राज्यद्वारा आयोजित सुशोभन समारोहको पोसाकमा पदक पाउने र सम्मानितबाटै हेलचेक्र्याइँ !

फर्कलान् र ती दिनहरू

राज्यद्वारा आयोजित सुशोभन समारोहको  पोसाकमा पदक पाउने र सम्मानितबाटै हेलचेक्र्याइँ !

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  बैशाख ०३, २०७९

हाम्रो पुर्वीय परम्परामा एउटा धारणा छ- यदि तपाईँ दान गर्नुहुन्छ भने दाहिने हातले दिएको दानको परिमाण देब्रे हातले थाहा नपावस् रे ! अर्थात् आफूले समाजका लागि, अरूको सहयोगका लागि गरेका कामहरूका बारेमा आफूलाई पनि त्यस्तो हेक्का नराख्नू रे ! किनभने त्यसबाट मानिसमा एउटा विभेदको खाडल खनिन सक्छ रे ! घमण्ड पनि बढ्न सक्छ रे, म अरूभन्दा फरक पो रहेछु भनेर । 

अनि, हाम्रो हितोपदेशले धेरै पहिले, कहिले कहिलेदेखि भन्दै आएको छ- धर्म गर्दा म अहिले नै मर्छु भन्ने ठान्नू, काम गर्दा म कहिल्यै पनि मर्दिनँ भन्ने ठान्नू किनभने मृत्युको डरले कर्म बिग्रन्छ तर धर्म गर्दा भने फेरि कहिल्यै पाप नगरियोस् भन्ने परोस् । दान गर्नु भनेको पनि धर्म गर्नु हो । पाप मोचनका लागि अनेक उपाय गरिन्छ । त्यसमध्ये दान दातब्य दिएर धर्म कमाउनु पनि हो । मैले त्यस्तो कुनै पनि काम गर्न सकेको छैन, जसले आफूलाई मृत्युपछि पनि बचाइराखोस् ।

जब मैले त्यस्तो काम केही गर्न सकेको छैन भने त्यसले समाजबाट, सरकारबाट या अन्य संस्थाहरूबाट अपेक्षा के पो गरिन्छ र ? तर पनि लामो शिक्षण सेवा र पत्रकारिताबाट केही त भएको रहेछ भन्ने बुझ्न थालेको छु । खासमा सम्मान, पदक तथा प्रशंसापत्र भनेका अरूले कसैको कार्य, आदर्श जीवनका आधारमा सम्मानका साथ दिइने आत्मिक प्रतिष्ठा हो । कतिपय सम्मानसँगै केही रकमको पनि व्यवस्था गरेको हुन्छ, जस्तो कि नेपालमा साहित्यका विभिन्न विधामा दिइने पुरस्कारमा हालसम्म नियमित र आकर्षक रकम अनि सम्मानका साथ हेरिने मदन पुरस्कार छ, जसको व्यवस्थापन मदन पुरस्कार गुठीले गर्दै आएको छ ।

त्यस्तै, थुप्रै गैरसरकारी संस्थाहरू छन्, जसले पुरस्कार, सम्मान र प्रशंसापत्र दिन्छन् । मलाई त्यस्तो पुरस्कारप्रति मोह पनि छैन र विमोह पनि छैन । मैले आफ्नो नियमित कार्य गरिरहँदा नै यदि केही पाइए र कसैले सम्मानका साथ दिए लिने पनि गरेको छु तर त्यस्तो सम्मान कता पाइन्छ भनेर खासै सोधखोज गर्ने चलन पनि छैन । एउटा आदर्श जीवनमा त्यसको आवश्यकता पनि छैन । मलाई बढीभन्दा बढी पुरस्कार पाउने लालसा पनि छैन । कसैले दिएमा किन दिएको भनेर सोध्छु र चित्त बुझे स्वीकार पनि गर्छु । 

सामान्यतया त्यसरी दिइने सम्मान, प्रतिष्ठाका बारेमा २ वटै चलन प्रचलित छन्- अनुमति लिएर मात्र दिने या प्राप्त गर्नेलाई कुनै जानकारी नै नदिई उसका बारेमा जानकारी प्राप्त गरेर सम्मान, पदक, प्रशंसापत्र दिने । त्यस्तोमा सरकारबाट दिइने पदक एउटा सम्मान र प्रतिष्ठित मानिन्छ किनभने राज्यले नै हो दण्ड दिने अनि पुरस्कार पनि दिने । 

मेरो शिक्षण र पत्रकारिता दुवैको उमेर उस्तैउस्तै छ । शिक्षणको विधिवत सुरुवात २०३१ सालदेखि भएको थियो भने पत्रकारिताको पनि सुरुवात २०३४ सालदेखि भएको थियो 'राष्ट्रपुकार'  साप्ताहिकबाट । 

शिक्षण पेसाले त मलाई रोजगारी दिएको हो, मैले शिक्षण पेसालाई कहिल्यै पनि जागिर ठानिँन,  ठान्दिनँ पनि । त्यसबाट समाजमा प्रवेश गर्ने अपूर्व प्रवेशद्वारको रूपमा विद्यालय, महाविद्यालय, विश्वविद्यालयलाई मान्छु म । त्यो मेरा लागि सेवाको अनुपम समय उपलब्ध भएको हो भन्ने ठान्छु, जसले मेरो समाज रूपान्तरणको भावनालाई कार्यान्वयन गर्न प्रत्यक्ष सहायता पुर्‍याएको हुन्छ, पुर्‍याएको छ ।

सेवा गर्दा म पुरस्कृत हुन्छु कि हुन्न भन्ने गलत प्रतिस्पर्धाबाट शिक्षक निर्देशित हुँदैन । पत्रकार पनि मेरो सेवाबाट जनता , राज्य र अन्तर्राष्ट्रिय समुदाय कति लाभान्वित, सुसूचित हुन्छ भनेर लाग्ने हो तर त्यसबाट मलाई कति फाइदा हुन्छ भनेर पछिपछि लाग्नुपर्ने पनि होइन । पहिले पहिले पत्रकारिता गर्ने भनेको अन्य कुनै पेसाबाट रकम कमाएर खाने अनि पत्रकारितालाई नियमित रूपमा जारी राख्ने हुन्थ्यो तर २०४७ सालपछि भने पत्रकारितामा पनि सेवा र मेवा दुवै छ भन्ने परेको छ । र, पनि बहुतायत पत्रकारहरूको अवस्था अहिले पनि शोषणबाट गुज्रिरहेको छ ।

जुन गुणात्मकता र आवश्यकताको आधारमा इतिहासको पानामा लुकेर बसेका पात्रहरूको नाम खोजीखोजी पदक दिइयो, राज्यले सम्मान गरेको पाइयो । त्यस कारणले चाहिँ म आफूलाई राज्यले सम्झेको र सम्मान गरेको मानेको छु किनभने मलाई लाग्थ्यो, म प्रत्येक साता लेख्छु र समाजका बारेमा आफ्ना सकारात्मक, नकारात्मक टिप्पणी गर्छु, कसले पो पढ्छ र ?

पत्रिकाका मालिक, प्रेसका मालिक तथा लगानीकर्ताहरू दिन पर दिन धनी हुँदै जाने त्यही सार्वजनिक सम्पत्तिको दोहनबाट तर पत्रकारिता गर्ने पत्रकारको पेटमा लात हानेर सके पारिश्रमिक नै नदिने, दिए पनि कम दिने, नियुक्ति नदिने, निश्चित रकम नदिने खालका व्यवहार भएको पाइन्छन् । त्यसको निराकरणका लागि श्रमजीवीहरूको नेतृत्व आवश्यक हुन्छ तर पत्रकारितामा त पत्रिका नै नभएको पत्रकारले समूहको आधारमा नेतृत्व प्राप्त गरेको हुन्छ । म आफैँले कहिल्यै पत्रकारिताको नेतृत्वमा चाहना राखिनँ किनभने म जस्ता त्यसबेलाका उत्साही शिक्षकहरूले नेपाल शिक्षक संघको स्थापना गरेका थियौँ र आज पनि त्यो संस्था नेपालका शिक्षकहरूको सबैभन्दा ठूलो संस्थाको रूपमा छ । ठुलो यस अर्थमा कि सदस्यताको दृष्टिले त्यो संस्था ठूलो छ । धेरै सदस्यहरू संघमा आबद्ध छन् ।

त्यहाँ पनि मैले कर्मको मात्र वास्ता गर्दा र सुन्दरतम् पेसाभित्रको कुटिल खेलको नियति नबुझ्दा संस्थाको स्थापनाको बेलामा बाहेक नेतृत्वमा पुग्ने क्षमता राखिनँ भन्नुपर्‍यो किनभने प्रजातन्त्रमा विश्वास गर्ने आस्थावान् नागरिकले तत्तत् संस्थाको बहुमतको निर्णयलाई मान्नै पर्छ भन्ने हुन्छ । बहुमत नियत हेरेर आउने होइन, संगठनको अनेक कौशलबाट आर्जन गरिने हो । आर्जन गर्न मैले सकिनँ तर जसले बहुमत ल्याएर संस्थाको नेतृत्व सम्हालेको हुन्छ, उसलाई सहयोग गर्नु मेरो कर्तव्य हुन्थ्यो, त्यही गरेँ । 

त्यसैले मलाई पत्रकारिता गर्दागर्दै पनि पत्रकारितापट्टिको नेतृत्व गर्ने लालसाले कहिल्यै पनि उत्प्रेरित गरेन । शिक्षण पेसाको आवधिक समय भएपछि निवृत्त हुने समय आउँछ तर हाम्रो देशमा पत्रकारिताबाट निवृत्त हुने परिस्थिति आउँदैन किनभने स्वेच्छिक रूपमा आफूलाई पत्रकारको रुपमा, स्वतन्त्र पत्रकारको रूपमा आफूले नै स्वीकार गरेपछि कहिले पो निवृत्त हुनुपरेको हुन्छ र ?

नेपाल शिक्षक संघको काठमाडौं जिल्लाले धेरै वर्ष नेतृत्व गरेको र संस्थाको स्थापनामा केन्द्रीय नेतृत्व गरेको भनेर सम्मान गरेको थियो । त्यस्तै, नेपाल सरकारको शिक्षा मन्त्रालयले २०५८ सालमा शिक्षा राष्ट्रिय पुरस्कार दिएको थियो तर कहिले वितरण गरेको हो, थाहै भएन । अर्थात् मेरो हातमा आजसम्म परेको छैन । म खोज्दै गइनँ किन दिएको थियो भनेर ? फेरि मन्त्रालयले सोधीखोजी पनि गरेन ।

शब्दयात्रा पुरस्कार भनेर बनेपाको संस्थाले ससम्मान मलाई सम्मानित गरेको छ २०७६ सालमा । कसरी छान्यो त थाहा भएन तर हामीले तपाईंलाई सम्मान गर्ने अठोट गरेका छौँ, तपाईंलाई स्वीकार्य छ कि छैन भनेर औपचारिक रूपमा सोधिएको थियो । मेरा केही जिज्ञासाको चित्तबुझ्दो जबाफ पाएपछि मैले त्यसलाई स्वीकार गरेँ । तर, दुर्भाग्यवश त्यो प्रतिष्ठित सम्मान लिने बेलामा म विदेशमा थिएँ तर मेरो छोराले लिएर घरमा जतनसँग सम्मानपत्र राखेको थियो, जुन आज पनि मसँग छ ।

यो सबै मैले के कुरामा जोड दिन खोजेको भने, एउटा सामाजिक अभियन्ताले सम्मान र प्रतिष्ठा, प्रशंसाको आवश्यकता छैन भन्दा पनि त्यो पत्याउन सकिँदैन तर सम्मान खोज्दै खोज्दै जाने, जसरी पनि सम्मान पाउन भनेर लालायित हुने काम ठिक होइन भन्ने मलाई लाग्छ ।

यही क्रममा ३ असोज २०७८ मा नेपाल सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट मलाई सुप्रबल जनसेवा श्री पदक दिने निर्णय भएको रहेछ, जसको सुशोभन समारोह १ वैशाख २०७९ मा राष्ट्रपति भवन, शीतल निवासमा नै भयो । मैले वरिष्ठ पत्रकारको हैसियतमा पदक पाएको रहेछु ।

एकातिर मलाई लाग्यो, आजको प्रतिस्पर्धात्मक समयमा, सूचनाको बाढी नै बगाएर समाज रुपान्तरणका लागि काम निरन्तर रूपमा गरिरहनुपर्ने बेलामा म जस्तो करिब ४ दशकभन्दा बढी नै कलमजीवी भएर अनवरत समाजको चेतना वृद्धिमा लागेको कलम बाजलाई पदक राज्यले दियो, खुसी नै भएँ । तर, त्यस्तो के पो गर्न सकिएको थियो र ? भन्ने पनि लागेको छ । त्यसलाई मैले हौसलाको रूपमा सम्झेको छु । बरु खुसीको कुरा त के भयो भने, २०७८ सालमा दिएका पदक पाउने व्यक्तिहरूको विवरण हेर्दा नेपाल सरकारको निर्णयप्रति मैले गौरव गरेँ । सन्त नेता स्वर्गीय किसुनजीले नेपाल रत्न पाउनुभएको रहेछ, सुवर्णशम्शेर राणा,  मंगलादेवी सिंह, रामनारायण मिश्र, दुर्गानन्द झा, दिवानसिंह राई,  योगेन्द्रमान शेरचन, शिवराज पन्त, कृष्णप्रसाद भण्डारी, मोहनचन्द्र अधिकारी, झलनाथ खनालदेखि थुप्रै सम्मानित कलाकार, पत्रकारहरूले सम्मानित हुने मौका पाएको बेला रहेछ । 

हाम्रो जस्तो गठबन्धन र भाग बन्डाका चलेको सरकार र राजनीतिक प्रणालीमा अलिक धेरै व्यक्तिहरूले पदक, सम्मान पाएका होलान् तर जुन गुणात्मकता र आवश्यकताको आधारमा इतिहासको पानामा लुकेर बसेका पात्रहरूको नाम खोजीखोजी पदक दिइयो, राज्यले सम्मान गरेको पाइयो । त्यस कारणले चाहिँ म आफूलाई राज्यले सम्झेको र सम्मान गरेको मानेको छु किनभने मलाई लाग्थ्यो, म प्रत्येक साता लेख्छु र समाजका बारेमा आफ्ना सकारात्मक, नकारात्मक टिप्पणी गर्छु, कसले पो पढ्छ र ? भन्थेँ तर होइन रहेछ, कोही न कोही त पढ्दो रहेछ र नै राज्यका तर्फबाट त्यस्ता म जस्ता कतै कुनै पहुँच नभएका व्यक्तिको पनि पदक पाउने बेला आउँदो रहेछ । 

अरू त त्यस्तै हो, सुशोभन समारोहमा पोसाकका बारेमा अलिक बढी नै हामी पदक पाउने र सम्मानित हुनेको हेलचेक्र्याइँ मैले देखेँ । हामीलाई उपलब्ध भएको निमन्त्रणा पत्रमा दिएको निर्देशन जस्तो सम्मानित  व्यक्तिहरूले आफ्नो ड्रेसको व्यवस्थापन गरेको देखिनँ । आखिर हामी नेपाली हौँ । हामीले नेपाली पोसाक भनेर अपवादबाहेक तोकिएको पोसाक लगाउँदा के बिग्रन्छ र ? अर्को पटकको सुशोभन समारोहमा पक्कै नै त्यो भद्रगोल नहोला भन्ने आशा गर्नुबाहेक के अपेक्षा गर्नु र ?

क्रमशः