लोकसंवाद संवाददाता | समाचार | बैशाख ०५, २०७९
मकवानपुर । नेकपा (एकीकृत समाजवादी) मकवानपुरले मकवानपुरमा ६ स्थानीय तहमा आफ्नो बलियो पकड रहेको दाबी गरेको छ । सोमबार पार्टीको जिल्ला कमिटी बैठकमा रिपोर्टिङ गर्ने क्रममा भूगोलका इन्चार्जहरूले ६ वटा स्थानीय तहमा मेयर र अध्यक्ष पाउनु पर्ने गरी पार्टीलाई लबिङ गर्न खबरदारी पनि गरे ।
पार्टी संगठन राम्रो भएको मनहरी, राक्सिराङ, भीमफेदी, कैलाश, इन्द्रसरोवर र हेटौँडा उपमहानगरपालिकामा अध्यक्ष र मेयर पाउनु पर्ने गरी गठबन्धनमा छलफल गर्न इन्चार्जहरूले बैठकमा रिपोर्टिङ गरेका थिए । राक्सिराङका इञ्चार्ज कृष्णबहादुर चेपाङ र मनहरीका इञ्चार्ज भूमिनन्द अर्यालले दुवै भूगोलमा गठबन्धनमा सम्मानजनक सहभागिता नभए एक्लै उठ्न पनि पार्टी पंक्ति तयार रहेको बताउनु भयो ।
यस्तै, गठबन्धनले अध्यक्ष दिन तयार भएको कैलाश र इन्द्रसरोवर पार्टीको स्वभाविक दाबी हुने नै भयो । कैलाश इञ्चार्ज कालु ढकाल र ईन्द्रसरोवर इञ्चार्ज कुन्साङ लामाले पनि अध्यक्षसहित केही वडाहरुमा सम्मानजनक हिसाबले गठबन्धन हुनु पर्ने बताउनु भयो ।
हेटौँडा उपमहानगरपालिकामा पनि मेयरसहित ५ वटा वडामा समाजवादीले दाबी गर्नु पर्ने नेताहरुको भनाइ थियो । गठबन्धनमै जाँदा पनि मेयरसहित ५ वटा वडामा दाबी रहेको पार्टी उपाध्यक्ष एवम् हेटौँडा उपमेयर मीना लामा र हेटौँडा पार्टी इञ्चार्ज ध्रुव भुजेलले बताउनु भयो । यस्तै, पछिल्लो समय पार्टी संगठन सुदृढ भएकाले भीमफेदीमा पनि अध्यक्षको दाबी गर्ने आधार भएको रिपोर्टिङ थियो इञ्चार्ज शिवहरि बर्तौलाको ।
यस्तै, बैठकमा समाजवादीले कम्तीमा उपाध्यक्षसहित सम्मानजनक ढंगले वडाध्यक्षहरु पाउनु पर्ने दाबीमा मकवानपुर गढी र वकैया गाउँपालिका रहेको छ । गढी इञ्चार्ज राजन दाहाल र वकैया इञ्चार्ज नारायण तिमिल्सिनाले उपाध्यक्षसहित वडाध्यक्षहरुमा दाबी रहेको र गठबन्धनमा यही अनुसार छलफल चलाउन पार्टी पंक्तिलाई आग्रह गर्नु भयो । थाहा नगरपालिका र बागमती गाउँपालिकामा मात्र समाजवादीले तत्काल अध्यक्ष, उपाध्यक्ष या मेयर उपमेयरमा दाबी नगरेको हो । बैठकमा रिपोर्टिङ गर्ने इन्चार्जहरूले गठबन्धनसँग लिनु पर्दा कम्तीमा लिनु पर्ने वडामा ३९ वटा वडा माग गर्न आग्रह गरेका थिए । ती वडाहरुमा समाजवादीको पकड रहेको इञ्चार्जहरुको दाबी थियो ।
सचिवालय सदस्यमा उत्तम शर्मा
बैठकले हेटौँडा वडा नम्बर १ का नेता उत्तम शर्मा न्यौपानेलाई सचिवालय सदस्यमा मनोनयन गरेको छ । केही दिनअघि एमाले छाडेर समाजवादी पार्टी प्रवेश गर्नु भएका न्यौपानेलाई जिल्ला सदस्यमा मनोनयनसँगै सचिवालय सदस्यको जिम्मेवारी दिइएको हो । यस्तै, श्याम ढुंगाना र रामबहादुर स्याङ्तानलाई जिल्ला सदस्यमा मनोनयन गरिएको सचिव विष्णु दाहालले बताउनु भयो ।
एमाले कमजोर
बैठकमा रिपोर्टिङ गर्ने इन्चार्जहरूले जिल्लाभर एमाले कमजोर बन्दै गएको बताएका थिए । ‘नेकपा एमालेभित्र चरम असन्तुष्टि बढेको छ, कयौँ टिकट नपाएका साथीहरु समाजवादीमा आउन इच्छुक छन्, उनीहरुलाई व्यवस्थापन गर्नेबारे पार्टीले सोच्नुपर्छ,’ अधिकांश इन्चार्जहरूले बैठकमा रिपोर्ट सुनाएका थिए । वडाध्यक्ष, उपाध्यक्ष र अध्यक्षसम्मको टिकटको आसा देखाएर समाजवादीमा नजान भनेपछि मानेर बसेका र टिकट नपाएका एमालेका साथीहरुलाई पार्टीमा ल्याउने विषयमा छलफल गर्न इन्चार्जहरूले र्टीको ध्यानाकर्षण गराएका थिए ।
आकर्षणको ‘इपिसेन्टर’ विष्णु दाहाल
नेकपा (एकीकृत समाजवादी) का मकवानपुर सचिव विष्णु दाहाल यतिखेर मकवानपुरमै समाजवादी पार्टीका लागि नेता कार्यकर्ता आकर्षण गर्ने ‘इपिसेन्टर’ बन्नु भएको छ । राष्ट्रिय भूमि आयोग मकवानपुरको अध्यक्ष बन्नु भएपछि मकवानपुरको अधिकांश वडामा समेत पार्टी निर्माणमा दौडिनु भएका सचिव दाहालको छोटो कार्यकालमै पूर्वी मकवानपुरको बागमतीमा लालपूर्जा बाँड्ने काम भएपछि दाहालको आकर्षण बढेको हो । पूर्वी मकवानपुरको वकैयामा पनि लालपूर्जा वितरण अन्तिम चरणमा पुग्दा निर्वाचन आचारसंहिताले रोकिएको छ । हेटौँडा, मनहरीलगायत अन्य भूगोलमा पनि जग्गा नाप जाँचको काम भइरहेको छ । दाहालले भन्नु भयो, ‘२२ औँ आयोग हो, छोटो समयमै लालपूर्जा बाँड्न सक्यौँ, यसले जिल्ला भरका जनतामा विश्वास पनि जागेको छ, निर्वाचन लगत्तै अन्य भूगोलमा काम हुनेछ ।’ निष्पक्ष ढंगले काम भएकाले पनि स्थानीय दाहालको कामसँग आकर्षित भएका छन् ।
मकवानपुरमा जेष्ठ नागरिक अस्पताल
काठमाडौंमा सिभिल अस्पताल, चितवनमा शिक्षक अस्पताल भनेजस्तै हेटौँडामा जेष्ठ नागरिक अस्पताल स्थापनाका लागि जनसंख्या तथा स्वास्थ्यमन्त्री विरोध खतिवडाले सैद्धान्तिक सहमति लिनु भएको छ । बैठकमा सम्बोधन गर्दै स्थायी कमिटी सदस्यसमेत रहनु भएका मन्त्री खतिवडाले भन्नु भयो, ‘मकवानपुरमै जग्गा खोजेर अस्पताल सञ्चालनका लागि सैद्धान्तिक सहमति लिइसकेको छु, काम अघि बढ्छ ।’
थाहा नगरलाई ५० करोड
मन्त्री विरोध खतिवडाले आफ्नै पहलमा शहरी विकास मन्त्रालयमार्फत थाहा नगरपालिकालाई ५० करोड रुपैयाँ उपलब्ध हुने बताउनु भयो । ‘मन्त्री भएपछि आफ्नो भूगोलमा काम गरेकै छु, थाहामा ५० करोडका लागि पहल गरेँ, अन्त पनि काम भइरहेको छ,’ मन्त्री खतिवडाले भन्नु भयो, ‘स्क्याण्डल गर्ने हाम्रो चलन छैन, स्क्याण्डल गरेर केही हुने वाला पनि छैन, जनताले विरोध खतिवडा चिनेकै छन्, विरोध खतिवडालाई कहाँका जनताले के चाहेका छन्, थाहै छ ।’
मनहरी महादेववेसी सडकलाई एक अर्ब रुपैयाँ
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पश्चिम मकवानपुरको मनहरीदेखि धादिङको महादेववेसीसम्म बाटो, पुल, पुलेसाका लागि ९९ करोड रुपैयाँ राष्ट्रिय योजना आयोगमार्फत उपलब्ध हुने बताउनु भएको छ । ‘मनहरी–राक्सिराङ–डाँडाबास–दामगडे–महादेववेशी बाटोका लागि ९९ करोड रुपैयाँ योजना आयोगमार्फत विनियोजन गराएको छु,’ खतिवडाले भन्नुभयो, ‘यो रकमले पश्चिम मकवानपुरको सडक विकासमा उल्लेख्य काम हुने देखिन्छ, अरुजस्तो यस्तो गरेँ, उस्तो गरेँ भनेर हल्ला नगरे पनि मन्त्री भएपछि पनि मकवानपुरको विकासका लागि सकेको गरेकै छु ।’
गठबन्धनबारे ब्रिफिङ
बैठकको अध्यक्षता गर्नु भएका नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले मकवानपुरका गठबन्धनका दलहरुसँग भएको बैठकबारे ब्रिफिङ गर्नु भएको थियो । उहाँले गठबन्धनमा सहभागी दलहरुले राखेको अडान, एकीकृत समाजवादीले राखेको अडान र सहमतिका विषयमा पुग्न सकिने आधारहरूबारे बताउनु भएको थियो । उहाँले गठबन्धनमा इञ्चार्जहरुको माग अनुसारका प्रस्ताव राखेर सहमतिमा पुगिने बताउनु भयो ।
सक्रिय भएर लाग्न बस्नेतको निर्देशन
नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा मकवानपुर इन्चार्ज ललित बस्नेतले नेतृत्व पंक्तिलाई अरु सक्रिय भएर पार्टी निर्माण र उम्मेदवार जिताउने अभियानमा लाग्न निर्देशन दिनु भयो । पार्टीको बैठकमा प्रमुख अतिथिका रुपमा बोल्दै बस्नेतले पार्टी निर्माण भएको र सबल हुँदै गएकामा सबैलाई धन्यवाद दिँदै निर्वाचनका बेला भएकाले अरु सक्रिय हुनु पर्ने बताउनु भयो । भन्नु भयो, ‘यो बेला सक्रिय हुने बेला हो, एमालेले गरेको विभेद, अत्याचार विरुद्ध जनतामा जानुहोस् र गठबन्धनका राम्रा कुराहरु गरेर जनताको मन जित्नुहोस् ।’
बैठकमा केन्द्रीय सदस्यहरु धनप्रसाद गौतम, राजाराम स्याङ्तान र सूर्यचन्द्र न्यौपानेले केपी ओली प्रवृत्तिविरुद्ध पार्टी गठन अभियानसँगै मकवानपुरमा पार्टी निर्माणमा संलग्न सबैलाई आभार प्रकट गर्दै गठबन्धनलाई इमानदारिताका साथ जोगाएर पार्टीका नेता कार्यकर्तालाई विजित गराउनु पर्ने दायित्व नभुल्न आग्रह गर्नु भयो ।
तस्बिरहरु : शिव चौलागाईं/प्रचार विभाग