सहजै महसुस गर्न सकिन्छ, कृतिभित्र ।
'शहर गाउँ जस्तो पटक्कै छैन' शीर्षकको कविता पढ्दा आफैँमा कविता पढिरहेझैँ लाग्दैन, सुन्दर शिल्प बान्कीमा कुनै पहाडी कन्दराका जीवन्त पात्रसँगै भौतिक भलाकुसारी गरिरहेझैँ लाग्छ । कोही यस्तो पाठक नहोस्, जसले यो कविता पढ्दा साक्षात् पात्रहरूसँगै साक्षात् संवाद नगरिरहेको होस् । यस विषयले कविता पस्किरहेको छैन अपितु सुदूरपुर्वेली पहाडको लवज र भाष्य शैलीमा जीवन्त कथा पस्किएको छ । यस कविताले कृतिको सिंगो गुरुत्व धानेको छ अर्थात् मेरो निजी दृष्टिमा यस कविताले बाँकी कविताहरूलाई चुनौती दिएको छ ।
जिजीविषा जगाइदिएका छन् कविले 'हार्नुहुन्न' शीर्षनामको कवितामा, यसैगरी विपद्को कालखण्डमा मानवले भोगेको जीवनशैलीलाई बडो रोमाञ्चक ढंगले सिँगिरिदिएका छन् कविले 'प्रलय' कवितामा । 'धृतराष्ट्रलाई पत्र' नामक कवितामा शीर्षपात्रलाई संबोधन गरिएको कवितामा महाभारतकालीन पात्रहरूका साथमा शास्त्रीय सुगन्ध महसुस हुन्छ ।
यो कविता समग्रमा पहाडको यथार्थ पस्किएको विराट अनुभूति हो र सिंगो पहाडको दुःख बोलेको संवाद हो ।
'म यशोधरा'मार्फत कविले नारी कुण्ठित यौन मनोविज्ञानलाई छताछुल्ल पारेका छन् । यिनी यौनिकतालाई जैविक आवश्यकताको महत्त्वपूर्ण पक्ष हो भन्ने विश्वास गर्छन् र यिनले यसको अपरिहार्यतालाई सांसारिक सुख, श्री ऐश्वर्यभन्दा पनि माथि राखेका छन् । यसैगरी 'चलिरहन्छ जिन्दगी'मा यथार्थ यात्राका अनुभूतिहरूलाई बगाइदिएका छन् । 'न्यायिक अन्याय'का माध्यमबाट न्यायालयको विद्रूप संरचना र विशृङ्खलित न्यायिक निर्णयहरूलाई सोदाहरण नै झापड हानिदिएका छन् कवि घनेन्द्रले, यसै क्रममा कविले मुलुकमा भएका दुःखका 'दृश्यहरू'समेत कवितामार्फत जस्ताको तस्तै उद्घाटन गरिदिएका छन् ।
कविले कोही 'शासक', जो आफूलाई सर्वज्ञ ठान्छ, गुरुब्रह्म मान्छ र सर्वाङ्ग आफैँलाई सम्झन्छ, उसैबाट मुलुककले दुःख पाएको यथार्थलाई लाक्षणिकताका रूपमा समेत दह्रोसँग प्रस्तुत गरेका छन् । कवितासंग्रहले खुसी र आशाको संचारयुक्त सिर्जनाहरू कम दिएको पाइन्छ साथै दुःख र निराशा नै बढी दिएको आभास भइरहन्छ, जुन क्रमको पङ्क्तिमा रहेको अर्को कविता हो- अभागी नेपाली, जसको शीर्ष नामले नै कविताभित्रको समग्र विषयवस्तु नै झल्काइदिएको छ ।
'एउटा मजदुरको बयान'ले वर्गीय उत्पीडनको अनुभूतिलाई प्रतिनिधित्व गरेको छ । कविताका हरफहरूका माध्यमबाट चुनाव अगाडि नेताका विद्रूप आश्वासन र उनीहरूका पश्च व्यवहारलाई सतहीकरण गरिदिएको छ । सौर्यमण्डलका ७ वटा रङहरूको सुन्दर संयोजन भएमा सुन्दर इन्द्रेणी रूप देखापर्छ भने त्यही इन्द्रेणी फाट्यो भने सातै रङहरूको अस्तित्व बिलीन हुन जान्छ भन्ने भाव प्रकट गरिएको छ- 'देश' कवितामा । साथै, जातीय तथा सांस्कृतिक विभाजनका कारण देश कसरी विखण्डित हुन पुग्छ भन्ने विषयलाई पनि यसै कवितामा संबोधन गरिएको छ ।
'फड्के किनाराको साक्षी'मा आगत समयलाई साक्षीका रूपमा नियालेका छन् कविले, साथै वर्तमान युगमा 'आदिम मान्छे'को आदिम परिकल्पना गरेका छन् कविताभित्रका सुन्दर बान्कीहरूमा । सशक्त विद्रोहको अपेक्षा गरिएको 'विद्रोह- २' कविता कमजोर प्रस्तुतिमा अल्झिन पुगेको छ । कविता सञ्चयनको शीर्षनाम यसै कविताबाट साभार गरिएको छ । विद्रोह ज्वाला भएर प्रस्तुत हुनुपर्नेमा विवश भएर अन्त्य भएको छ- ठ्याक्कै १० वर्षे द्वन्द्व जसरी नै ।
'म आउँदै छु' कवितामा भौतिक कवि बोलिरहेका छैनन् अपितु उनको बाल्यकालको पूर्वदीप्ति बोलेको छ । यस कविताले कल्पित प्रेमका निमित्त स्वप्निल आशा जगाइदिएको छ । साथै, 'देशको चिन्ता' कवितालाई कुनै खास विशेष पात्रको पेटसँगको बिम्बात्मक तुलना गरिएको छ । कविताभित्रको पटकथा भयानक कल्पनामा आधारित छ । 'नखुल्नू आएर छेउमा' कवितालाई प्रेमिल शृङ्गारले सिँगारिएको छ साथै कविताभित्र जबर्जस्त प्रेम अपहरण गरिएको छ । फूलमती सन्तवीरका लागि अभिसारिका भएर बसेको प्रसंग मधुर ढंगले बुनिएको कविता 'फूलमतीको रुमाल'भित्र सन्तवीरको प्रेमगाथा पाइन्छ ।
जय, विजय तथा जीवनयात्राका प्रति उत्प्रेरित गराइदिएका छन् अनि जिजीविषा जगाइदिएका छन् कविले 'हार्नुहुन्न' शीर्षनामको कवितामा, यसैगरी विपद्को कालखण्डमा मानवले भोगेको जीवनशैलीलाई बडो रोमाञ्चक ढंगले सिँगिरिदिएका छन् कविले 'प्रलय' कवितामा । 'धृतराष्ट्रलाई पत्र' नामक कवितामा शीर्षपात्रलाई संबोधन गरिएको कवितामा महाभारतकालीन पात्रहरूका साथमा शास्त्रीय सुगन्ध महसुस हुन्छ ।
'हारेको विश्वास' नामक कविता 'प्रलय' शीर्षककै कविताको सिक्वेल कथामा आधारित भएको पाउन सकिन्छ, यद्यपि, कवितामा एक जना बूढी आमाका आशातीत आँखाहरूले छोरा पर्खिरहेका पाइन्छन् भने 'निष्ठुर आशा' कविताले नागरिकका चुँडिएका आशाहरूलाई उधिनिदिएको छ ।
अन्त्यमा, सिंगो कवितासंग्रह पढिसक्दा साँच्चिकै कविता नै पढ्न पाइन्छ अनि कविता नै महसुस गर्न पाइन्छ । अधिकांश कविताहरू सरल छन्, सरस छन् र बोधगम्य छन् । एक-आ-दुई कवितालाई आलोचनाको कसी लगाइए तापनि कवितामा प्रगतिवादको सस्तो र फोस्रो नारा घन्काइएको छैन बरु वर्गीय भोगाइलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ ।
असमान पहाडको यो रोमाञ्चक यात्राबाट जाँदाजाँदै बिसौनीको चौतारीबाट यतिचाहिँ मन खोलेरै भन्न मन लाग्यो ।
शहरमा धेरै थोक छन्
तर, खास थोक छैनन्
शहरमा शरीर छन्- मन छैनन्
शहरमा मस्तिष्क छन्- विवेक छैनन्
शहरमा सम्पन्नता छ- सन्तुष्टि छैन
शहरमा सुविधा छ- सुख र सन्तोष छैन ।
क्याबात् घनेन्द्र तिम्रा कविताहरू !