लोकसंवाद संवाददाता | समाचार | बैशाख ०२, २०७९
स्थानीय तह निर्वाचन नजिकिदैं जाँदा दलहरु उम्मेदवार चयन र गठबन्धन निर्माणको ध्याउन्नमा छन् । सत्तारुढ गठबन्धन फुटाउने प्रयास सफल नभएपछि एमाले साना साना पार्टीसँग चुनावी तालमेल गर्न कोशिस गरिरहेको छ ।
सत्ता गठबन्धनका दलहरु भने स्थानीय तहमा गठबन्धनको मोडालिटीमा नै अल्झिएका छन् । त्यसमाथि पनि कांग्रेसभित्र गठबन्धनको विरोधमा चर्को स्वर कायमै छ । केन्द्रले गठबन्धन गर्ने भने पनि स्थानीय तहमा अझै पनि कांग्रेस कार्यकर्ताहरु गठबन्धन नगरी चुनाव लड्ने मनस्थितिमा छन् । जसले गर्दा गठबन्धनभित्रका दलमा इमान्दार तालमेलमाथि अझै प्रश्न उठिरहेको छ ।
एमालेलाई सूर्य चिन्हको प्रश्न
प्रमुख विपक्षी दल एमाले साना दलहरुलाई सूर्य चिन्ह दिएर निर्वाचन लडाउने गरी तालमेलमा जुटेको छ । यही विषयलाई लिएर एमालेभित्र र बाहिर समेत सूर्य चिन्ह बिक्री गर्न थालेको भन्दै प्रश्न समेत उठाइएको छ ।
एमालेले बुधबार राप्रपा नेपाल र परिवार दलसँग चुनावी तालमेलको घोषणा गरेको थियो । गठबन्धनसँग लड्न एक्लै काफी रहेको बताउँदै आएको एमाले पछिल्लो समयमा पूर्व राजावादी कमल थापा र दुई वर्षअघि ‘होली वाइन सम्मेलन’ गराएर विवादमा आएका एकनाथ ढकालसँग गठबन्धन बनाउन लागेपछि त्यसले तरंग ल्याएको छ ।
निर्वाचन आयोगले भने सूर्य चिह्नबाट लडेका व्यक्तिलाई सोही दलको प्रतिनिधिका रुपमा चिन्ने आयोग बताउँछ । निर्वाचनमा सूर्य चिह्नबाट उठेर जितेमा त्यसले एमालेको प्रतिनिधिको रुपमा कानुनी हैसियत पाउँछ भने राप्रपा नेपाल र परिवार दलको रुपमा पहिचान हुँदैन ।
गठबन्धन विरुद्ध एक्लै चुनाव लड्ने ओलीको बोली र व्यवहारमा भएको अन्तर समेत यसले देखाउँछ । उनी अझै पनि विप्लव नेतृत्वको नेकपाका उम्मेदवारलाई समेत सूर्य चिह्नबाट चुनाव लड्न आग्रह गरिरहेका छन् । सूर्य चिह्न नै दिएर चुनाव लड्न दिने ओलीको कदमप्रति भने एमालेकै नेताहरुले सूर्य चिन्ह बिक्री गरेको वा भाडामा दिएको भनेर व्यंग्य गर्न थालेका छन् ।
अर्कातिर ओलीले जसरी एमालेलाई क्विन्टलको ढक र अन्य दललाई एक एक किलाका ढकका रुपमा तुलना गरेका थिए, एमालेको अवस्था त्यही भइदिएको भए अहिले गठबन्धनका लागि जनमत नै नभएका साना साना पार्टी खोज्दै हिड्नु पर्ने थिएन भन्ने चर्चा गर्न थालिएको छ । यसबाट ओलीले जति चर्को भाषण गरे पनि उनी गठबन्धनबाट डराएको प्रष्ट देखिन थालेको छ ।
ओलीले आफू जनादेशबाट आएको र आफ्नो विरुद्धमा गठबन्धन गर्नेहरु सबै परमादेशबाट आएको तर्क गर्दै अहिलेको सत्ता गठबन्धनलाई उनले अप्राकृतिक भन्ने आरोप लगाउँदै आएका छन् । तर उनी आफैंले विचार, राजनीतिक दर्शन नै नमिल्ने राजावादी र होली वाइन विवादितसँग झनै अप्राकृतिक गठबन्धन गरेका छन् ।
दलीय व्यवस्थामा विचार, सिद्धान्त र नीति मिल्नेहरूबीच तालमेल हुनु सामान्य हो । तर यसपटक जसरी गठबन्धन बनिरहेको छ यसले त्यसको झल्को दिँदैन । यसअघि २०७४ को निर्वाचनमा पनि तत्कालीन महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीबाट अलग भएका हृदयेश त्रिपाठीले सूर्य चिन्हबाट चुनाव लडेर जितेका थिए ।
लुम्बिनी प्रदेशमा पनि त्रिपाठीका दुई सांसद थिए । गत वर्ष लुम्बिनी सरकार फेरबदलका बेला यी सांसदको विषयलाई लिएर ठूलो रस्साकस्सी भएको थियो । एमालेले सूर्य चिन्हबाट लडेको भन्दै कारबाही समेत गर्न खोजेको थियो । तर सूर्य चिन्हबाट लडे पनि स्वतन्त्र सांसद भन्दै उनीहरुमाथि कारबाही भएन ।
यसपटक पनि चुनाव सूर्य चिन्हबाट लडे पनि चुनावपछि उनीहरुको हैसियत राप्रपा नेपाल र परिवार दलकै रुपमा हुने देखिन्छ । यही विषयलाई लिएर कतिपय नेताहरुले सूर्य चिन्ह भाडामा लगाएको प्रतिक्रिया दिइरहेका छन् । एमाले तथा राप्रपा र परिवार दलबीच सूर्य चिन्हमा तालमेल गर्ने निर्णय भएको भोलिपल्ट एमाले नेता भीम रावलले राप्रपा र परिवार दलका उम्मेदवारले सूर्य चिह्नमा चुनाव लड्ने तर एमाले हुनु नपर्ने भन्दै प्रश्न उठाएका छन् ।
‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिह्नमा लड्ने तर एमाले हुनु नपर्ने रे ! के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ?’, उनको प्रश्न । रावलको प्रश्न छ, ‘यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिस्ट पार्टीको फजिती मात्र !’
प्रतिनिधि विवाद
सूर्य चिह्न निर्वाचन आयोगले एमालेलाई प्रदान गरेको छ । एमालेले यही सूर्य चिह्न चुनाव लड्न साना दललाई वितरण गरेको छ । यो राजनीतिक रुपमा निकै अनौठो कुरा हो । अघिल्लो पटक पनि हृदयश त्रिपाठी र उनी निकट सांसदहरु सत्ता परिवर्तनमा निर्णायक हुँदा समेत सूर्य चिह्नको विवाद आएको थियो ।
एमालेले सूर्य चिन्हबाटै लडेका कारण उनीहरुमाथि कारबाही गर्न खोजेको थियो । अब पनि एमालेको चुनाव चिह्नबाट चुनाव जितेमा उनीहरु कुन दलको प्रतिनिधि हुने भन्ने विवाद स्वाभाविक रुपमा उठ्ने देखिएको छ ।
निर्वाचन आयोगले भने सूर्य चिह्नबाट लडेका व्यक्तिलाई सोही दलको प्रतिनिधिका रुपमा चिन्ने आयोग बताउँछ । निर्वाचनमा सूर्य चिह्नबाट उठेर जितेमा त्यसले एमालेको प्रतिनिधिको रुपमा कानुनी हैसियत पाउँछ भने राप्रपा नेपाल र परिवार दलको रुपमा पहिचान हुँदैन ।
त्यसैले एमालेले अहिले निर्वाचन चिह्न दिएर तालमेलको सहमति गरेको देखिन्छ । तर निर्वाचन गठबन्धनका नाममा निर्वाचन चिह्न बाँडफाँड हुने कुन लोकतान्त्रिक अभ्यास हो भन्ने गम्भीर प्रश्न चाँहि यसले उठाएको छ ।