लोकसंवाद संवाददाता | समाचार | जेठ ०७, २०७६
काठमाडाैं । नेपाल टेलिकमसँगको सम्झौताअनुसार काम अगाडि बढेको भए मध्यपहाडी लोकमार्गको पूर्वी खण्डमा असोज ०७५ मै सूचना महामार्ग तयार भइसक्ने थियो । तर, परियोजना सम्पन्न भइसक्नुपर्ने मितिभन्दा आठ महिना ढिलो गरी प्रधानमन्त्रीले तामझामका साथ महामार्गको शिलान्यास गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले धादिङको गल्छीमा सोमबार सूचना महामार्ग निर्माणकार्यको शिलान्यास गरेका हुन् ।
नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गतको ग्रामीण दूरसञ्चार विकास कोषको रकमबाट मध्यपहाडी राजमार्ग हुँदै नेपालको पूर्व–पश्चिम जोड्ने अप्टिकल फाइबर बिछ्याउने परियोजनालाई सूचना महामार्ग भनिएको छ । सूचना तथा सञ्चार मन्त्रालयले २९ पुस ०७२ मै नेपाल टेलिकमलाई सोअन्तर्गतको पाँचथरको चियोभञ्ज्याङदेखि गोरखाको आरुघाटसम्म अप्टिकल फाइबर
बिछ्याउने परियोजना निर्माणको जिम्मा दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा १२ असोज ०७३ मा प्राधिकरण र टेलिकमबीच चार अर्ब ८८ करोड रुपैयाँमा परियोजना सम्झौता भएको थियो । सो परियोजना सम्पन्न गर्ने अवधि दुई वर्ष तोकिएको थियो । सम्झौतापत्रमा हस्ताक्षरलगत्तै टेलिकमकी तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले विशेषज्ञ टिम तयार गरी विशेष प्राथमिकताका साथ निर्धारित समयअगावै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । प्रधानमन्त्री ओलीले सोमबार सोही परियोजना शिलान्यास गरेका हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।