लोकसंवाद संवाददाता | समाचार | चैत २८, २०७८
काठमाडौँ । नेपाली कांग्रेसका कारण पाँच दलीय गठबन्धनलाई स्थानीय निर्वाचनमा तालमेलको ‘मोडालिटी’ तयार गर्न सकस परेको छ । प्रमुख विपक्षी दल नेकपा एमाले भने धमाधम उम्मेदवार सिफारिस भएको प्रचार गरिरहेको छ ।
एमाले विरुद्ध नै खडा भएको गठबन्धनले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको दुई साता हुन लाग्दासम्म कहीँ पनि साझा उम्मेदवार तयार भने गर्न सकेको छैन । उम्मेदवार मात्र होइन ‘मोडालिटी’ समेत तय गर्न सकिरहेको छैन । समितिमा रहेका एक सदस्यले बताएअनुसार मोडालिटी तयार गर्न नसक्नुको कारण कांग्रेसको अडान नै जिम्मेवार रहेको छ । हालसम्म ६ मध्ये एउटा पनि महानगरपालिका छाड्ने पक्षमा समितिमा आबद्ध कांग्रेस नेताहरू तयार हालसम्म हुन सकिरहेको छैन ।
गठबन्धनमा रहेको एउटा दल नेकपा (माओवादी केन्द्र)ले जितेको महानगरपालिका भरतपुर र हालको जनता समाजवादी पार्टीले जितेको पर्साको वीरगंज महानगरपालिका पनि कांग्रेसले नछाड्ने भन्दै आएको ती नेताले बताएका छन् । ‘भएका सबै महानगरपालिका कांग्रेसले लिने भन्दैछ । कुनै पनि महानगरपालिका छाड्ने पक्षमा हालसम्म देखिएन’, ती नेता भन्छन् ।
गठबन्धनका दलहरूले तालमेलको विषय टुंग्याउन गठन गरेको समितिको संयोजक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल छन् । उनीसहित प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा र संस्थापनइतर पक्षका नेता डा. शेखर कोइरालालाई भरतपुर छाड्न नहुने भन्दै दबाब दिएर चितवनका कांग्रेस नेताहरू जिल्ला फर्किएका छन् ।
पाँच दलीय गठबन्धनको प्रमुख प्रतिस्पर्धी दल नेकपा एमालेले भने संघीय राजधानी भएको काठमाडौं र गण्डकी प्रदेशको राजधानी पोखरा महानगरपालिकामा जितेको हो । तर, गठबन्धनमा रहेर पनि कांग्रेसले सबै महानगरपालिका बाँडफाँट गर्न नचाहेको समितिमा रहेका अर्का नेताले बताए ।
चितवनबाट कांग्रेस केन्द्रीय सदस्य भएका दिनेश कोइरालाले भनेका छन् ‘ठूलो दल र आलोपालो अनुसार कांग्रेसले यसपटक भरतपुर महानगरपालिका पाउनुपर्छ । सानो दललाई दिने भन्ने हुँदैन ।’
कांग्रेस महानगर नै बाँडफाँट नगर्ने पक्षमा देखिएको छ । आइतबारको समिति बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले भने कांग्रेस बाहेकका नेताहरूले महानगरपालिका तीनवटा कांग्रेसले र बाँकी ३ वटा अन्य दलले पाउनुपर्ने प्रस्ताव गरेका थिए । तर, कांग्रेस नेताहरूले स्वीकारेनन् । उल्टै महामन्त्री गगनकुमार थापाले केन्द्रले टुङ्ग्याउँदा तल समस्या आउने बताएको पुरीले भने ।
तालमेलको विषय टुंग्याउन समिति गठन भए पनि समितिबाट ठोस प्रगति हुन सकेको छैन । २०७४ मा भएको स्थानीय निर्वाचनमा देशको ६ महानगरपालिका मध्ये कांग्रेसले प्रदेश १ को राजधानी भएको विराटनगर महानगरपालिका र बागमती प्रदेशको ललितपुर महानगरपालिका मात्र जितेको थियो ।
माओवादी केन्द्रले बागमती प्रदेशमै भएको भरतपुर र हालको जनता समाजवादी पार्टी (जसपा )ले मधेस प्रदेशको वीरगंज महानगरपालिका जितेको थियो ।
पाँच दलीय गठबन्धनको प्रमुख प्रतिस्पर्धी दल नेकपा एमालेले भने संघीय राजधानी भएको काठमाडौं र गण्डकी प्रदेशको राजधानी पोखरा महानगरपालिकामा जितेको हो । तर, गठबन्धनमा रहेर पनि कांग्रेसले सबै महानगरपालिका बाँडफाँट गर्न नचाहेको समितिमा रहेका अर्का नेताले बताए ।
उनका अनुसार कांग्रेस नेताहरू महानगरपालिका बाँडफाँट गर्न तयार नभएपछि माओवादी नेता देव गुरुङले गठबन्धनमै रहे पनि त्यहाँ रहेका अन्य दलले कांग्रेससँग प्रतिस्पर्धा गर्न पाउने कि नपाउने पनि भनेका थिए । एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले पोखरा महानगरपालिकासहित एमालेले जितेको स्थानीय तहमा आधा आफ्नो पार्टीले पाउनु पर्ने अडान दोहोर्याएका थिए ।
समितिलाई जिल्ला र प्रदेशको प्रतिवेदनसँगै सुझावका आधारमा तालमेलको ‘मोडालिटी’ बनाउने कार्याधिकारी छ । अझैसम्म सबै जिल्ला र प्रदेशबाट प्रतिवेदन समितिमा आइपुगेको छैन । त्यही भएर समितिको आइतबारको बैठकले बुधबार सम्मलाई प्रतिवेदन पठाउने म्याद थप गरेकोे छ । तर, प्रतिवेदन आएको ठाउँमा पनि समितिले तालमेलबारे ठोस निर्णय गर्न सकेको छैन ।
जबकि, मनोनयन दर्ता ११ र १२ वैशाखमा हुनेछ । मतदान भने ३० वैशाखमा हुने निर्वाचन कार्यतालिका छ ।
समय घर्किँदै जाँदा गठबन्धनलाई तालमेलमै अल्मलिएको छ । एमालेले भने ६ महानगरमध्ये विराटनगर, ललितपुर र भरतपुर महानगरपालिकाको प्रमुखको नाम सिफारिस गरिसकेको छ । अन्यमा भने टुंगो लाग्न बाँकी रहेको छ ।