एकीकृत समाजवादी: रामेछापका ६४ मध्ये ४७ वडा र ८ मध्ये  ५ पालिकामा कमिटी

एकीकृत समाजवादी: रामेछापका ६४ मध्ये ४७ वडा र ८ मध्ये  ५ पालिकामा कमिटी

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत २८, २०७८

रामेछाप । वागमती प्रदेशका मुख्यमन्त्री एवं नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पाण्डेले  केपी ओलीको चरम व्यक्तिवादी प्रवृत्ति हाबी भएको र सच्चिनु कुनै लक्षण नदेखिए पछि आफूहरुले बाध्य भएर एमालेबाट बिद्रोह गरेर नयाँ कम्युनिष्ट पार्टी एकीकृत समाजवादी गठन गरेको बताउनु भयो ।

आइतबार रामेछापको खाँडादेवी गाउँपालिकामा  बृहत कार्यकर्ता भेला तथा पालिका कमिटी  गठन कार्यक्रमलाई सम्बोधन गर्दै   मुख्यमन्त्री एवं प्रमुख अतिथि पाण्डेले   एमालेमा कुनै विचार तथा देश बनाउने भिजन नभएको र कार्यकर्तालाई एमाले र सूर्य भन्दा अरु नसिकाएको र एमाले पार्टी विचार र सिद्धान्त बिहीन भएको कुरा बताउनु भयो ।  कार्यकर्ताले एमाले पार्टी विचार, सिद्धान्त तथा दर्शन बिहीन भएको बुझ्न थाले पछि एमाले पार्टी छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुको संख्या दिनानुदिन बढेको बताउनु भयो । 

कार्यक्रममा पार्टीका रामेछाप जिल्ला इन्चार्ज देवशंकर पौडेल , सह इन्चार्जहरू होम बुढाथोकी, शान्ता सापकोटा , झम्क कँडेल तथा पार्टीका जिल्ला सचिव लालसिह घिसिङ लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरुले प्रस्तुति दिएर भरपुर मनोरञ्जन दिनु भएको थियो भने बिच बिचमा स्थानीयले सास्कृतिक झाँकि प्रदर्शन गरेका थिए ।

आसन्न स्थानीय तहको निर्वाचनको  तयारीलाई तीब्र पारेको एकीकृत समाजवादीले रामेछाप जिल्लामा ६४ मध्ये ४७ वडा र ८ मध्ये  ५ पालिकामा पार्टीको  कमिटी गठन गरि सकेको छ ।

भेलाले नेकपा एकीकृत समाजवादी खाँडादेवी गाउँपालिकामा  स्वरुप सिंह तामाङ मोक्तानको अध्यक्षतामा ६७ सदस्यीय पार्टी कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा टलक बहादुर तामाङ चयन हुनु भएको छ भने सचिवमा तिर्थलाल श्रेष्ठ चयन हुनु भएको छ ।