लिम्पियाधुरा, लिपुलेक, कालापानीमा भारतीय हस्तक्षेप: पार्टीहरूको भूमिका नै शङ्कास्पद

लिम्पियाधुरा, लिपुलेक, कालापानीमा भारतीय हस्तक्षेप: पार्टीहरूको भूमिका नै शङ्कास्पद

ऋतु आशिक  |  दृष्टिकोण  |  चैत २७, २०७८

नौ वर्षीया !
मेरी छोरी कल्पना विश्वको मानचित्रमा
औंल्याउँदै भन्छिन्
'बुबा ! नेपाल कहाँ पर्छ ?'
'छोरी नेपाल यहाँ पर्छ'
छोरी भन्छिन् 'कति सानो देश' 
छोरीलाई भन्छु 
हाम्रो देशभन्दा सानो जो सिक्किम देश थियो
'अहिले भारत भएको छ छोरी' , 
छोरी आश्चर्यका साथ पीर मान्दै भन्छिन् 
'कतै हाम्रो देश पनि त्यस्तै भयो भने ?' 

मातृभूमि साप्ताहिकमा २०३१ मार्ग १८ गते प्रकाशित के भनेर सम्झाउनु मेरी छोरीलाई नामक कवितालाई तत्कालीन काठमाडौँबाट प्रकाशित हुने दैनिक सही आवाजका सम्पादक सूर्य लाल पीडितद्वारा पुरस्कृत गर्नुभएको थियो । 

 मुलुक यसबेला छिमेकी भारतीय सरकारको लिम्पियाधुरा, लिपुलेक, कालापानी माथिको थिचोमिचो असह्य पीडामा प्रताडित भइरहेको अवस्थामा छ । हामी साहित्यकारहरूको पहिलो दायित्व सरकारको यो मौनता सहमति प्रति विरोधका स्वरहरु देशभरि नै घन्काइनु अहिलेको आवश्यकता हो । 

नेपाल राजकीय प्रतिष्ठान यो थिचोमिचो प्रति उसको यो मौन सहमति प्रति मलाई घृणा लागेर आउँछ । देश हामी सबै नेपालीको हो । हामी नेपालीहरु यसबेला विभिन्न पार्टीमा बाँडिएका छौँ । नेपाली काँग्रेस, नेकपा एमाले,  माओवादीमा पनि देउवा गुट, ओली गुट,  प्रचण्ड गुट, माधव गुट तथा तराईका विभिन्न किसिमका झोले गुटहरू यी सबैको उद्देश्य नेपाल देशलाई सिध्याउने किसिमको खेलमा लिप्त भइरहेको पाइएको छ । 

देशप्रति जिम्मेवार रुपमा, देशको स्वाभिमानको पक्षमा महाकाली सन्धि पछि एमसीसीको दौडमा आइपुग्दा सम्म माथि उल्लेखित कुनै पार्टीहरु पनि देशको पक्षमा उभिएको देखिएनन् । 

 माथि उल्लेखित विभिन्न ब्राण्डका पार्टीहरु साम्राज्यवादी भारतीय सरकारद्वारा लिपुलेक, कालापानी, लिम्पियाधुरा माथि खुल्लमखुल्ला रुपमा हाम्रो सार्वभौम मुलुकलाई लुटिरहेको टुलुटुलु हेरि रहेका छन् । हाम्रो भूमिमा युद्धस्तरमा बाटो निर्माण कार्य भइरहेको छ । यो अवस्थामा चुइँक्क सम्म नबोल्नु,  देशभक्त नेपाली जनता कसरी विश्वास गर्नु यी पार्टीहरुलाई, उनीहरु देशप्रति जिम्मेवार छन भनेर ?

पहिलो प्राथमिकता
 यो मुलुक अंशुवर्मा राजाद्वारा शासन गरिएको मुलुक हो । दशौं शताब्दीको वैभव अवस्थामा विश्वमा नेपाल दशौं स्थानमा दरिन्थ्यो । दशौं शताब्दीदेखि नै नेपालले सिक्काको प्रचलन चलाउँदै आएको थियो । त्यसबेलासम्म छिमेकी देश भारतको अस्तित्व  समेत थिएन ।

 मेरो भन्नुको तात्पर्य हामी त्यस विरासतबाट आएका नेपाली हौँ भन्ने कुरालाई भुलिरहेका छौँ  । हाम्रो वैभवताको उचाइ हाम्रो देशभक्तिको गाथा धेरै माथि उचाइमा पुगेको कुरा नकार्न सकिन्न । हाम्रो आँखाको सामुन्नेमा प्राचीन मुलुक सिक्किमलाई भारतीय साम्राज्यवादले आफ्नो २२ औँ राज्यमा समाहित गरेको छ । त्यसबेला देशभक्त नेपालीले विरोध गरेका इतिहासमा दर्ज भएका छन् । 

मुलुकभित्र खोलिएका विभिन्न ब्राण्डका पार्टीहरूमा देशभक्ति भन्दा पनि भारतीय सरकारको जुठो पुरोमा हुर्किएका पार्टीहरु देशलाई दिनदिनै शिथिल र कमजोर बनाउँदै लागि रहेका छन् । हाम्रो जलस्रोतको अपारता हाम्रा वैभवता नेपालमा च्याउ झैँ उम्रिएका विभिन्न पार्टीको साइनबोर्ड थापेर देशलाई चिथोरिरहने र कमजोर बनाइरहने, आदेशका स्वरहरु प्रतिपालनामा तिनीहरुको अग्र सरिता झन्–झन् बढिरहेको छ । 

नेपाल प्रज्ञा प्रतिष्ठान प्रति प्रश्न

मेरो पत्रकारिता जीवन गोरेटो साप्ताहिक राजविराजबाट २०३३ सालदेखि सुरु भएको हो । आदरणीय गङ्गा उप्रेती (हाल प्रज्ञा प्रतिष्ठानका कुलपति) तत्कालीन राजविराज क्याम्पसमा पढाउनु  हुन्थ्यो । उहाँसँगको परिचय त्यसबेलादेखि नै हो । उहाँका शालीनता, उहाँको स्नेह, हामी जस्ता भर्खरै पत्रकारिता र साहित्यप्रति झुकाव भएकाहरुप्रति संरक्षण तथा सिक्न अभिप्रेरित गर्ने व्यक्ति हुनुहुन्थ्यो भन्दा म गर्वानुभूति अनुभव गर्छु ।

मेरो कविता सङ्ग्रह ‘आमालाई’ मा भूमिका लेखेर असीम स्नेह प्रकट गर्नुका साथै मलाई गुण लाउनु भएको छ । मेरो लेखनप्रति दिशानिर्देश गर्नु भएको थियो । मेरो जीवनका ती प्रेरणा प्रद क्षणलाई मैले समेटेको छु । 

मुलुक यसबेला छिमेकी भारत सरकारको हैकमको हेपाहा नीति उच्चतम बिन्दुमा पुगेर नेपाल भूमिहरू लिपुलेक, लिम्पियाधुरा, कालापानी प्रति यो बिशौँ शताब्दीमा पनि दम्भ र दादागिरी,  ठूलो देशको घमन्डमा सानो देशप्रति हैकमी मनोभावना ग्रस्त भएर, युद्धस्तरमा सडक निर्माण गरिरहेको छ ।

यस्तो अवस्थामा प्रज्ञा प्रतिष्ठान जिम्मेवार भएर आज उपस्थित हुनु भएको छ । उहाँहरुको मन किन दुख्दैन ? उहाँहरु भारतीय शासन व्यवस्थाको यो कठोर घृणित व्यवहारप्रति प्रज्ञा प्रतिष्ठानले किन श्वेतपत्र प्रकाशन गर्दैन ? 

 देश प्रतिको  असीम ता  संरक्षण ता यसै आसयका साथ खोलिएको यो संस्था हो । यो संस्था देश प्रतिको अक्षुणतालाई निरन्तरता दिनु यस प्रतिष्ठानका जिम्मेवार व्यक्तिहरुको नैतिक दायत्व र कर्तव्य हो । देशप्रति जिम्मेवार सांस्कृतिक धरोहरप्रति जिम्मेवार, देशको उत्थानको लागि जिम्मेवार हुनुहुन्छ भने त्यो तपाईंहरुको नैतिक दायित्व हो ।

यो तीतो सत्यलाई स्वीकार्नु भयो भने तपाईंहरुको देशप्रति जिम्मेवार बोधको रुपमा अतीतसम्म स्मरण गरौँला । केही समयका लागि पगरी गुथेर साहित्यप्रति पक्षपात तथा त्यसलाई दूषित गर्ने उद्देश्यका साथ आउनुको कुनै औचित्य छैन । 

नेपाल प्रज्ञा प्रतिष्ठानका जिम्मेवार व्यक्तिहरु प्रति मेरो आग्रह छ । प्रज्ञा प्रतिष्ठानले देशभरि नै राष्ट्रियता संरक्षण, लिपुलेक, लिम्पियाधुरा, कालापानी माथि जसरी युद्धस्तरमा भारत सरकारको हेपाहा प्रवृत्ति राख्दै सडक निर्माण गरिरहेको छ । त्यसको विरोधको लागि देशभक्त जनतालाई जागृत गराउनका लागि देश दौडाहा गरोस् ।

यो देशभक्ति भावनालाई प्रवल बनाउनका लागि अहम् भूमिका खेलोस् । हाम्रा भूमि माथि अतिक्रमण भइरहेका छन्, त्यसको प्रतिरोधमा नेपाल प्रज्ञा प्रतिष्ठान सतिसाल झैँ ठिङ्ग उभिन सकोस् । देशप्रति समर्पण तथा देशभक्त प्रवाहित गरोस् मेरो दृष्टिमा यो उसको निर्वाह र दायित्व अहम् सवाल हो । 

विराट साहित्य सङ्गमलाई यसको स्थापनादेखि यहाँसम्म ल्याउनका लागि हामी सबै सहकर्मीले योगदान पुर्‍याएका छौँ । विराट साहित्य सङ्गममा केही धमिराले यसलाई विटुल्याउने भारतीय सरकारको थिचोमिचो विरुद्धको रचनालाई पन्छाएर विराट साहित्य सङ्गम राष्ट्रिय धार, प्रगतिवादीलाई  धूलीसात बनाउने आग्रहहरू देखा परेका छन् । विराट साहित्य सङ्गमको देश प्रतिको निष्ठा तथा प्रगतिवादी साहित्य प्रतिको गोडमेलमा सबै लागि परौँ । 

अन्तमा विराट साहित्य सङ्गमको तर्फबाट मलाई सन्मान गर्ने अध्यक्ष मधु पोखरेलले सङ्केत शब्द पठाउनु भएको छ । यसका लागि उहाँहरु सबैलाई धन्यवाद दिन चाहन्छु । यो सन्मान तब मात्र लिने प्रतिवद्धता दोहोर्‍याउँछु ।

आज सभाहलमा उपस्थित नेपाल राजकीय प्रतिष्ठानबाट आउनु भएका जिम्मेवार व्यक्तित्वहरु सहित 'भारत सरकारद्वारा युद्धस्तरमा लुटिएका भूमिहरू लिम्पियाधुरा, लिपुलेक, कालापानी माथिको हस्तक्षेपको निन्दा तथा भत्र्सना गर्दै सरकारद्वारा युद्धस्तरमा भूमि प्राप्तिको लागि संयुक्त राष्ट्रसंघ गुहार्ने प्रतिवद्धता सङ्कल्प गर्दछौँ' आज यो सभाहलमा गरिन्छ भने यो सन्मान ग्रहण गर्न आफूलाई लायक सम्झने छु ।

अन्तमा हामी सबै नेपालीहरु देशप्रति जिम्मेवार हुनुपर्छ । देशप्रति घात भइरहँदा हाम्रो मौनता देशप्रति गद्दारी गर्नु हो । अर्को अर्थमा नेपाललाई दोस्रो सिक्किम बनाउन साम्राज्यवादी भारत सरकारलाई उत्प्रेरित गर्नु हो । 

इटहरी