लोकसंवाद संवाददाता | समाचार | बैशाख ०८, २०७९
नेपाली कांग्रेसको काठमाडौं महानगर समितिले प्रमुखको उम्मेदवारका लागि ५ जनाको नाम सिफारिस गरेको छ । महानगर समितिले कांग्रेस नेता प्रकाशमान सिंह पत्नी सिर्जना सिंहसहित नीलकाजी शाक्य, हरिप्रभा खड्गी श्रेष्ठ, सुसन वैद्य, प्रगतिमान रञ्जितको नाम बाग्मती प्रदेश समितिमा सिफारिस गरेको हो ।
सत्ता गठबन्धनमा काठमाडौं महानगरको प्रमुख कांग्रेसलाई र उपप्रमुख नेकपा (एकीकृत समाजवादी)ले पाउने सहमति भएको छ । तर, कांग्रेसले उपप्रमुखमा सुशीला ढकाल र प्रा.डा. अमिता प्रधान शाक्यको नाम सिफारिस गरेको छ ।
समितिले १ नम्बरमा वडा अध्यक्षसमेत रहेका शाक्य, दोस्रो नम्बरमा सिंह, तेस्रो नम्बरमा काठमाडौंकी उपप्रमुख खड्गी, चौथो नम्बरमा वैद्य र पाँचौँ नम्बरमा रञ्जितको नाम सिफारिस गरेको छ ।
तर, काठमाडौं प्रमुखका लागि चर्चामा रहेका तीर्थराम डंगोलको नाम सिफारिससमेत गरिएन । पूर्वमन्त्रीसमेत रहेका डंगोल संस्थापन खेमाका नेता हुन् । सोही कारण महानगर समिति सभापति शाक्यले उनको नाम सिफारिसमा नगरेको कांग्रेस काठमाडौंका एक नेताले बताए ।
सिफारिस भएका रञ्जितबाहेक चारै जना प्रकाशमान सिंह निकट नेता हुन् । कांग्रेसबाट काठमाडौं प्रमुखमा सिर्जना सिंह उम्मेदवार बन्ने निश्चित रहेको नेताहरू बताउँछन् ।