कपिल अज्ञात | साहित्य | बैशाख १०, २०७९
शिखा बुक्सद्वारा प्रकाशित भवानी खतिवडाको ‘घामभन्दा पहिले’ (नियात्रासङ्ग्रह, २०७८)का पाठकहरूसित सोध्दा सबैले निकै राम्रो भने । राम्रो केले रहेछ हेरूँ न त भन्ने जिज्ञासा जाग्यो । प्राप्तिस्थान सम्पूर्ण पुस्तक नारायणघाट पुगेँ । पहिलोपल्ट नपाएर रित्तै फर्किएँ ।
पुस्तक सकिको रहेछ । दोस्रोपल्ट गएर सोध्दा फेलापर्यो । सानो मझौला आकारको पाठकमैत्री पुस्तकको रूपमा प्रकाशित कृति रहेछ ।
कृतिभित्र प्रवेश गरेपछि नियात्राका सन्दर्भ र प्रसंगले चुम्बकझैँ तानिरहने रहेछ । छाड्नै मन लागेन । १३ वटा नियात्रा चाख मानीमानी पढेँँ । बाचा पनि गरेको थिएँ नियात्राकारसित- पढेर प्रतिक्रिया जनाउँला है ! सुनेर खुसी जाहेर गरेकी थिइन् नियात्राकारले ।
नियात्राकार भवानी खतिवडाको पहिलो प्रकाशित कृति ‘घामभन्दा पहिले’ नै हो । पहिलो कृतिमा विशेषताहरूको ओइरो लागेको देखिन्छ । छन्द कविताको साधनाबाट नियात्रामा प्रवेश गरेका कारण कवित्व शक्तिको परिचय त मिल्छ नै, नैबन्धिक सिर्जनशक्ति पनि राम्ररी खुलेको पाइन्छ । नियात्रा गहन कृतिहरू राम्ररी पढेर र सिर्जनशक्तिलाई राम्ररी विकसित गरेर त होला, प्रथम प्रयासमै सफलताको फूल फक्रिरहेको पाउन सकिन्छ । जो आफ्नै प्रकृति प्रदत्त प्रयासबाट प्राप्त हुन पुगेको सौभाग्य हो ।
कथन, महिमा भनौँ कि उक्ति वैचित्र्य, नर्तन शैली भनौँ कि तिर्यक प्रस्तुति, चटाचट र फटाफटको गतिमा बान्की परेका वाक्यपुञ्जहरूले नियात्रालाई मीठो राग अलापिरहेझैँ लाग्छ । मनमा खुसी र उल्लास भरेर सिर्जनशक्ति आह्वान गर्ने हो भने यस्तै मनोरम कृतिको रचना हुन सम्भव छ भन्ने सन्देश पनि दिएझैँ भान हुन्छ ।
कतै मनोवाद, कतै मौनसंवाद र कतै प्रत्यक्ष संवादको मेलोमेसोले कृति बुनिएको छ । अन्तर्मुखी र बहिर्मुखी दुवै किसिमको स्वभावको प्रकटीकरण छ । सबै नियात्रा नियात्राका नमुना बनेका छन् । १३ वटै नियात्रामध्ये हलेसी यात्राको ‘तीन तालमा हलेसी’ त मानक नै बनेको छ । कलात्मक शैलीमा संस्मरण र नियात्राको सुन्दर समन्वय गरिएको छ । प्रस्तुतिमा काव्यतत्व पनि प्रचुर छ । मानवीकरण पनि उस्तै । सन्दर्भअनुसार समीक्षाचेतको पनि उपयोग गरिएको पाउन सकिन्छ ।
छोटा छरिता वाक्य योजनाद्वारा शैली सहज र सम्प्रेष्य बनेको छ । समग्र नियात्राले पाठकको मनलाई निकै रोमाञ्चित तुल्याउँछन् । समस्त पक्ष मनमोहक रहेको अनुभूत हुन्छ । नियात्रा यथार्थमा गति हो, संस्मरण र स्मृति हो । दुवै गति र स्मृतिको अद्भुत समन्वयले कृति हुनसम्म राम्रो बनेको छ । स्पष्ट रूपमा भन्दा यसको शैली र स्वर नै माप्पाको अर्थात् गज्जबको छ ।
यही प्रवाहमा शानदार शैलीको प्रयोग गरी त्यसमा धमाकेदार वा चामत्कारिक तत्त्व मिसाएर अघि बढ्ने हो भने छोटो समयमै नियात्राकारको शिखर आरोहण निश्चित छ । अहिल्यै सो उदीयमान हुनुको सुन्दर लक्षण हो ।
सिर्जनास्तरमा ‘घामभन्दा पहिले’ उठ्दा त यस्तो भव्यता आएको छ । घाम झुल्किसकेपछि झन् कस्तो आउला ? घाम शिरमाथि हुँदा वा डाँडामाथि पुगेपछि त झन् नियात्रा महासागर नै बन्ने हो कि !
रत्नहरूको खोजी गर्न सुमेरु पर्वतलाई मदानी र शेषनागलाई नेती बनाएर मन्थन नै गर्नुपर्ने त होइन ?
जे होस्, पहिलो सोपानमै विजयश्रीले स्वागत गरिरहेझैँ लाग्छ । नियात्राकारले नियात्रामा के भन्छ भन्दा कसरी भन्छ ? त्यही प्रमुख विशेषताको कुरो बन्दोरहेछ ।
नियात्राकार भवानी खतिवडाले जसरी आफ्ना अनुभव र अनुभूतिलाई प्रस्तुत गरेकी छन्, त्यही मौलिकताले उनलाई निक्कै माथि पुर्याइरहेको छ । आफूले देखे, भोगेको अनुभवलाई तत्काल टिपोट गरी स्मृतिमा साँचेझैँ पाठकका मानसभूमिमा समग्र रचना जीवन्त बन्न गएका छन् । कुन रचनाले के बोल्छन्, त्यसको फेहरिस्त प्रस्तुत गर्ने लेखकको उद्देश्य छैन किनकि लेखिकाको सिर्जनाशक्तिसँग मात्र साक्षात्कार रहने प्रयोजन छ ।
यथायोग्य साहित्यिक उपकरणबाट पनि राम्रो कृति बन्न पुगेको भए पनि त्यसमा गुनासा गर्ने ठाउँ पनि भेटिन्छन् । पाठकको पक्षबाट बहस गर्नुपर्दा कृतिको आकारको हिसाबले यो कृतिको मूल्य निक्कै महँगो छ । तर, प्रकाशन लागतभन्दा निकै बढी मूल्य प्रकाशकको मनोमानी नै हो । यो जोमसोमका सुमोवालाले एकतर्फी भाडादर बढाउने निर्णय जस्तै भएन र ?
छन्दमा राम्रो पकड र गद्यधारामा पनि आफ्नो सीप सामर्थ्य बढाइरहेकी भवानी खतिवडाको नियात्रा लेख्ने बानी कहिल्यै नटुटोस् । नियात्रा आकाशको चम्किलो नक्षत्र बन्ने लक्षण यसले झल्काइरहेको छ । ‘घामभन्दा पहिले’ र पछि आउने भवानी खतिवडाका कृतिले सफलताका चुली आरोहण गरिहून्, हार्दिक शुभकामना !