लोकसंवाद संवाददाता | समाचार | बैशाख ०६, २०७९
आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि सत्तारुढ गठबन्धनमा तालमेलको कसरत भइरहेको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच महानगर र उपमहानगरपालिकामा तालमेल र भागबण्डाका विषयमा छलफलमा जुटी रहेका छन् ।
आइतबार र सोमबार लगातार महानगर र उपमहानगरपालिकामा भागबण्डाका लागि सत्तारुढ गठबन्धनको बैठक निरन्तर बसि रहको छ । बैठकमा भागबण्डाका विभिन्न विकल्पमा छलफल भएपनि अझै सहमतिमा पुग्न सकेको छैन ।
गठबन्धनमा सहमति नजुट्दै देशभरबाट सबै पार्टीका स्थानीय कमिटीहरूले भने उम्मेदवार चयन गरी सिफारिस गरिरहेका छन् । उम्मेदवार मुख्य दुई प्रकारले सिफारिस भएको देखिन्छ । एउटा, गठबन्धनका शीर्ष नेताको बैठकमा दबाब बनाएर सकेसम्म आफ्नो पक्षमा पार्न र अर्को गठबन्धनका दललाई नछाडी आफ्नै दाबे दारीका लागि पनि उम्मेदवार सिफारिस भइरहेको देखिन्छ ।
सत्ता गठबन्धनमा रहेका सबै पार्टीले आफ्नो प्रभाव क्षेत्रमा उम्मेदवार सिफारिसलाई प्राथमिकता दिएका छन् । माओवादी कांग्रेस, माओवादी केन्द्र उम्मेदवार सिफारिसमा अगाडि देखिएका छन् भने एकीकृत समाजवादी र जसपाले पनि विभिन्न स्थानीय तहमा उम्मेदवार सिफारिस गरिरहेको छ ।
महानगरपालिकामा भने सहमति नजिक रहेको बताइएको छ । सबैभन्दा चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिका माओवादीलाई दिन सहमति भएको छ । चितवनमा कांग्रेसले पनि दाबी गरेको थियो । तर ६ मध्ये एक महानगरपालिका माओवादी केन्द्रलाई दिँदा भरतपुर उसको भागमा पर्ने निश्चित जस्तै देखिएको छ ।
यसबाट सबै दल आफ्नो प्रभाव क्षेत्रमा विपक्षीलाई पेल्ने गरी अघि बढ्ने र केन्द्रमा सोही अनुसार दबाब दिन दलहरुले उम्मेदवार चयनको कामलाई तिव्रता दिएका छन् । गठबन्धनका दलहरुको भागमा पर्ने निश्चित भएका स्थानमा समेत गठबन्धनमा रहेका अन्य दलले समेत उम्मेदवार सिफारिस गरेका छन् । यसबाट दलहरु गठबन्धनमा सक्दो प्रयास गर्ने, दबाब सिर्जना गर्ने र त्यस्तो नभएको अवस्थामा अलग रुपमा निर्वाचनमा जान समेत तयारी भइरहेको पनि देखिन्छ ।
पोखराका विषयमा विवाद
तालमेलबारे निर्णय गर्न बसेको सत्ता गठबन्धनको बैठकमा पोखरा महानगरपालिकामा कांग्रेस र एकीकृत समाजवादी दुवैको दाबी कायम रहेपछि अवरुद्ध भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादी र काँग्रेस दुवैले आ–आफ्नो दाबी कायम राखेका छन् ।
अन्य महानगरपालिकामा भने सहमति नजिक रहेको बताइएको छ । सबैभन्दा चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिका माओवादीलाई दिन सहमति भएको छ । चितवनमा कांग्रेसले पनि दाबी गरेको थियो । तर ६ मध्ये एक महानगरपालिका माओवादी केन्द्रलाई दिँदा भरतपुर उसको भागमा पर्ने निश्चित जस्तै देखिएको छ ।
यसैगरी जसपालाई वीरगन्ज महानगरपालिका दिने र बाँकी महानगर कांग्रेसले लिने सहमति भएको छ। गठबन्धनमा रहेका ५ मध्ये ४ दलले महानगरमा दाबी गरेकोमा नेकपा एकीकृत समाजवादीले पोखरामा दाबी गरेको थियो ।
तर पोखरमा कांग्रेसले दाबी नछाडेपछि सहमति हुन सकेको छैन । पोखराकै विषयमा थप गृहकार्य गरेर मंगलबार फेरि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । महानगरको विषय टुंगिएपछि उपमहानगरपालिकामा भागबण्डा हुनेछ ।
सत्ता गठबन्धनका दलहरुबीच ६ महानगर र ११ वटा उपमहानगरपालिकामा तालमेलको प्रयास भइरहेको छ । सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले महानगर र उपमहानगरपालिकामा तालमेल गर्न गठबन्धन दलहरु सहमति नजिक पुगेको बताए । उनले भने, ‘सबै ठाउँमा सहमतिको नजिक पुगेका छौं । भोलि यसरी मिल्यो भनेर जानकारी गराउँछौं ।’