परिवार दल र राप्रपासँग गठबन्धन: किलोका ढकसँग लड्न क्विन्टलको एमाले एक एक लाल जोड्दै !

लोकसंवाद टिप्पणी

परिवार दल र राप्रपासँग गठबन्धन: किलोका ढकसँग लड्न क्विन्टलको एमाले एक एक लाल जोड्दै !

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ०१, २०७९

१६ चैतमा भक्तपुरमा विवादित व्यक्ति दुर्गा प्रसाईको कृषि तथा थोक बजार प्रा.लिको उद्घाटन गर्दैै एमालेलाई एक क्विन्टलको ढक र सत्ता गठबन्धनमा रहेका अन्य दलहरुलाई एक एक किलोका ढकसँग तुलना गरे । 

‘यदी एउटा तराजुमा एक–एक केजीको पाँच वटा ढक एकातिर राख्नुभयो । अनि क्विन्टलको ढक एकातिर राख्नुभयो भने के हुन्छ ? नेकपा एमाले क्विन्टलको ढक जस्तो हो ।

गठबन्धन भनेको एक–एक किलोका ढक हुन् । त्यो पाँच वटा गठबन्धनले के गर्छ ?’, ओलीले भनेका थिए, ‘गठबन्धन सक्छन् भने गरुन् । लोभी पापी हरुको गठबन्धन कति गाह्रो होला । गठबन्धनमा झगडा हुन्छ,  कुरा मिल्दैन भनेर निर्वाचन आयोगले पनि दुई दिनको समय छुट्याएको छ ।’

दलहरु एक्लाएक्लै निर्वाचन लड्दा पनि एमालेको प्रतिस्पर्धी शक्ति हो कांग्रेस । २०७० को संविधानसभाको दोस्रो निर्वाचनमा सबैभन्दा ठूलो दल भएको कांग्रेसलाई ओलीले १ किलोको ढक र आफू नेतृत्वको एमालेलाई क्विन्टलको ढकसँग तुलना गर्न भ्याए । 

२०७४ को निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर सबैभन्दा ठूलो दल भए पनि ओली ५ वर्ष सरकार सञ्चालन गर्न असफल भए । उनले सत्तामा रहेर गरेका एकलौटी निर्णय र पार्टी भित्रै का अन्य नेताहरुसँग गरेका शत्रुता पूर्ण व्यवहारका कारण ओली सरकार मात्रै ढलेन, एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा विभाजित भयो भने एमाले पनि विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनि सकेको छ । 

एमालेप्रति पछिल्ला दिनमा जानेर नजानेर आकर्षण बढेको छ । त्यो एमाले सच्चा गणतन्त्रवादी, विकासप्रेमी भएर भन्दा पनि विभिन्न स्वार्थ समूह एकाकार भएका छन् । माओवादीको एउटा चोइटो एमालेमा नै बसेको छ । जसलाई लिएर एमालेले विभाजन भएपनि सोही बराबरका माओवादी आफूहरुसँग रहेकाले विभाजनको असर नरहेको बताउँदै आएको छ । 

यस आधारमा हेर्ने हो भने अबको स्थानीय तह र आगामी संसदीय निर्वाचन दलहरुको शक्ति परीक्षणको एउटा माध्यम बन्ने निश्चित छ । यस्तो अवस्थामा दलहरु आफ्नो शक्ति पूर्ण रुपमा प्रयोग गर्न खोजिरहेका छन् । 

सत्ता गठबन्धन एकातिर र एमाले अर्कोतिर हुँदा एमालेका लागि अबको निर्वाचन फलामको च्युरा सावित हुने निश्चित छ । त्यही भएर आफूलाई क्विन्टलको ढक भन्ने एमाले एक एक किलोका पाँच वटा ढकसँग लड्न एक एक लालका कमल थापाको राप्रपा नेपाल र परिवार दलसँग चुनावी गठबन्धनको सहमति गरेको छ ।

देशका ठूला राजनीतिक दलहरु एमाले विरुद्ध मोर्चाबन्दीमा लागेपछि एमालेले आगामी निर्वाचनमा हुनसक्ने हार कम गर्न वाक्युद्धदेखि साना साना दलसँग गठबन्धन गर्न खोजिरहेको छ । सुदूर पश्चिममा विप्लव नेतृत्वको नेकपासँग तालमेलको कोसिसमा रहेको एमालेले अन्य क्षेत्रमा साना साना टुक्रा बटुल्न थालेको छ । यसबाट आफूलाई क्विन्टलको ढकसँग तुलना गर्ने एमाले एक एक किलोका ढकसँग कति तर्सिएको रहेछ भन्ने पुष्टि हुन्छ । 

विचार र बैसाखी

सत्ता गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेल हुने भएपछि एमालेका शीर्ष तहदेखि तल्लो तहसम्मका कार्यकर्ताले विचार नमिल्ने बीचको एकता र अर्काको चुनाव चिन्हमा भोट हाल्ने कुराप्रति व्यंग्य गर्दै आएका थिए । उनीहरुले कम्युनिस्टले रुखमा र कांग्रेसले गोलाकार हँसिया हथौडा र कलममा भोट हाल्नुपर्ने भन्दै व्यंग्य गरेका थिए । कम्युनिस्ट र कांग्रेसको विचार नमिल्ने भन्दै गरेको व्यंग्य अब एमालेतिर सोझिएको छ ।

एमालेले परिवार दल र राप्रपा नेपालसँग गठबन्धन गरेर विचार नमिल्ने मात्रै होइन आफूलाई खुंखार गणतन्त्रवादी ठान्ने एमालेले हिजोसम्म राजाको वकालत गरिरहेका कमल थापासँग गठबन्धन गरेको छ । अब उसले पनि गणतन्त्रका नाममा राप्रपा नेपाललाई भोट माग्नुपर्ने बाध्यता आइलागेको छ । 

उता ७ फागुनमा राप्रपा नेपाल घोषणा गर्दै कमल थापाले आगामी स्थानीय निर्वाचनमा खुट्टा टेक्ने र संसदीय निर्वाचनमा पुगेर छलाङ मार्ने दाबी गरेका थिए । तर उनी त्यसको दुई महिना नपुग्दै एमालेको बैसाखी खोज्न पुगेका छन् । यसबाट पनि नेपाली राजनीतिक दलहरु कुन धरातलमा बन्छन् र सत्ता, पद र कुर्सीका लिग कसरी एक अर्कामा टाँसिन पुग्छन् भन्ने प्रष्ट देखिएको छ । 

एमालेको दम्भ र अपरिपक्व राजनीति 

एमालेप्रति पछिल्ला दिनमा जानेर नजानेर आकर्षण बढेको छ । त्यो एमाले सच्चा गणतन्त्रवादी, विकासप्रेमी भएर भन्दा पनि विभिन्न स्वार्थ समूह एकाकार भएका छन् । माओवादीको एउटा चोइटो एमालेमा नै बसेको छ । जसलाई लिएर एमालेले विभाजन भएपनि सोही बराबरका माओवादी आफूहरुसँग रहेकाले विभाजनको असर नरहेको बताउँदै आएको छ । 

राजनीति विचार मिल्नेसँगै हुन्छ र हुनुपर्छ । पछिल्ला चार वर्षलाई हेर्ने हो भने एमालेभित्र २०७४ को निर्वाचन जितेपछि सुरु भएको दम्भ अनुमान गरेभन्दा बढी छ । यतिसम्म दम्भ एमाले नेताहरुमा देखियो कि हिजो जसका कारण चुनावी राजनीतिमा अगाडि भए, त्यसलाई समेत उनीहरुले केही होइन र आफ्नै एकल शक्तिले चुनाव जितेको दम्भ देखाए । त्यसमाथि पनि पार्टीमा तत्कालीन माधवकुमार नेपाल समूहमाथि एमालेले जुन अत्याचारी व्यवहार देखायो, त्यसबाट नै एमाले कति अपरिपक्व राजनीति गर्छ भन्ने प्रष्ट हुन्छ ।

पार्टीलाई लामो समय नेतृत्व गरेका माधवकुमार नेपाल र झलनाथ खनाल आफूले जीवन बिताएको पार्टी छाडेर जीवनको उत्तरार्धतिर अर्को पार्टी खोल्न लाग्नुपर्ने अवस्था सिर्जना गरियो । जसबाट एमालेको राजनीतिमा पछि ठूलो क्षति पुगेको छ । अहिले एमाले हिजोका गल्तीमा पश्चाताप गर्न सक्ने अवस्थामा पनि छैन । त्यसैले आफूलाई क्विन्टलको ढक भन्दै किलोका ढकसँग लड्न एक एक लाल जोडेर हिँड्नुपर्ने बाध्यता आइलागेको छ । आगामी निर्वाचनमा त्यही क्विन्टलको ढक किलोका ढकसँग पराजित भएमा अनौठो हुनेछैन ।