मधेस प्रदेशका सिट बाँडफाँट गर्न सत्तारूढ गठबन्धन दललाई सकस

मधेस प्रदेशका सिट बाँडफाँट गर्न सत्तारूढ गठबन्धन दललाई सकस

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ०६, २०७९

मधेस प्रदेशमा चुनावी तालमेल गर्न सत्तारूढ गठबन्धनलाई सकस भएको छ । 

प्रदेशका चुनावी तालमेल गर्न प्रदेशस्तरीय सत्तारूढ गठबन्धन दलको पटकपटक बैठक बसे पनि अझै पालिका बाँडफाँटमा सहमति जुट्न सकेको छैन ।
सोमबार बसेको सत्तारूढ गठबन्धनको बैठकले पहिलो चरणमा गत स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र वर्तमानमा लोसपाले नेतृत्व गरिरहेका ३४ वटा पालिकामा भागबण्डा गर्ने र त्यसबाट बाँकी रहेका ९८ वटा पालिकामा पछि भागबण्डा गर्ने विषयमा सैद्धान्तिक सहमति भएको थियो । 

मधेस प्रदेशमा एक महानगर वीरगंज र ३ उपमहानगर जनकपुरधाम, सिमरा र कलैया छन् । यी ४ वटा स्थानीय तहमा केन्द्रबाटै भागबण्डा लगाइने उल्लेख छ भने बाँकी १३२ वटा पालिकामा भागबण्डा गर्न प्रदेश गठबन्धनलाई जिम्मेवारी तोकिएको छ । त्यसैगरी सोमबार बसेको बैठकमा अन्य पालिकामा आवश्यकता र औचित्यको आधारमा तालमेल गर्ने निर्णय गरेको थियो ।

सोमबार सतारूढ गठबन्धन दलहरूको सिट बाँडफाँटमा सहमति नभएपछि अर्को बैठक बुधबार राखिएको छ । बुधबार जनकपुरमा बैठक राखिएको नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रदेश अध्यक्ष रामचन्द्र यादवले बताए ।