रामप्रकाश समथिङ: जसले २०६ जना महिला र २८७ जना पुरुषको अन्तिम संस्कार गरे !

मान्छे मर्दा खोजिने मान्छे

रामप्रकाश समथिङ: जसले २०६ जना महिला र २८७ जना पुरुषको अन्तिम संस्कार गरे !

जीवन योञ्जन  |  अन्तर्मन्थन  |  बैशाख ०५, २०७९

जन्म भएकै मृत्यु हुन हो । मृत्यु निश्चित छ । अनिश्चित भनेकै मृत्युको समय मात्र हो । जीवनको अन्तिम मृत्यु हो । र, मृत्युपछिका मानिसका आआफ्नै संस्कार हुन्छन् । हामी नेपालीहरूको यही मृत्युको समयमा संस्कारमा सर्वाधिक कोही खोजिन्छन् भने उनी हुन् सक्छन्- रामबहादुर गुरुङ उर्फ ‘रामप्रकाश समथिङ ।’

पाँचथरको फिदिम बजार घर भएका उनको खोजी मान्छे मरेको घरमा २ कामका लागि हुने हो- बाँस खोजेर ल्याउने र विधिपूर्वक शव राख्ने बाँसको ठाउँ बनाएर अन्ततः घाटमा चिता बनाई शव खरानी बनाउने ।

यी काम गर्न गुरुङ जहिल्यै तल्लीन हुन्छन् । तर, पैसाका लागि होइन । पूरै सेवाको रूपमा । मान्छे मरेको भन्ने सुन्ने बित्तिकै गएर यी काम गुरुङले २५ वर्षयता निरन्तर गर्दै आएका छन् । ८२ वटा डायरीमा भएको टिपोटअनुसार उनले ४९३ जना मृतकको संस्कारमा यसरी काम गरिसकेका छन्, जसमध्ये महिला २०६ जना र पुरुष २८७ जना छन् ।

उनले यस्तो काम पछिल्लो पटक ३० चैत २०७८ मा गरे । पाँचथरको फलैँचा घर भई काठमाडौंको नयाँ बस्ती बस्दै आएका चन्द्रप्रसाद पोखरेलको मृत्यु घटनामा उनले यस्तो काम गरेका हुन् ।

‘विधिपूर्वक बाँसको शव बोक्ने बनाउनुपर्छ । अधिकांशले जान्दैनन् । त्यसरी नै विधिपूर्वक चिता बनाउनुपर्छ । धेरैले जान्दैनन् । म जान्दछु । त्यही भएर मेरो खोजी मान्छे मर्दा हुन्छ’, गुरुङले भने ।

उनलाई जन्ती जान निम्तो हुन्छ तर मलामी जान निम्तो हुँदैन भन्ने लाग्छ । त्यही भएर मान्छे मरेको भन्ने सुइँको पाएपछि मृत्यु संस्कारमा आफूले जानेको काम गर्न पुग्छन्, जुन १ वैशाख २०५३ देखि जारी छ ।

उनै गुरुङ १ वैशाख २०७९ मा भने राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवाश्री पदकले विभूषित भए । विभूषणमा गुरुङले देशको गौरव बढाएको र नेपाली जनताको हित अभिवृद्धि गरेको भनिएको छ ।

‘म पहुँच विहीन मान्छे हुँ । मेरा नजिकका कोही नेता छैनन् । एक जना पियनसम्म आफन्त छैनन् तर सबैको नजरमा परेको रहेछु । त्यही भएर आज देशले सम्मान गर्दा खुसी छु’, विभूषण पाएपछि गुरुङले प्रतिक्रिया दिए ।

उनै दर्जीको शव धार्मिक संस्कारअनुसार अन्त्येष्टि गर्न १२ जेठमा हेवाँखोला त लगियो तर शव जलाउने पैसा परिवारसँग थिएन । खोला क्षेत्रमा शव जलाउन पुग्ने दाउरा ५ हजार ५०० रुपैयाँमा पाइन्छ ।

उनलाई मानिसको मृत्यु संस्कारमा सहभागिता अनिवार्य लाग्छ, जसलाई उनी मानवीय धर्मको रूपमा लिन्छन् । २-४ घण्टाको दूरीमा मलामी पुग्छन् नै ।

आवश्यक परे कात्रो किन्नदेखि चिताका लागि दाउरा किन्नसम्म पैसा तिरिदिन्छन् उनी । कहिले सहयोग जुटाउँछन् । खासगरी यस्तो अवस्था जिल्ला अस्पताल फिदिममा उपचारमा ल्याइएका गरिब परिवारका मान्छेको मृत्यु भएमा हुने गरेको गुरुङ बताउँछन् ।

उनका अनुसार यस क्रममा बढी पिर पर्ने एउटा मृत्यु घटना भयो । त्यो घटना हो- सञ्जय दर्जीको । ११ जेठ २०७६ मा पाँचथरको फिदिम गोलधारेमा २२ वर्षको उमेरमा दर्जीले झुण्डिएर आत्महत्या गरे । उनको घर ताप्लेजुङको पेदाङ हो । चरम गरिबीका पिल्सिएको थियो दर्जी परिवार ।

उनै दर्जीको शव धार्मिक संस्कारअनुसार अन्त्येष्टि गर्न १२ जेठमा हेवाँखोला त लगियो तर शव जलाउने पैसा परिवारसँग थिएन । खोला क्षेत्रमा शव जलाउन पुग्ने दाउरा ५ हजार ५०० रुपैयाँमा पाइन्छ ।

मलामी गएकाहरूबाट २ हजार ६०० रुपैयाँ त उठ्यो तर २ हजार ९०० रुपैयाा पुगेन । अपुग पैसाको जमानी बसेर गुरुङले दर्जीको शव दाह गर्ने संस्कार पूरा गरिदिए ।

गरिबीका कारण शव जलाउनै नसकिने स्थिति सञ्जयको मात्र होइन, गुरुङले धेरैको देखेका छन् । कहिले जमानी बसेर त कहिले तत्काल आर्थिक सहयोग जुटाएर शव अन्त्येष्टि गर्दै आएका छन् उनले ।

उनी भन्छन्, ‘बाँच्दा जे जसरी बाँच्छन्, बाँचून् तर मृत्युपछि बिदाइ सम्मान र विधिपूर्वक गर्नुपर्छ किनभने फेरि भेट सम्भव छैन उनीसँँग ।’

मृत्यु त्यसै त दुःखद् हो । मृत्युपछिको संस्कारमा पनि उनले विभेदको महसुस गरेका रहेछन् । त्यो हो- वर्ग र जातको आधारमा हुने विभेद ।

‘धनीमानी र नेता मर्दा मलामीको भीड हुन्छ तर आर्थिक रूपमा विपन्न र दलित समुदायका मान्छे मर्दा मलामी पाउनसमेत गाह्रो हुन्छ’, गुरुङले भने ।

आफू मलामी गएका ४९३ जना मृतकको तस्बिर र पहिचान खुल्ने विवरण राखेर सम्झना स्वरूप एउटा पुस्तक प्रकाशन गर्ने उनको तयारी छ । त्यसका लागि तस्बीर सङ्कलनको काममा पनि व्यस्त रहेको उनले सुनाए ।

गरिबको शव जलाउन कोष खडा

गुरुङ संरक्षक रहेको संस्था ‘समथिङ फाउन्डेसन’ छ । साहित्यिक र शैक्षिक क्षेत्रमा सहयोग गर्न स्थापित यस संस्थाले सामाजिक क्षेत्रअन्तर्गत गरिब परिवारका मानिसको शव जलाउन सहयोग गर्ने तयारी गरेको छ ।

‘८ लाख रुपैयाँ कोषमा जम्मा भइसक्यो । २ लाख हुन बाँकी छ । १० लाख रुपैयाँ पुगेपछि वार्षिक कम्तीमा १ लाख रुपैयाँ ब्याज आउँछ । त्यसबाट गरिब परिवारका मान्छेको लास जलाउन खर्च गर्ने सोच छ’, उनले भने ।

पाँचथरको सामाजिक सेवा क्षेत्रमा उनलाई अग्रणी व्यक्तिमध्येमा लिइन्छ । तर, आफ्नो प्रचार गर्न पटक्कै रुचाउँदैनन् । भन्छन्, ‘सफा मनले गरेको कामको विज्ञापन गर्नुपर्दैन ।’

उनी लेखनमा पनि सक्रिय छन् । हालसम्म ५३ वटा कृति प्रकाशित छन् उनका । ५१ वर्षे उनी स्वर्गीय असलबहादुर र जसमाया गुरुङका तेस्रो सन्तान हुन् ।