विराट साहित्य संगमको विरासत र इमान: अवैध सम्पत्ति, भ्रष्टाचारीलाई चोख्याउने पुरस्कार अस्वीकार !

विराट साहित्य संगमको विरासत र इमान: अवैध सम्पत्ति, भ्रष्टाचारीलाई चोख्याउने पुरस्कार अस्वीकार !

ऋतु आशिक  |  साहित्य  |  बैशाख १३, २०७९

'ऐतिहासिक योद्धा मनमोहन अधिकारी' नामक ग्रन्थ तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालद्वारा विमोचन भएको भोलिपल्ट आदरणीय कमरेड तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीको निवासमा म,  प्रिय मित्र विष्णु प्रभात, स्नेही भाइ काजीलाल  फुयाँल प्रकाशित ग्रन्थ उपहार प्रदान गर्नका लागि गएका थियौँ । उहाँलाई हामीले २ प्रति प्रकाशित ग्रन्थ उपहार दियौँ ।

हामीले सामूहिक फोटो खिचायौँ । आदरणीय कमरेड मनमोहन अधिकारीले सरल भाषामा भन्नुभएको थियो, 'मैले तपाईंलाई के गर्नुपर्छ ?'

मैले उहाँलाई खस्रो भाषामा भनेको थिएँ, 'तपाईंले मलाई केही गर्नका लागि यो ग्रन्थ तयार गरेको होइन । ग्रन्थ तयार गरेबापत खोजेको होइन । तपाईंप्रति हृदयदेखि नै सम्मान जागेर आएको र साथी तथा भाइहरूको प्रेरणा र सहयोगबाट यो सम्भव भएको हो ।'

हामी तीनै जनालाई ढाडमा स्नेहपूर्ण थपथपाउनुभएको भयो उहाँले । चिया पियाएर हामीलाई गेटसम्म पुर्‍याएर हामीसँग स्नेहपूर्ण हात मिलाएर बिदावारी गर्नुभएको थियो ।

जबजब पूर्व कोसीको इटहरीमा तत्कालीन रमेश विष्टको नेतृत्वमा म, शेरबहादुर भुजेल, मधु रिमाल, वसन्त सुवेदी (पछि आवद्ध प्रमोद श्रेष्ठ (भोटु) र आदरणीय कमल कोइरालाले मधेलीमा मलेच्छी चौधरीको घरमा हामीलाई राष्ट्र र राष्ट्रियता कम्युनिस्ट आचरण कम्युनिस्ट पार्टीको निर्माणबारे तथ्यगत कुरा राख्नुभएको सम्झना अझै छ । यी माथिका प्रसंग उठाउनुको मतलब हामीमाझका साथीहरू त्यस विरासतबाट आएका हौं । ती गौरवमय विरासतलाई जोगाउँदै अघि बढ्नुपर्छ । यो आदर्श विरासतलाई पछ्याउनु हामी सबैको नैतिक दायित्व हो ।

विराट साहित्य संगमको निर्माणमा आदरणीय बलराम पोखरेल, आदरणीय नारायणप्रसाद आचार्य, आदरणीय केशव आचार्य आदिसमेतको यसमा बौद्धिक शारीरिक तथा आफ्ना अध्ययन तथा व्यावहारिक पक्षका उच्च सीपहरूले यसलाई सजाउँदै लगेको सत्यलाई पनि छर्ल्याङ्ग्याउन चाहन्छु ।

विराट साहित्य संगममा उठेका कुरा

विराट साहित्य संगमलाई प्राप्त पुरस्कारका स्रोतसम्बन्धी कुराहरू उठेका छन् । विराट साहित्य संगमले प्राप्त पुरस्कार राशिलाई व्यवस्थित गर्नुपर्छ । पुरस्कारको राशिले विराट साहित्य संगमलाई प्रभावित गरिनुहुँदैन । विराट साहित्य संगमकै एक सदस्यले भन्नुभयो, 'वाणी प्रकाशनले पुरस्कार दातासँग विचार, विमर्श गर्ने गर्थ्यो । नत्र दाताले १.१ लाख किन दिनु ? भोलि कुनै तस्कर, देशद्रोहीले म १० लाखको पुरस्कार स्थापना गर्छु, मैले भनेका व्यक्तिलाई पुरस्कारको व्यवस्थापन गरिनुपर्छ भनेर भन्दा त्यो हाम्रालागि मान्य हुन्छ ?'

वाणी प्रकाशन यसबेला कहाँ छ ? त्यो जीवित छ ? दाताको इच्छाएको व्यक्तिलाई पुरस्कारको पाटो विराट साहित्य संगमले बेहोर्नुपर्ने ? विराट साहित्य संगमको  व्यानरमा पुरस्कार दिने भन्दैमा भ्रष्टाचारी व्यापारी, भ्रष्टाचारी नेता, भ्रष्टाचारी कर्मचारी तथा देशद्रोहीहरूको पुरस्कारको नाममा हामीले उनीहरूलाई चोख्याउनुपर्ने ? विराट साहित्य संगमको नैतिक उचाइसँग यो मेल खान्छ ? विराट साहित्य संगममा आउने तथा विराट साहित्य संगमद्वारा दिइने पुरस्कार पनि ती व्यक्तिहरू निश्छल, देशभक्त, इमान्दार नेपाली नागरिक हुनु अनिवार्य छ । विराट साहित्य संगमले पुरस्कारको मापदण्ड तथा प्रवर्द्धन गर्ने हो । पुरस्कारदाताको प्रवाहले विराट साहित्य संगम प्रवाहित हुने होइन । पुरस्कार दाताको प्रवाहमा संस्था प्रवाहित हुनुहुँदैन ।

विराट साहित्य संगमलाई हामीले देशभक्त, नेपाली तथा जुनसुकै व्यक्ति जुनसुकै पार्टीमा आवद्ध भएको किन नहोस्, उसमा साहित्यिक प्रस्फुटन छ भने उसलाई हामीले अँगालो हाल्ने गरेका छौँ । विराट साहित्य संगमलाई आर्थिक सहयोगको नाममा जे जस्तो किसिमको रकम भित्र्याउने कुराको हामीले लिनुहुँदैन । त्यस किसिमका स्रोतहरूलाई बन्देज गरिनुपर्छ ।

अपराधी चरित्र, देशद्रोही भावनालाई प्रज्ज्वल गर्ने, बामपन्थी विचारप्रति बदलाभाव लिने किसिमबाट आएका स्रोतहरूलाई रोक लगाउनुपर्छ । विराट साहित्य संगम मार्क्सवादी विचारको मिहिन तरिकाबाट यसको रक्षार्थ गर्नु विराट साहित्य संगम परिवारको नैतिक दायित्व पनि हो ।

विराट साहित्य संगम परिवारका एक सदस्यले मलाई इंगित गर्दै भन्नुभएको थियो । तपाईंको लेखन भारतको विरोध गर्नुबाहेक तातो न भुत्लोको लेख लेख्नुहुन्छ ?

तपाईंलाई मेरो जबाफ छ, तपाईं सम्भ्रान्त परिवारबाट आउनुभएको हो । तपाईंलाई दुःख भन्ने कुरा थाहा छैन । तपाईंले कहिले आर्थिक दरिद्रता बेहोर्नुभएको छैन । तपाईंको बाल्यकाल रेशमी पहिरनमा बित्यो । मलाई भन्नुहुन्छ भने इटहरी स्कुलमा पढ्दा ८ कक्षासम्म खाली खुट्टा हिँडेर जान्थेँ । ९ कक्षामा पढ्न थालेपछि बल्ल बुबाले चप्पल किनिदिनुभएको थियो । २ दिनपछि मात्र चप्पल लाउन जान्ने भएको थिएँ । म त्यो विरासत हुँदै हुर्केको हुँ ।

जबजब भारतले सिक्किमलाई आफ्नो २२औँ राज्यमा समाहित गर्‍यो । त्यसबेला म कति रात सुतिनँ । हाम्रो राष्ट्रलाई पनि निल्ने भयो । हाम्रो राष्ट्र झण्डा पनि नराख्ने भयो, यो छिमेकीले भनेर कति रात छट्पटीमा बितेको थियो । त्यसैले चोट खप्न नसकेर यो कविता लेखे । त्यसबेला म तरहरा आँपगाछीमा बस्थे ।

विराट साहित्य संगमद्वारा स्थापित पुरस्कारको स्वतन्त्रता तथा प्रभावमा दाताहरूको संलग्नतालाई तथा पुरस्कारमा दाता परिवारको नैपथ्य संलग्नतासमेतलाई ध्यान दिनुपर्छ । दाताहरूको हस्तक्षेपलाई शून्यतामा झार्नुपर्छ । विराट साहित्य संगमद्वारा स्थापित पुरस्कारले प्राप्तकर्ता स्रष्टाले गर्वबध महसुस गर्नुपर्छ ।

मेरी छोरी कल्पना २०३० सालमा जन्मिएकी हुन् । उनलाई ९ वर्षीया उमेर बढाएर प्रतीकको रूपमा यो कविता लेखेको थिएँ । यो कविता तत्कालीन 'मातृभूमि'मा ८ मंसिर २०३१ मा प्रकाशन भएको थियो । जस्ताको तस्तै यहाँ प्रस्तुत गर्छु ।

नौ वर्षीया !
मेरी छोरी कल्पना विश्वको मानचित्रमा
औँल्याउँदै भन्छिन्
बुबा ! नेपाल कहाँ पर्छ ?

छोरी नेपाल यहाँ पर्छ
छोरी भन्छिन्- कति सानो देश
छोरीलाई भन्छु
- हाम्रो देशभन्दा सानो जो सिक्किम देश थियो
अहिले भारत भएको छ छोरी !

छोरी आश्चर्यका साथ पीर मान्दै भन्छिन्
- कतै हाम्रो देश पनि त्यस्तै भयो भने ?

हो मित्र ! २०३१ सालको कविता लेख्दाखेरिको अवस्था र आजको अवस्थामा धेरै समय बगेको छ । भारतले नेपालमाथि यतिबेला लिपुलेक, लिम्पियाधुरा, कालापानी सबै लुटेर लगेको छ । हामी मौन बसिरहने मित्र ? देश लुटिरहँदा पनि भारतको विरोध नगर्ने ? हाम्रो स्वाभिमान छैन ? हामी नेपाली होइनौँ ?

तपाईंलाई सम्झना होला- भारतका तत्कालीन प्रधानमन्त्री पीवी नरसिंह रावको समयमा नेपालका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको भारत भ्रमणको समयमा सन् १९५० को सन्धि खारेजीका लागि पहल गर्न सुझाव दिनुभएको थियो । उहाँको त्यो अनुरोधलाई भारतले सुन्यो ? नेपालका अन्य प्रधानमन्त्रीहरूले यसलाई निरन्तरता दिए ?

मित्र ! मैले के भनेर सम्झाउनु मेरी छोरीलाई ? कविता लेखेको पनि ४६ वर्ष बितेछ । समय कति चाँडो चिप्लिएको छ । मेरो कविताले आजसम्म न्याय पाएको छैन । मेरो देशले न्याय नपाउञ्जेल मेरो देशले स्वतन्त्रपूर्वक, आत्मस्वाभिमानपूर्वक बाँच्न नपाउञ्जेल, म जीवित हुञ्जेल मेरो देशको मुक्तिका लागि कलम चलाइरहनेछु ।

मलाई थाहा छ- विराटनगरस्थित भारतीय राजदूतावासको शिविर हुञ्जेल भारतीय स्वतन्त्रता दिवस समारोहमा तथा त्यहाँबाट आयोजित अन्य कार्यक्रमहरूमा तपाईं त्यहाँ घाँटी रसाउन छिर्ने गर्नुहुन्थ्यो । त्यहाँ घाँटी रसाएर मेरो राष्ट्रियताप्रति भारतको विरोध गरिएको कुरामा तपाईंको मनमा कत्रो आक्रोश रहेछ, त्यो मलाई पोख्नुभयो । यसरी पोख्नुभएकाले तपाईं कुन पट्टि ? भारतको विरोध गर्नु भनेको तपाईंले आफ्नो मानमर्दन भएको सम्झनुभयो । विराट साहित्य संगमको बैठकमै ओकल्नुभयो ।

मित्र ! विराट साहित्य संगमप्रति तपाईंले धेरै गुण लगाउनुभएको छ । विराट साहित्य संगमले आज जुन अग्रगति पाएको छ, यसमा तपाईंको जस निकै छ । तपाईंको यो पाटोलाई सकारात्मक लिएको छु । यो सत्य प्रकट गर्न म हिचकिचाउँदिनँ । तपाईंले २ कुरामा एक रोज्नुपर्नेछ- विराट साहित्य संगमलाई राष्ट्रिय धारमा हिँडाउने कि भारतीय परस्त, भारतीय थिचोमिचोको जयगान गाउनुपर्ने ?

भारतले यसबेला गरिरहेको अतिक्रमणविरुद्ध चुँसम्म नबोल्नुले के चाहनुहुन्छ, त्यो स्पष्ट हुनुपर्छ । तपाईंले आफ्नो कित्ता अब प्रष्ट गर्नुपर्छ ? मलाई लाग्छ, देशभन्दा ठूलो र देशभन्दा प्रिय अन्य हुन सक्दैन । यो अहंलाई स्वीकार्नुहोस् । आफूलाई साँचो राष्ट्रवादी धारमा समाहित गर्नुहोस् । तपाईंको आलोचना गर्नु तपाईंको विरोध गर्नु होइन । तपाईं जस्ता व्यक्तिहरूले आफूमा भएको विकारलाई फ्याँकेर राष्ट्रप्रति मनैदेखि आफूलाई समर्पित गर्नुहोस् ।  

विराट साहित्य संगम प्रयोग थलो होइन

विराट साहित्य संगम एक जिम्मेवार व्यक्तिले वाणी प्रकाशनको उपमा दिएर भन्नुभयो । त्यस उपमाबमोजिम विराट साहित्य संगमलाई प्रयोगको थलो बनाउनुहुँदैन । वाणी प्रकाशन यसबेला कुन अवस्थामा छ, त्यसको स्थितिबाट अभिव्यक्त गर्ने व्यक्ति अज्ञान हुनुहुन्छ र ? दाताहरूद्वारा निर्देशित विराट सहित्य संगम होइन । दाताहरू पनि देशभक्त, भ्रष्टाचारविरोधी, राष्ट्रप्रति समर्पित हुनुपर्छ । ती गुणमध्ये एउटा मात्र कमी छ भने हामीले ती आउने रकमलाई तिरस्कार गर्न पनि सक्नुपर्छ ।

विराट साहित्य संगमको आचारसंहिता बनाएर ती दाता सहयोगीहरूलाई मार्गनिर्देशन हामीले गर्नुपर्छ । ठूलो धनराशि प्राप्त हुन्छ भने पनि विराट साहित्य संगमको आचारसंहितामा ऊ समाहित हुनुपर्छ । अवैध सम्पत्ति, देशघाती, भ्रष्टाचारीहरूद्वारा चोख्याउनका लागि दिइने पुरस्कारको राशिलाई हामीले अस्वीकार गर्नुपर्छ । विराट साहित्य संगम ती आर्थिक अपराधीहरूको प्रयोग थलो पनि होइन भन्ने कुरा बुझ्न जरुरी छ ।

विराट साहित्य संगमद्वारा स्थापित पुरस्कारको स्वतन्त्रता तथा प्रभावमा दाताहरूको संलग्नतालाई तथा पुरस्कारमा दाता परिवारको नैपथ्य संलग्नतासमेतलाई ध्यान दिनुपर्छ । दाताहरूको हस्तक्षेपलाई शून्यतामा झार्नुपर्छ । विराट साहित्य संगमद्वारा स्थापित पुरस्कारले प्राप्तकर्ता स्रष्टाले गर्वबध महसुस गर्नुपर्छ ।

विराट साहित्य संगमले पनि साहित्यप्रति निष्ठा तथा स्रष्टाको मानव जातिको उत्थानका लागि स्रष्टाले गरेको योगदानलाई चिरस्थायी बनाउनु आफ्नो तर्फबाट खेल्ने भूमिकाप्रति गर्वबोध हुनुपर्छ । स्रष्टालाई समेत गर्वबोध गराउनतर्फ विराट साहित्य संगम परिवारको जिम्मेवार भूमिका स्तुत्य हुनुपर्छ ।

यो मुलुक लिच्छवीकालीनताका यसको संस्कृति वैभवता निकै उच्च थियो । तत्कालीन विश्वमा देशदेशमा मुद्राको चलन चलेका बेला यसको आफ्नै लोकप्रियता संस्कृतिको धरोहरको रूपमा स्थापित थियो । यसको वैभवको जयगान हुन्थ्यो ।

भारतद्वारा समयसमयमा अतिक्रमण बढिरहेको छ । हाम्रो भूमि खुला रूपमा भारतद्वारा लुटिइरहेको छ । हामीले सरकारलाई दबाब दिएर, संयुक्त राष्ट्रसंघ समक्ष किन उजुर गर्दैनौँ ? स्पष्ट छ- सरकारभित्रको राष्ट्रविरोधीको सञ्जालले गुमराह गरिरहेको छ । भारतीय स्वार्थमा समाहित हुने विभिन्न पार्टीका गठजोडका कारण उजुरसम्म दिइएको छैन । भारतीय गिद्देदृष्टि झन्‌झन् उग्र रूपमा बढिरहेको छ ।

देश यसबेला संकटग्रस्त अवस्थामा गुज्रिरहेको छ । विराट साहित्य संगमले आफ्नो देशको अस्तित्व रक्षार्थ, हाम्रो वैभव संस्कृतिको उत्थानका लागि, भारतीय थिचोमिचोको विरुद्ध हामीले अन्तरआत्मादेखि कलमलाई अझ सशक्त रूपमा प्रयोग गर्नुपर्छ । भारतीय साम्राज्यवादको विरुद्धमा देशवासीप्रति राष्ट्रिय जागरणको विगुललाई अझ फुकौँ ।

राष्ट्र र राष्ट्रियता सम्वर्द्धनका लागि हामीले आफ्ना कलमलाई अझै तिखार्दै जा‍औँ । भारतीय विस्तारवादका विरुद्ध शंखघोष गर्दै राष्ट्रियता सम्वर्द्धनका लागि हातेमालो गरौँ । राष्ट्र रहे मात्र हामी रहन्छौँ । यो उद्घोषणलाई नेपालभरि घन्काऔँ ।

विराट साहित्य संगम एउटा साझा चौतारी हो । माओत्सेतुङले भन्नुभएको थियो, 'सयौँ फूलहरू तँ छाड म छाड गरेर फुल्न देऊ ।' विराट साहित्य संगम विभिन्न विचारधाराको साझा चौतारीको रूपमा विकास गरेका छौँ । विभिन्न विचारहरूलाई प्रस्फुटन हुन दिएका छौँ । यस मुलुकमा बसोबास गर्ने जो कोही भए पनि हामीले भन्ने गरेका छौँ- माटोप्रति वफादार तथा समर्पित हुनुपर्छ ।

यहाँको माटो, यहाँको संस्कृति, यहाँको राष्ट्रियताप्रति छेडखानी गर्ने, राष्ट्रियताप्रति तिरस्कार तथा देशप्रति घात गर्ने तथा विभिन्न बहानामा राष्ट्रप्रति अविश्वास र धोखाधडी तथा राष्ट्रलाई नोक्सानी पुर्‍याउने कार्यका लागि कसैलाई प्रोत्साहन गर्नुहुँदैन । राष्ट्रघाती स्वरहरू, देशप्रति घृणा गर्ने, यहाँस्थित विभिन्न सम्प्रदायका जातिप्रति अपमान गर्ने कार्यलाई निरुत्साह गरिनुपर्ने कुरामा सबैको एउटा विचार हुनुपर्छ ।