लोकसंवाद संवाददाता | समाचार | बैशाख ०५, २०७९
यही २०७९ वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा महानगर तथा उपमहानगरपालिकामा चुनावी तालमेलका विषयमा सत्ता गठबन्धनभित्र छलफल सुरु भएको छ । देशका विभिन्न स्थानीय तहमा सत्ता गठबन्धन बन्ने र भत्किने क्रम जारी रहेका बेला महानगर र उपमहानगरमा चुनावी तालमेलबारे छलफल सुरु भएको हो ।
सत्ता गठबन्धनमा सबैभन्दा पेचिलो मानिएको भरतपुर महानगरपालिका फेरि पनि माओवादीले नै पाउने सम्भावना देखिएको छ । भरतपुर महानगरपालिकाको मेयर माओवादीलाई छाड्न कांग्रेस सकारात्मक देखिएको छ । यसअघि शनिबार नै कांग्रेस सभापति शेरबहादुर देउवाले भरतपुरका पार्टी सभापति उपमेयरमा लड्न तयार भइसकेको बताएका थिए ।
भरतपुरका कतिपय कांग्रेसका स्थानीय नेता कार्यकर्ता भने माओवादीलाई मेयर दिन नहुने अडानमा अहिले पनि रहेका छन् । यद्यपि गठबन्धन दलहरुबीच बाँकी ५ वटा महानगर र ११ वटा उपमहानगरपालिकाको भागबण्डामा भने किचलो हुने देखिएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ताको मिति नजिकिदैं गर्दा सत्ता गठबन्धनभित्र तालमेल र गठबन्धनको पहल पनि तीव्र बनेको छ ।
आइतबार सत्ता गठबन्धनको बैठक चरणबद्ध रुपमा बस्यो । आइतबार बिहान गठबन्धनका शीर्ष नेताको बैठक बसेको थियो । बैठकले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको तयारी तथा अनुगमन संयन्त्रलाई महानगर र उपमहानगरको भागवण्डा बारे गृहकार्य गर्न निर्देशन दिएको थियो ।
यसबीचमा पनि गठबन्धनका नेताहरुबीच विभिन्न चरणमा छलफल भयो । संयन्त्रको बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवसँग भेट गरे भने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि उनकै निवासमा पुगेर छलफल गरे ।
नेताहरुले पेस गरे आ–आफ्ना दाबी
सत्ता गठबन्धनका नेताहरुले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन र तालमेल भएको अवस्थामा आफूहरुले पाउनुपर्ने सिटबारे आफ्नो दाबी प्रस्तुत गरेका छन् । पौडेल नेतृत्वको तयारी तथा अनुगमन संयन्त्रको बैठकमा अन्य दलले आफ्नो दाबी पेस गरेका हुन् ।
सत्ता साझेदार दलका नेताहरुले सामूहिक रुपमा बार्गेनिङ गरेपछि अब भागबण्डा कसरी मिल्छ भन्ने टुंगो लाग्न बाँकी छ । कांग्रेसले गठबन्धन गर्न ६ वटै महानगर र ११ उपमहानगरमा नेतृत्व छाड्न नसक्ने बताइसकेको छ । यस्तो अवस्थामा महानगर र उपमहानगरको भागबण्डा निकै पेचिलो बनेको छ ।
बैठकमा माओवादी केन्द्रका नेता वर्षमान पुनले चितवनको भरतपुरमा आफूहरुले नेतृत्व पाउनुपर्ने दाबी गरे भने ११ वटा उपमहानगरमध्ये धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरमा नेतृत्व दाबी गरे ।
यसैगरी एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा नेतृत्व दाबी गरेको छ । एकीकृत समाजवादीले महानगरको नेतृत्व नदिने भए चुनावी तालमेलबारे थप छलफल गर्न नसकिने समेत बताइ सकेको छ ।
एकिकृत समाजवादीले पोखरा महानगरपालिकासहित इटहरी, हेटौंडा, बुटवल वा तुलसीपुरमध्ये एकको नेतृत्वमा दाबी गरेको छ । सो पार्टीले घोराही, जनकपुर र नेपालगञ्जमा उपमेयरको पनि दाबी गरेको छ ।
यस्तै जनता समाजवादी पार्टीले भने वीरगञ्ज महानगरपालिकामा दाबी गरेको छ । स्थानीय स्तरमा गठबन्धनमा सहमति नभएपछि कांग्रेस र जसपाले पर्साका सबै स्थानीय तहमा सौहार्दपूर्ण प्रतिस्पर्धा गर्ने निर्णय गरेका थिए ।
तर शीर्ष तहको बैठकमा जसपाले नेतृत्व दाबी गरेको हो । यसअघि पर्सामा जसपाले मेयर जितेको थियो । तर वीरगञ्ज महानगरपालिकाका मेयर विजय सराबगी एमालेमा प्रवेश गरेका छन् । जसपाले वीरगञ्जमा आफ्नो पार्टी पहिलो शक्ति भएकाले मेयर पाउनुपर्ने दाबी गरेको छ ।
जसपाले वीरगञ्जमा आफूहरुलाई सहयोग नगरे विराटनगरमा पनि कांग्रेसलाई नछाड्ने चेतावनी दिएको छ । विराटनगरमा कांग्रेस तालमेल नआए जसपा, माओवादी र एकीकृत समाजवादी बीच गठबन्धनको सम्भावना छ । त्यस्तो अवस्थामा विराटनगरमा कांग्रेस, एमाले र जसपासहितको गठबन्धनबीच त्रिपक्षीय भिडन्तको सम्भावना छ ।
जसपाले यससँगै २०७४ सालमा आफूले जितेको जनकपुर उपमहानगरको नेतृत्वमा पनि दाबी गरेको छ । राष्ट्रिय जनमोर्चाले भने कुनै महानगरमा दाबी गरेन । जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले ६ महानगर र ११ उपमहानगरमध्ये कुनै एकमा आफ्नो दललाई उपमेयर दिनुपर्ने माग राखिन् ।
सबै दलले विभिन्न महानगर र उपमहानगरमा दाबी गर्दा कांग्रेसले भने सबैमा आफूहरुको स्वभाविक दाबी रहेको जनाएको छ । कांग्रेसले काठमाडौं, ललितपुरसहित विराटनगरको मेयरमा दाबी गरिरहेको छ ।
सत्ता साझेदार दलका नेताहरुले सामूहिक रुपमा बार्गेनिङ गरेपछि अब भागबण्डा कसरी मिल्छ भन्ने टुंगो लाग्न बाँकी छ । कांग्रेसले गठबन्धन गर्न ६ वटै महानगर र ११ उपमहानगरमा नेतृत्व छाड्न नसक्ने बताइसकेको छ । यस्तो अवस्थामा महानगर र उपमहानगरको भागबण्डा निकै पेचिलो बनेको छ ।
शीर्ष नेताहरु भरतपुरको विषयमा भने माओवादीलाई दिन सकारात्मक देखिएका छन् । भरतपुर बाहेक अन्य स्थानमा भने थोरै मत भएका दलको पक्षमा धेरै मत खसाएर जिताउन कठिन हुने भन्दै कांग्रेस नेताहरु आफूले नै नेतृत्व लिने पक्षमा देखिन्छन् । सबै स्थानमा कांग्रेस पहिलो या दोस्रो शक्ति रहेकाले ति स्थानमा गठबन्धनका दललाई नेतृत्व दिन नसकिने र दिए पनि तल्लो स्तरमा स्वीकार हुने सम्भावना कम रहेको कांग्रेस नेताहरुको दाबी रहदै आएको छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता कार्यकर्तालाई गठबन्धन बृहत्तर उद्देश्यका लागि भनेर दबाव दिए पनि मतदाताको मनोविज्ञान भुल्न नहुने बताए । यसअघि उनी गठबन्धनको पक्षमा उभिदै आएका थिए ।
छलफलमा आइतबार सबै दलले आफ्नो दाबी राखेका छन् । अब दाबीमाथि दलहरुबीच छलफल हुनेछ । यद्यपि दलहरूबीचको छलफललाई हेर्ने हो भने धेरै ठाउँमा कुरा मिल्न धेरै कठिन देखिएको छ । यसले स्थानीय तहमा धेरै स्थानमा गठबन्धन भत्किने खतरातर्फ पनि संकेत गरेको छ ।