लोकसंवाद संवाददाता | समाचार | बैशाख ०७, २०७९
नेकपा (एकीकृत समाजवादी)ले भक्तपुरमा आज उम्मेदवारी घोषणा गर्ने भएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सतारूढ गठबन्धनको नेकपा एसले बुधबार ३ बजे पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गर्न लागेकाे हाे ।
जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, स्थानीयस्तरमा प्रभुत्व जमाउँदै आएको नेपाल मजदुर किसान पार्टीलगायत कुनै पनि दलले उम्मेदवारी घोषणा गरेका छैनन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायतका दलहरूले उम्मेदार हुन चाहनेका सूची संकलन गरी केन्द्रमा पठाएका छन् । नेपाल मजदुर किसान पार्टीले भने अरू दलको उम्मेदवार तोकेपछि मात्र अन्तिममा उम्मेदवारी घोषणा गर्ने जनाएकाे छ ।
जिल्लामा ४ वटा नगरपालिका छन् । पछिल्लो स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिकामा नेकपा एमालेका प्रमुख सोमपसाद मिश्रले ८ हजार ५१२, उमप्रमुख बिना बाँस्तोलाले ८ हजार ७७९, भक्तपुर नगरपालिकामा नेकपा एमालेका प्रमुख विष्णुप्रसाद सुवालले ४ हजार २१८, उपप्रमुख कृष्णमाया त्वानाबासुले ४ हजार ६३१, सूर्यविनायक नगरपालिकामा नेकपा एमालेका प्रमुख वासुदेव थापाले १२ हजार १३५, उपप्रमुख जुना बस्नेतले १२ हजार ८३२ र मध्यपुर थिमिमा नेकपा एमालेका प्रमुख मदनसुन्दर श्रेष्ठले १४ हजार मत पाएका थिए ।
मध्यपुरमा एमालेले त्यसबेला नेपाल मजदुर किसान पार्टीसँग मिलेर चुनाव लडेका कारण उपप्रमुख नेपाल मजदुर किसान पार्टीको भागमा परेको थियो । एमालेबाटै फुटेर नेकपा एस बनेकाले अहिले त्यही एमालेको भोट काट्ने अनुमान गरिएको छ । एमालेको भोट काटेर एमाले हराउने अभियानमा नेकपा एस लागेको बताइन्छ ।