बम बानियाँ | साहित्य | बैशाख ०५, २०७९
हिँडियो भन्दै देश र जनता
तरियो थुप्रै खोलानाला
छाम्दा गोजी खाली छ
बचेको त्यहि विचार छ
त्यो पनि आक्रान्त छ
समाज निर्माणको
नयाँ खाका कोर्ने सदियौं देखिको सपना छ
ओ कमरेड
पर्दैन चढाउन चाकडी भने
पर्दैन किन्न टिकट भने
राखेर इमान धरौटी
यो पटक मेरो पनि दावी छ
खुल्ला भन्नुस् मैले टिकट पाउन
के के सर्त पुरा गर्नुपर्छ
म उठे भने
सदियौं योगदान गरेका योद्धाहरू
विना हिचकिचाहट दुई हप्ता त हो खट्नुपर्ने
हिँडेरै त हो जनताको घरमा जाने
चुनावी खर्च नमाग्ने हो भने
मेरो पनि यो पटक दावी छ
मलाइ दिनु भो टिकट भने
भन्दिन आकास झार्छु
सानासाना बाँकी काम गर्छु
तर
गर्दिन भोजभतेर
किन्दिन जनताको मत
दिन्न झुटा आश्वासन
जितेपछि
मनाउँदिन विजय उत्सव
खरिद हुदैन नयाँ कुर्सी र कार्पेट
किन्दिन औपचारिक पोसाक
खै के मा हुन्छ र खर्च
ढोग्नु पर्दैन मलाई
चुनावपछि पनि म आफै ढोग्छु जनतालाई
ढोग्नलाई हात जोड्नु नै पर्छ र
सेवा दिए हुदैन र
पर्दैन आउन जनता मेरो टेवलमा
म आफै आउँछु तपाईको मझेरी मा
हुनेछ जनताको उज्यालो अनुहार
मन्जुर छ भने यी सर्त
कमरेड मेरो पनि यो पटक दावी छ
जितेपछि मेरा केही सर्त हुनेछन्
म ज्यु र साहेबको सम्बोधन खान्न
शिलन्यास र उद्घाटनमा जान्न
बुझाउनेछु सम्पत्ति विवरण
उठेर काम गर्छु मेरो अवधिभर
माग्नेछैन फेरि दोहोर्याएर टिकट
यी सर्तमा
के मन्जुर छ एउटा टिकट ?