गठबन्धनमा सहमति नभए माओवादी एक्लै चुनाव लड्ने

गठबन्धनमा सहमति नभए माओवादी एक्लै चुनाव लड्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ०५, २०७९

नेकपा  (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धनभित्र भागबन्डामा सहमति नजुटे आफ्नो पार्टी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने जानकारी दिएका छन् । 

पार्टी मुख्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले महानगर, उपहानगरसहितमा उम्मेदवार छनोटमा गठबन्धनमा सहमति नभए माओवादी केन्द्र एक्लै चुनावमा लड्ने बताएका हुन् । 

‘६ वटा महानगरमा सबै गठबन्धनले लिने होइन होला । एउटा त माओवादीले पाउला’, उनले भने, 'यदि सहमति नजुटे माओवादी एक्लै चुनाव लड्छ । एक्लै लड्न ३ महिनादेखि तयारी गर्दै पनि आएको छ ।’ 

भागबन्डाका विषयमा सोमबार (आज) नै सहमति हुने प्रचण्डले जानकारी दिए । सोमबार बिहान बसेको बैठक प्रचण्डको पत्रकार सम्मेलनपछि बस्ने गरी स्थगित गरिएको छ । सोमबार नै बस्ने  बैठकमा ६ महानगर र ११ उपहानगरमा भागबन्डामा सहमति जुटाउने प्रचण्डले जानकारी दिए ।