नबिल बैंक:जलवायु परिवर्तनका कारण प्रवासी कामदारको स्वास्थ्यमा हुन सक्ने असर न्यूनीकरणमा चासो

नबिल बैंक:जलवायु परिवर्तनका कारण प्रवासी कामदारको स्वास्थ्यमा हुन सक्ने असर न्यूनीकरणमा चासो

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ०५, २०७९

काठमाडौँ । नबिल बैंकले प्रवासी कामदारहरुको स्वास्थ्य अवस्थालाई जलवायु परिवर्तनको प्रभाव कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बिषयमा कार्यशाला आयोजना गरेको छ । अप्रील १५, २०२२ मा भिभान्ता होटल ललितपुरमा आयोजना गरिएको उक्त कार्यशालामा ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसन ल्गेएसर मुख्य प्रस्तुत कर्ताको रुपमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

ला इस्ला नेटवर्क एउटा अनुसन्धान र परामर्श संस्था हो जसले विश्वभर रहेका कामदार तथा तिनीहरुको समाजमा हुनसक्ने तापक्रम सम्बन्धी रोगहरु जस्तै परम्परागत बाहेकका पुराना मृगौला रोगहरुको रोकथाम गरी समाजबाट मृगौला रोग निर्मुल पार्न काम गरीरहेको छ । जलवायु परिवर्तनको समयमा यो संस्थाले कामदारको स्वास्थ्यलाई संबोधन गर्न प्रमाणमा आधारित समाधानहरूको बिकास तथा कार्यन्वयन गर्दै आइरहेको छ ।

नबिल बैंक संस्थागत संचार बिभाग अनुसार प्रवासी कामदार र विप्रेषण नेपाली अर्थव्यवस्थाको निकै महत्वपूर्ण भाग रहेको छ र यिनै बिषयलाई मध्यनजर राखी नबिल बैंकद्धारा संचालन गरिएको यो कार्यशाला नेपाली बैकिङ्ग क्षेत्रमै पहिलो कार्यशाला हो । नबील बैंकले दिगो बिकासका पहलहरूलाई समर्थन तथा कार्यन्वयन गर्दै आइरहेको छ र यो कार्यशाला पनि समाजमा दिगो बिकाशको लागी महत्वपूर्ण रहने विश्वास गरिएको छ ।

उक्त कार्यक्रमलाई नेपाली मुद्रा बिप्रेषक संघको सहयोगमा संचालन गरिएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, बैदेशिक रोजगार विभाग, राष्ट्रिय योजना आयोग, परराष्ट्र मन्त्रालय, प्रवासी नेपाली समन्वयन समिति तथा विदेशी कुटनीतिक संघ संस्थाहरु लगायतका श्रम मामिलामा आवद्ध विभिन्न संघ संस्थाहरुका उच्च पदस्त अधिकारीहरूको सहभागिता रहेको थियो ।

कार्यशालाको बारेमा बोल्दै नबिल बैंकका अध्यक्ष, उपेन्द्र प्रसाद पौडेलले ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसनले गर्नुभएको अनुसन्धान तथा बिभिन्न कामहरू नेपाली प्रवासी कामदारको लागि निकै महत्वपूर्ण रहेको र यो अनुसन्धानको निष्कर्ष र समाधानहरूले जलवायु परिवर्तनका कारण नेपाली प्रवासी कामदारहरुको स्वास्थ्यमा पर्न जाने असरलाई समयमै पहिचान गरी सो को आवश्यक समाधान गर्न मद्धत पुग्ने विश्वास व्यक्त गर्नु भयोे । 

कार्यशालाको दौरान जेसनले बढ्दैै गएको तापक्रमको कारण धेरै स्वास्थ्य समस्या थपिँदै गएको र प्रवासी कामदारहरूमा जलवायु परिवर्तनले पार्न गएको असर सम्बन्धमा सहभागीहरूको ध्यानाकर्षण गराउनु भएको थियो । बढ्दो तापक्रम र गर्मीका कारण मृगौलामा आउन सक्ने समस्या जलवायु परिवर्तनका कारण सृजना भएको पहिलो महामारी हुन सक्ने समेत बताउनु भयो । त्यसैले सरोकारवालाहरूले कामदारहरूको कार्यस्थलको अवस्था, पर्याप्त पिउने पानीको व्यवस्था सुनिश्चित गर्नसके मात्र जलवायु परिवर्तन र तापक्रम कारण शुरू भएको नया“ रोगहरू बाट प्रवासी कामदारको स्वास्थ्यलाई जोगाउन सकिने बताउनु भयो ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहले जलवायु परिवर्तनको प्रभाव सबै जिवित जीवहरूमा उच्च मात्रामा देखिन थाले ता पनि यसलाई कम गर्ने तर्फ सामान्य ध्यान केन्द्रित गर्न सके पनि केही हदसम्म न्यूनीकरण गर्न सकिने बताउदै यसका लागि प्रवासी कामदारहरूमा चेतना फैलाउनु निकै महत्वपूर्ण रहेको र यस सम्बन्धमा उचित सहयोग गर्न नबिल बैंक सधै तत्पर रहेको बताउनु भयो । कार्यक्रममा उपस्थित सहभागीहरूले सक्रिय सहभागिता जनाउनुका साथै नेपाली मुद्रा विप्रेषण संघका कार्यकारी सदस्य प्रवीन अधिकारी र म्यानपावर एजेन्सीको प्रतिनिधिको रूपमा श्री सुवर्ण श्रेष्ठले आ आफ्नो  बिचार व्यक्त गर्नुभयो । 

कार्यशालाको समापनमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव थानेश्वर भुसालले कामदारहरूको स्वास्थ्य सुधार गर्न कुनै अनुसन्धान गर्न चाहनुहुने संस्था तथा व्यक्तिलाई सक्दो सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वहाँले सबै सरोकारवालाहरुलाई सँगै राखी यस्तो गम्भीर बिषयमा छलफल गर्ने वातावरण मिलाई दिनुभएकोमा नबिल बैंकलाई बिशेष धन्यवाद ज्ञापन गर्दै कार्यशालाको समापन गर्नुभएको थियो ।