लोकसंवाद संवाददाता | समाचार | चैत २७, २०७८
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचनका लागि घोषणा पत्रको मस्यौदा पारित गरेको छ । पार्टीको शनिवार र आइतवार बसेको केन्द्रीय सचिवालयको २० औं बैठकले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जारी गर्ने घोषणापत्रको मस्यौदालाई सुझावसहित पारित गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नथ खतिवडाले जानकारी दिनुभयो ।
त्यस्तै, बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक हजार एक सय ११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । समितिमा केन्द्रीय कमिटीका सबै सदस्य, तीनै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र जेष्ठ कम्युनिस्ट मञ्चका सबै पदाधिकारी र सदस्यहरु, केन्द्रीय परिषद्का सदस्यहरु, प्रदेशका पदाधिकारीहरु, जिल्ला कमिटीका अध्यक्षहरु, जन संगठनका केन्द्रीय पदाधिकारीहरूसमेत रहेका छन् ।
बैठकले महासचिव भुसालको संयोजकत्वमा निर्वाचन परिचालन केन्द्रीय सचिवालयसमेत गठन गरेको छ । सचिवालयमा प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसदा पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य रहनु भएको छ ।
एकीकृत समाजवादीले वैशाख ८ गतेभित्र स्थानीय तहका उम्मेदवारहरुको नामावली टुंगो लगाउने भएको छ ।
आईतबार सम्पन्न समाजवादीको सचिवालय बैठकले उम्मेदवारको सम्बन्धमा टुंगो लगाउन समय तालिका निर्धारण गरेको हो ।
जसअनुसार वडा कमिटीले यही चैत्र ३० गतेभित्र सिफारिस गरिसक्नुपर्ने छ भने पालिका कमिटीले आगामी वैशाख २ गतेभित्र निर्णय र सिफारिस गरिसक्ने, जिल्ला कमिटीले वैशाख ४ गतेभित्र निर्णय र सिफारिस गरिसक्नुपर्नेछ ।
यस्तै प्रदेश कमिटीले वैशाख ६ गतेभित्र निर्णय र सिफारिस गरिसक्ने तथा केन्द्रीय कमिटीले वैशाख ८ गतेभित्र निर्णय गरिसक्ने महासचिव बेदुराम भुसालले आईतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकले उम्मेदवारको सम्बन्धमा ८ मापदण्ड निर्धारण समेत गरेको छ । जसमा पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, पार्टीमा योगदान गरेको र विद्रोहमा भूमिका खेलेको, पार्टीप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको, जनतामा स्थापित एवं लोकप्रिय, स्वच्छ छवि भएको र सुशासनको पक्षपाती, कार्यक्षमता राम्रो भएको हुनुपर्नेछ । यस्तै समावेशीतालाई ध्यान दिने पनि भुसालको विज्ञप्तिमा उल्लेख छ ।