रोशनी अधिकारी | दृष्टिकोण | बैशाख ०९, २०७९
बाग्मती नेपालको एक मुख्य नदी हो । बागद्वार उद्गमस्थल भएको यो नदी काठमाडौंको किनारबाट बग्छ । चोभारको गल्छीबाट उपत्यका काटेर तराईतिर बग्ने यस नदीलाई हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूले पवित्र मान्छन् । यस नदीको किनारमा दाहसंस्कार गर्दा जन्म र मृत्युको बन्धनबाट मुक्त हुनुका साथै मोक्षसमेत प्राप्त हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ ।
विगत केही वर्षदेखि यस नदीको स्वच्छताका लागि थुप्रै योजना र कार्यक्रम संचालन भए तर समस्या घट्नुको साटो बढ्दै गएको छ । बढ्दो जनसंख्या‚ अनियन्त्रित शहरीकरण‚ अव्यवस्थित ढल एवं फोहोरमैलाले शहर झन् प्रदूषित हुँदै आएको छ । नदीको जलमार्ग दिनानुदिन साँघुरिदै गएको छ भने नदीको बहाव पनि क्रमश: घट्दै गएको छ ।
बाग्मती नदीलाई स्वच्छ बनाउने लक्ष्यअनुसारको काम हुन नसकेपछि २०६४ सालमा बाग्मती सभ्यता एकीकृत विकास समिति बनाएर काम गर्न थालिएको थियो । २०६६ सालमा मन्त्रिपरिषद्को निर्णयले बाग्मती कार्ययोजना कार्यान्वयनमा आयो । बाग्मती बचाऊ अभियानले केही समयका लागि तीब्रता पनि पायो तर प्रगति भएको देखिएन ।
सुकुम्बासी बस्ती तथा अन्य किसिमका अतिक्रमणले नदीको सिमाना साँघुरो हुँदै गएको देखिन्छ । उपत्यकामा ढल तथा फोहोर व्यवस्थापन हुन नसक्दा नदी दिनानुदिन प्रदूषित हुँदै गएको छ भने नदीको सिमाना साँघुरो भएका कारण वर्षायाममा नदीको बहाव शहर तथा बस्तीतिर पसेर डुबानको समस्या देखिने गरेको छ । बर्सेनि धोबीखोला बाग्मतीको डुबानले सताइरहेको छ । वर्षमा १ महिना चिन्ता गर्ने अनि ११ महिना कानमा तेल हालेर सुत्ने परिपाटीले गर्दा बाग्मतीको व्यवस्थापन नभएको हो ।
प्राविधिक जनशक्तिको कमी र निर्णायक तहमा भएका व्यक्तिहरूमा इच्छाशक्ति नभएका कारण ढल निर्माण कार्य सम्पन्न गर्न; सम्पन्न भएका सडक संचालन गर्न; मर्मत तथा सम्भार गर्न; र भइरहेको फोहोर व्यवस्थापन गर्न पनि चुनौतीपूर्ण बनेको छ । पूर्व मूख्य सचिव लीलामणि पौडेलको नेतृत्वमा संचालित बाग्मती सफाइ अभियानले अहिले पनि निरन्तरता पाइरहेको भए तापनि त्यो पर्याप्त हुन सकेको छैन । फोहोर जथाभावी गर्ने अनि झिँगा धपाउने मात्र गरेर बाग्मती सफाइ अभियान कहिले पूर्ण होला ?
बाग्मतीको उद्गमस्थलबाट पशुपतिसम्म र पशुपतिदेखि चोभारको गल्छीसम्म २ वटा फरकफरक योजना बनाई कार्यन्वयन गर्नेतर्फ सोच्नुपर्छ । हरियालीसहितको सफा बाग्मती नदीको परिकल्पना साकार पार्न बाग्मतीको दुवैतर्फ खुला र स्तरीय सडक‚ ग्रिनबेल्ट निर्माण र ढल मिसावटबाट बचाउन ढल प्रवाह हुने छुट्टै व्यवस्था गर्नु जरुरी छ । अन्यथा बाग्मती नदीमा अहिलेझैँ निरन्तर ढल बगिरहनेछ ।
ढललाई अन्डरग्राउण्ड गर्दै सम्भव भएसम्म सडक र पुलसँग जोडेर चोभारसम्म निकास दिने योजना बनाई कार्यन्वयन गर्नु आवश्यक देखिन्छ । पशुपतिनाथदेखि टेकु दोभानसम्म बाग्मती नदीको पानीलाई संकलन गरी वोटिङ संचालन गर्नेबारे पनि सोच विचार गर्नुपर्छ । बाग्मती नदीलाई सौन्दर्यको पर्याय बनाउन स्थानीय नागरिकले पनि जिम्मेवारीबोध गर्नुपर्ने हुन्छ । यी सन्दर्भलाई मनन गर्न सके मात्र बाग्मतीको वास्तविक स्वरूप कायम हुन र हामीले सोचेजस्तो पर्यावरणीय सन्तुलन कायम गर्न मद्दत पुग्छ ।
विगत केही वर्षदेखि हप्तैपिच्छे बाग्मती सफाइ अभियान जारी छ । जुन रूपमा बाग्मती सफाइ अभियान सुरु भयो‚ त्यसको मुक्तकण्ठले प्रशंसा गर्नै पर्छ । यति भए पनि यस अभियानमा उपत्यकाबासीको सक्रिय सहभागिता अपरिहार्य छ । घरघरबाट निस्किएका ढल र जथाभावी यत्रतत्र थुपारिएका फोहोरमैलाले बाग्मतीको अस्तित्व संकटमा परिरहेको कोहीबाट लुकेको छैन तर यसलाई मनन गर्ने समय धेरैसँग नभएझैँ देखिन्छ ।
सर्वसाधारणमा नदी सफा राख्नुपर्छ भन्ने चेतनाको विकास भएका कारणले तुलनात्मक रूपमा विगतभन्दा अहिले केही सफाइ त भएको छ तर त्यतिले मात्र पुग्दैन । उपत्यकाबासीको ध्यान यसतर्फ केन्द्रित गराउनु जरुरी छ । यो एउटा पवित्र नदी हो । यसको स्वच्छताले मानवीय जीवन पनि स्वस्थ रहन सक्छ अन्यथा विभिन्न रोगको सिकार बन्ने कुरामा २ मत छैन । घरघरबाट निस्कने ढल र फोहोरको व्यवस्थापन गर्न नसक्दा यो स्थिति सिर्जना भएको हो ।
राजधानीका ३ लाखभन्दा बढी घरहरूमा करिब ४०-४५ लाख मानिसहरू बस्छन् । ती घरबाट निस्कने ढल बाग्मती, विष्णुमती, मनोहरा, धोवीखोला, टुकुचा, हनुमन्तेलगायतका नदी र खोलाहरूमा मिसाइएको छ । यो ढल मिसाउने विषयको व्यवस्थापन जबसम्म हुन सक्दैन, तबसम्म जति सफाइ गरे पनि उस्तै रहनेछ ।
नदीमा थुप्रै पानी बग्यो । त्यससँगै राजनीतिका थुप्रै फोहोरी खेलहरू पनि भए । यसको बहानामा आफ्नो गोजी भर्नेहरू पनि भेटिए तर नदीको अवस्था भने ज्यूँका त्यूँ छ । २०६३/०६३ को जनआन्दोलनपछि पनि थुप्रै सरकारहरू बने । थुप्रै प्रधानमन्त्री‚ मन्त्री‚ सांसद‚ नगर प्रमुख बने तर बाग्मतीको स्वरूप भने झन् बिग्रँदै गएको छ । राजनीतिकर्मीहरूमा इच्छाशक्तिको कमी हुँदा उनीहरूले यसलाई पनि स्वार्थपूर्ति गर्ने माध्यम बनाए । बाग्मतीको प्रदूषण पनि अरूले नै गरेको दोष लगाए तर विडम्बना, त्यसको सौन्दर्यबारे कसैले सोचेन ।
एकातिर सफाइ अभियान जारी छ भने अर्कोतिर जानाजान उपत्यकाका सडक, चोक र नदी किनारमा फोहोर थुपार्ने काम भइरहेकै छ । यी स्थानहरूमा देखिने फोहोरको थुप्रोले यहाँको सभ्यताको स्रोतका रूपमा स्थापित बाग्मतीलगायतका नदीको महिमा र छवि नासिँदै गएको छ । हप्तौँ होइन, महिनौँसम्म पनि फोहोरका थुप्रोहरू ती सडक‚ चोक र नदी किनारबाट उठाउने र व्यवस्थापन गर्ने कार्यलाई सरोकार राख्ने पक्षले बेवास्ता गर्दै आएका छन् ।
घरबाहिर हिँड्दासमेत नाक थुनेर हिँड्नुपर्ने अवस्था छ । गर्मीयाम बढेसँगै फोहोर थुप्रिएकाले प्रदूषण अझ बढेर महामारी फैलन सक्ने खतरा बढ्दै गएको छ । यसले देशकै राजधानी शहर काठमाडौं विश्व सामु घृणित हुने चिन्ता थपिएको छ ।
सांस्कृतिक शहरका रूपमा समेत विश्वमा परिचित काठमाडौँमा फोहोर नउठ्दा पर्यटकमा पनि नकारात्मक सन्देश गएको छ । स्थानीय सरकारहरूले फोहोर व्यवस्थापनलाई चासो नदिई पन्छने गरेका देखिन्छ । त्यस विषयमा स्थानीयले पनि कुनै खबरदारी गरिरहेका छैनन् । सरकारका काम कारबाहीप्रति नागरिक समाज तथा बुद्धिजीवीहरूले 'वाच डग'को भूमिका निर्वाह गर्नुपर्नेमा त्योसमेत यथेष्ट मात्रामा हुन सकिरहेको छैन । बुद्धिजीवीहरूमा बुद्धि बेचेर जीविकोपार्जन गर्ने तर सार्वजनिक सरोकारका विषयमा आवाज नउठाउने प्रवृत्ति हावी भएको छ ।
सरसफाइलाई जबसम्म एउटा अभियानका रूपमा लिइँदैन‚ जबसम्म आफ्नो घर वरपर आफैँ सरसफाइ गर्ने वातावरण बन्दैन, तबसम्म बाग्मतीलगायतका नदीहरूको दुर्दशा यस्तै रहिरहने निश्चित छ । हरेक नागरिकले सरसफाइमा विशेष ध्यान दिने र स्वच्छ वातावरणको हकका लागि सरकारलाई बेलाबेला घचघच्याइरहनु आवश्यक छ । नागरिकले पनि आफू जिम्मेवार हुन जरुरी छ । आफ्नो घर अगाडिको फोहोर उठाउन पनि सरकारकै मुख ताक्ने स्थितिको अन्त्य गर्नुपर्छ ।
आफूले गरेको फोहोरको व्यवस्थापन आफैँ गर्ने बानी बसाउन मूलत: स्थानीय नागरिकमा चेतनाले मात्र काम गर्न नसकिरहेको पक्षलाई विचार गरी दण्ड प्रणाली लागू गर्नु आवश्यक भएको छ । चुइगम मुखमा हालेर त्यसको खोल जथाभावी फाल्ने, सार्वजनिक स्थानमा पिच्चपिच्च थुक्ने । चुरोटका ठुटा सडकमै मिल्काउने र लगाइरहेको मास्क उचित स्थानमा नराख्ने प्रवृत्ति सामान्य बन्दै गएको छ । यी समस्याबाट मुक्त हुन एक खालको अनुशासनमा रही सभ्य नागरिकको परिचय दिन सकियो भने मात्र सरसफाइ अभियानमा सुधारका केही संकेतहरू देखापर्नेछन् ।
यहाँ नागरिक दायित्व र सरकारी जिम्मेवारीबीच समन्वयको खाँचो देखिएको छ । राज्यको दायित्व जनतालाई सेवा प्रवाहसँगै स्वच्छ वातावरणमा बाँच्न दिने वातावरण बनाउनु पनि हो । यसका लागि काठमाडौं उपत्यकाका सबै स्थानीय तहहरूले एकीकृत योजना बनाई बाग्मती सफाइ अभियानलाई कार्यान्वयन गर्न सकियो भने मात्र सफा, स्वच्छ र सुन्दर बाग्मतीसहितको काठमाडौं हामीले देख्न सक्नेछौँ ।
कुनै समय काठमाडौं (कान्तिपुर)को सौन्दर्यबाट मोहित भएर आदिकवि भानुभक्त आचार्यले 'अलकापुरी नगरी' कविता लेखेका थिए । यो अलकापुरी नगरी वास्तुशिल्पको शहर हो । यसलाई मन्दिरै मन्दिरको शहर पनि भनियो । ४०० ईशापूर्व पुरानो किरात सभ्यतालाई अझै पनि आफ्नो गर्भमा समेटेर बाँचेको यस शहरले आधुनिकतालाई पनि आत्मसात् गर्दै गएको छ ।
अहिले मन्दिरै मन्दिरको यो शहरमा आधुनिक व्यापारिक भवन, सिनेमा घर, अनेक प्रविधियुक्त संरचनाहरू थपिएका छन् । आदिकवि भानुभक्तले भनेको जस्तो नभएर अहिले काठमाडौं कतै दिल्ली जस्तो, कतै लन्डन जस्तो र कतैचाहिँ बनारस जस्तो हुन पुगेको छ । यो शहर ‘आधुनिकता र प्राचीन शैलीको फ्युजन’ बन्दै गएको झैँ देखिन्छ । काठमाडौंलाई कस्तो बनाउने भन्दा पनि कस्तो नबनाउने भनेर छलफल गर्नु र नयाँ योजना बनाउदा सबै कुरालाई ख्याल गरेर विकास गर्नु सान्दर्भिक देखिएको छ ।
काठमाडौंलाई पूर्णतः प्राचीन शहरका रूपमा विकास गर्न कसरी सकिएला ? सांस्कृतिक शहरलाई सभ्यतासँग जोडिएको शहरको रूपमा विकास गर्न के गर्नुपर्ला ? उपत्यकालाई सांस्कृतिक राजधानी बनाउनेबारे पो सोच्ने हो कि ? यी प्रश्न पाठक वर्गलाई प्रतिक्रियाका लागि छोडेकी छु ।
स्रोत: आईएनएस-स्वतन्त्र समाचार