‘जनपक्षीय कार्यबारे सुसूचित गर्नुपर्छ’

‘जनपक्षीय कार्यबारे सुसूचित गर्नुपर्छ’

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २०, २०७९

नेकपा (एकीकृत समाजवादी)ले गरेका जनपक्षीय कार्यका बारे सर्वसाधारण नागरिकलाई सुसूचित गर्नुपर्नेमा जोड दिइएको छ । पार्टीअन्तर्गत बाग्मती प्रदेश प्रचार विभागले आयोजना गरेको अन्तर्क्रियामा नेकपा एस स्थापना गर्नुपरेको कारणको यथार्थ प्रचार गर्नुपर्नेमा सहभागी वक्ताले सुझाए ।

पार्टीका उपाध्यक्ष एवं बाग्मती प्रदेश इन्चार्ज केदार न्यौपानेले मुलुकमा वर्तमान राजनीतिक व्यवस्थाका साथै संविधानको रक्षार्थ आफ्नो दलले निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाको ‘झूट प्रचार’ भइरहेकाले त्यसको खण्डन गर्नुपर्ने बताए । 'जनपक्षीय कार्यबारे सबैलाई सुसूचित गर्नुपर्छ', उनले भने ।

बाग्मती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसालले स्थानीय निर्वाचनमा गठबन्धनको साझा उम्मेदवार विजय गराउनुपर्नेमा जोड दिँदै पार्टी र प्रचार विभागबीच समन्वयको खाँचो औँल्याइन् । प्रचार विभाग प्रमुख वसन्त मानन्धरले आसन्न निर्वाचनमा आफ्नो प्रदेशमा पार्टीका उम्मेदवारलाई विजयी गराउन घोषणापत्रलाई स्थानीय संचार माध्यममार्फत प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए ।

पार्टी प्रचार विभाग सदस्य नवराज अर्याल, समाजवादी प्रेस संगठनका उपाध्यक्ष नवराज छत्कुली र संगठनका कोषाध्यक्ष कृष्णराज गौतमले गठबन्धनका साझा उम्मेदवारलाई सफल बनाउन संयुक्त रूपमा हुने प्रादेशिक गतिविधिलाई उपयोग गर्दै स्थानीय जनताको समस्या समाधानार्थ अग्रसर हुनुपर्नेमा जोड दिए ।