लोकसंवाद संवाददाता | समाचार | जेठ ०७, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौँ उपत्यकाका सबै शहरी स्थानमा सिसिटिभी जडान गरिने भएको छ । उपत्यकामा हाल सञ्चालनमा रहेका ५ सय ६९ सिसिटिभीबाहेक काठमाडौं महानगरपालिकाभित्र मात्रै थप १ सय ६१ वटा जडान गर्न लागिएको हो ।
अबको दुई महिनाभित्र काठमाडौैका सबै चोकमा सिसिटिभी जडान गर्ने योजना छ । महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता एसपी होबिन्द्र बोगटीले ती सिसिटिभी जडान भएपछि उपत्यकाको सुरक्षा व्यवस्था निगरानी गर्न सहज हुने बताउनुभयो ।
५ करोड ८१ लाख रुपियाँमा टेन्डर स्वीकृत भइसकेको जानकारी दिँदै कामपा प्रहरी प्रमुख डिएस्पी धनपति सापकोटाले महानगरपालिकाले छनोट गरेका ४२ बाहेकका अन्य स्थानमा प्रहरीले सिसिटिभी जडान गर्न लागेको बताउनुभयो । उहाँले थप्नुभयो– ‘करिब ३ महिना लामो अध्ययनपछि महानगर क्षेत्रमा सिसिटिभी जडान गर्ने स्थान पहिचान गरेका हौँ ।’ आजको नेपाल समाचारपत्र दैनिकले यो समाचार प्रकाशित गरेको छ ।