लोकसंवाद संवाददाता | समाचार | बैशाख ०६, २०७९
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले के गल्ती गरेको छु ? भन्दै प्रश्न गरेका छन् । नेविसंघको ५३औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै देउवाले आफूले पार्टीलाई सत्तामा ल्याएर निर्वाचनमा होमिएको बताए ।
अहिले हरेक प्रदेशमा नेपाली कांग्रेस सरकारमा सहभागी रहेको उनले जनाए । ‘मैले के गल्ती गरेँ ? कांग्रेस पार्टीलाई सत्तामा ल्याउनु मेरो गल्ती हो ? मैले के बिगारेको छु, झन् रामचन्द्रले मलाई धन्यवाद भन्नुपर्ने हो', देउवाले भने ।
पार्टीभित्र हरेक क्षेत्रमा भागबण्डा नखोज्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनले आग्रह गरे । ‘हरेक कुरामा भागबण्डा किन खोज्नुहुन्छ ? सबै कुरामा भागबण्डा खोज्नुहुन्छ । निर्वाचन गरेर स्वस्थ प्रतिस्पर्धा गरेर अघि बढौँ । जसले जित्छ, त्यसैले नेतृत्व लिन्छ’, देउवाले भने ।
नेविसंघका नेताहरूलाई उनले पढाइमा पनि अब्बल हुन निर्देशन दिए । ‘अत्यन्तै प्रतिस्पर्धाको जमाना आयो । पढाइमा फेल हुने अनि नेता बन्ने ! यसरी कसरी देश हाँक्न सक्नुहुन्छ ?', देउवाले भने ।
अब देश नेविसंघको हातमा आइसकेको भन्दै उनले देश हाँक्ने तयारी गर्न निर्देशन दिए । सबैभन्दा ठूलो कुरा एकता भएको भन्दै उनले भने, ‘असमझदारी हुन्छ । एकआपसमा मनमुटाव हुन्छ । त्यसलाई बिर्सिनुपर्यो नि ! चुनाव हारेको भाेलिपल्ट त्यसलाई बिर्सिहाल्नुपर्यो । हार स्वीकार्दैनन्, कहाँबाट हुन्छ ?’