हरिविनोद अधिकारी | दृष्टिकोण | बैशाख ३१, २०७९
प्रसङ्ग निर्वाचनको ! पहिलेको सम्झनामा यसो फर्केर यथार्थ तर काल्पनिक समयमा भ्रमण गर्दा कहिले मतदानको पहिलो प्रयोग गरेँ हुँला भन्ने ठ्याक्कै याद किन आउँदैन भने त्यो बेलामा २१ वर्षमा मात्र मतदान गर्ने अधिकार पाइन्थ्यो र हाम्रो लागि पञ्चायतको निर्वाचन त्यति चासोको विषय पनि हुँदैनथ्यो तर हाम्रो गाउँमा सधैँ जसो निर्विरोध हुने र दलीय रुपमा भन्दा निर्दलीय स्वरुपमा निर्वाचनको तरिका थियो किनकि त्यो बेलामा दलीय क्रियाकलाप प्रतिबन्धित थियो ।
२१ वर्ष पुगेपछि नाम चाहिँ छ भन्ने थाहा थियो किनभने हाम्रो गाउँमा हामीले पार्टी प्रतिबन्ध भएको जस्तो मान्दैनथ्यौँ, कारण थियो कांग्रेसप्रति समर्थन गर्नेको संख्या उल्लेख्य थियो । पछिमात्र कम्युनिस्ट साथीहरुको उपस्थिति देखियो । हामी गाउँमा जम्मा भएर कुरा गर्दा दलीय हिसाबले भन्दा गाउँको विकासका कुरा गर्थ्यौ । तै पनि निर्वाचनको बेला भएपछि भने कुन उम्मेदवारलाई पाका मानिसहरुले छानेका छन् भनेर नाम चाहिँ बुझ्थ्यौँ र कुन उम्मेदवारलाई कसरी मिलाउने भन्ने बारेमा युवाहरुका बिचमा गोप्य छलफल गरेर सम्बन्धित व्यक्तिलाई उहाँहरुसँग मिलेर सदस्यको रुपमा उठ्न सुझाउँथ्यौँ ।
ग्वाल्टारमा नै तीनवटा वार्ड थिए जसमा ३ नम्बर वार्डमा भने हामीले जसलाई भन्यो त्यसैलाई सदस्य बनाउने उदारता पाका नेताहरुले देखाउनु हुन्थ्यो । जो जो उठाइन्थे , ती सबै सहमतिमा हुने हुनाले सकेसम्म जातीय समावेशी रुपमा भने हुन्थ्यो तर महिलाको बारेमा न त उठ्नेहरू नै भन्न आउँथे, न त महिलाहरुलाई उम्मेदवार हुनका लागि वास्ता नै गरिन्थ्यो ।
यसको कारण थियो, अलि अलि चासो लिने महिलाहरु गाउँबाट बिबाह भएर बाहिर गएका हुन्थे अनि बुहारीहरूलाई गाउँमा त्यसरी समायोजन हुने मौका नै थिएन जस्तो छ । त्यसैले हामीले जानेको महिला नेताहरुका,जागरुक महिला समाज सेवीहरूमा हाम्रो गाउँठाउँमा तारादेवी दिदी हुनुहुन्थ्यो भने सिन्धुली जिल्ला भरिमा चाहिँ भद्रा घले, उहाँकी आमा भक्त कुमारी घले र भद्रा दिदीकै बहिनी दुर्गा घले हुनुहुन्थ्यो ।
कतिसम्म भने उहाँहरुले महिलालाई जागरुक बनाउनु भएको थियो भने पञ्चायत कालमा नै आम्बोटे भन्ने ठाउँमा प्रधानपञ्च, उप प्रधानपञ्च र नौवटै वार्ड अध्यक्ष र अरु वार्ड सदस्यहरु सबै गरी ४७ वटा पदमा नै महिलाहरुलाई निर्वाचित गराउनु भएको थियो भद्रा दिदीले । उहाँलाई पञ्चायती व्यवस्थाको खम्बाको रुपमा मानिए पनि त्यो बेलामा हाम्रो जनकपुर अञ्चलमै समाज रुपान्तरणको प्रतीक मानिनु हुन्थ्यो र समाजसेवाका लागि आजीवन बिबाह नगरिकनै बस्नुभएको छ ।
आफ्नो व्यक्तिगत सम्पत्तिसमेत महिला हितमा र जनताको हक अधिकारका लागि खर्च गर्ने दानवीरका रुपमा त्यो घले परिवारलाई लिइन्छ जबकि उनीहरुको परिवार धनी जिम्दारको रुपमा गनिन्थ्यो र पनि । उहाँहरुको पटवारीको रुपमा मेरा भिनाजु नीर प्रसाद भण्डारी हुनु हुँदो रहेछ पहिले । मेरी माहिला बाकी छोरी हाम्रो परिवारकी जेठी चन्चा दिदीले हामीलाई घले परिवारको कथा, जुन दन्त्यकथा जस्तै लाग्थ्यो , भन्नुहुन्थ्यो ।
ती सबै कथा सकारात्मक समाज रुपान्तरणका पक्षमा थिए र महिलाहरुको नेतृत्वमा गाउँको विकास कसरी सम्भव हुनसक्छ भन्ने उदाहरणको रुपमा लिन सकिन्थ्यो । सिन्धुलीको विकट गाउँमा पनि समाज सेवा मार्फत् महिला जागरणको त्यो बिगुल त्यो बेलामा फुक्नु पनि कम चुनौतीपूर्ण थिएन र महिला सशक्तीकरणको पक्षमा नयाँ कदम चाल्नु पनि कम खतरा जनक थिएन तर त्यो समाजले घले परिवारको नेतृत्वलाई खासै चुनौती दिएको पनि थिएन र सबै जातका महिलाहरुलाई विकासको मूलप्रवाहमा लैजाने कोसिस थियो भन्ने हामी सुन्थ्यौँ ।
यसमा गान्धी आश्रममा शिक्षा लिएकी भद्रा दिदीमा जुन महात्मा गान्धीको समाज रुपान्तरणको शिक्षाले ठुलो काम गरेको थियो भनिन्छ र यसमा छोरीलाई आफ्नो सम्पत्तिको सदुपयोग गरेर समाजप्रति समर्पण हुन भक्त कुमारी आमाको योगदान थियो भन्न कन्जुस्याइँ गर्नुपर्ने छैन ।
सिन्धुली जिल्लामा आदर्श गाउँ पञ्चायत मानिने भुवनेश्वरी गाउँ पञ्चायतमा महिलाको सहभागिता कम थियो तर साधारण जनताको सहभागिता हुन्थ्यो र विकासको गति तीब्र मानिन्थ्यो अनि कृषि तथा फलफुलको उत्पादन उल्लेख्य हुन्थ्यो भने आम्बोटेमा महिलाको सक्रियताले विकासले गति लिएको थियो ।
विदेशको कूटनीतिक सेवामा रहेका मानिसहरुको अधिकारको सुरक्षा कसरी गर्ने हो ? त्यसको लागि अरु देशमा प्रयोग भइसकेको एकहप्ता अघिदेखि नै खुला गरिने हुलाक मार्फत् मतदान, सूचना प्रविधिको प्रयोग गरेर इन्टरनेटको प्रयोगमा गरिने मतदानले त्यसको समाधान निकाल्न सक्छ तर विद्युतीय मत पेटिकामा समेत विश्वास नहुने हाम्रा राजनीतिक दलका प्रविधिमैत्री मानिने प्रजातान्त्रिक तथा प्रगतिशील नेताहरुलाई इन्टरनेटप्रति झन कति विश्वास होला र ?
पुरुषहरुको सहभागिता थियो होला तर भक्त कुमारी आमा र भद्रा दिदी, दुर्गा दिदीको सक्रियताको बढी चर्चा हुन्थ्यो । यी दुवै गाउँ पञ्चायतमा निर्विरोध चयन गरिन्थ्यो भन्ने कुराको एकरुपता देखिन्थ्यो भन्ने भनाइ छ ।
बिस्तारै निर्वाचनमा परिवर्तन हुन थाल्यो, बहुदलीय प्रतिस्पर्धामा दलीय प्रतिस्पर्धा हुन थाल्यो । पहिलेको जस्तो विकासको कुरामा भन्दा दलीय पक्षधरताको लागि निर्वाचनमा सहभागिता हुन थाल्यो । आखिर मतदानद्वारा किन निर्वाचनको परिणामको अन्तिम फैसला मानिन्छ त ? किनभने अहिलेसम्मको प्रजातान्त्रिक तरिकाले राजनीतिक निर्णय लिनका लागि सहज र वैधानिक प्रक्रिया भनेको निर्वाचनको आधार नै हो ।
तर निर्वाचनको तरिका भनेको आफ्नो आफ्नो देशमा फरक फरक तरिकाले व्याख्या गरिन्छ र त्यसैलाई स्वीकार गरिन्छ । जस्तो कि संयुक्त राज्य अमेरिकामा राष्ट्रपतिको निर्वाचनमा फ्रान्समा जस्तो बढी चर्चित मत ल्याउने व्यक्तिलाई राष्ट्रपति निर्वाचित भएको मानिँदैन । त्यहाँ समग्रमा वहुमत ल्याउँदा विजयी घोषणा गरिँदैन, एलोक्टोरल कलेजको मतका आधारमा जय र पराजयको घोषणा गरिन्छ । अर्थात् कुनै राज्यको एलोक्टोरल मत यति हुने भनेर पहिले नै तोकिएको हुन्छ , जसले सबैभन्दा बढी मत ल्याउँछ, त्यसको पोल्टामा सबै एलोक्टोरल मत जान्छ । त्यहाँ प्राप्त लाखौँ मतको कुनै मूल्य हुँदैन ।
त्यसमा सुधार गरिनु पर्छ भन्नेमा युवा अमेरिकीहरुमा चासो बढ्दैछ किनभने चर्चित मत ३० लाखभन्दा बढी मत पाउँदा पनि निर्वाचन कलेजको मत कम भएर हार्ने राष्ट्रपतिका उम्मेदवारहरूमा हिलारी क्लिन्टन पछिल्लो उदाहरण हुन् । २०१६ मा डोनाल्ड ट्रम्पको जम्मा मत हिलारी क्लिन्टनको भन्दा ३० लाख कम भए पनि निर्वाचन कलेजको मतले ट्रम्प विजयी भएका थिए ।
एउटा उदाहरण दिउँ, यदि कुनै राज्यमा निर्वाचन कलेजका लागि १५ स्थान छुट्याइएको छ, त्यहाँ २०लाख जनसंख्या छ , जसले ५०प्रतिशत भन्दा बढी मत ल्याउँछ , त्यसको पोल्टामा एलोक्टोरल कलेजको १५ मत सबै जान्छ । अर्कोले ल्याएको ८लाख मत भए पनि त्यसको गणना गरिँदैन । त्यसैले अमेरिकामा निर्वाचनमा सुधार सुरु गर्नुपर्छ भन्ने व्यापक आवाज उठ्न थालेको छ । त्यहाँ निर्वाचनमा व्यापक सूचना प्रविधिको व्यापक प्रयोग गरेर मत दिने उपायमा जत्ति सुकै सुधार भए पनि आधारभूत मानव अधिकारको हनन भएको भनेर मतदाताहरुको गुनासो बढेको छ र अब निर्वाचन कलेजको सट्टा ५० प्रतिशतभन्दा बढी मतको आधारमा जय पराजय मान्नु पर्ने भन्ने आवाज उठेको देखिन्छ ।
नेपालमा निर्वाचनको इतिहास २००४ सालबाट सुरु भएको हो र पछिल्लो निर्वाचन भनेको २०७९ साल वैशाख ३० गते भएको ७५३स्थानको निर्वाचन हो । कसले कति स्थानमा निर्वाचन जित्यो भन्ने कुरा आन्तरिक राजनीति हो । निर्वाचन प्रक्रियामा यी ७५ वर्षमा व्यापक सुधार भएको भए पनि अझै केही प्रश्नका उत्तरहरू अनुत्तरित छन् - नेपाल बाहिर रहेका नेपाली मतदाताहरुको अधिकार कसरी सुरक्षित गर्ने हो ? संघीय संसदको निर्वाचनमा समानुपातिकमा त अधिकारको सुरक्षा गर्न पाइएला, तर प्रत्यक्ष र स्थानीय निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षा निकायका सदस्यहरु र अत्यावश्यक सेवामा रहेका कर्मचारीहरुको मतदान गर्ने सार्वभौम अधिकारको कसरी सुरक्षा गर्ने हो ?
विदेशको कूटनीतिक सेवामा रहेका मानिसहरुको अधिकारको सुरक्षा कसरी गर्ने हो ? त्यसको लागि अरु देशमा प्रयोग भइसकेको एकहप्ता अघिदेखि नै खुला गरिने हुलाक मार्फत् मतदान, सूचना प्रविधिको प्रयोग गरेर इन्टरनेटको प्रयोगमा गरिने मतदानले त्यसको समाधान निकाल्न सक्छ तर विद्युतीय मत पेटिकामा समेत विश्वास नहुने हाम्रा राजनीतिक दलका प्रविधिमैत्री मानिने प्रजातान्त्रिक तथा प्रगतिशील नेताहरुलाई इन्टरनेटप्रति झन कति विश्वास होला र ?
तैपनि स्थानीय सरकारको निर्वाचनमा भन्दा संघीय र प्रादेशिक सदनको निर्वाचनमा स्थानीय सरकारको बेलामा देखिएका कमी कमजोरी हटाएर निर्वाचन प्रक्रियामा व्यापक सुधार गर्न र क्रान्तिकारी उपायहरु अपनाएर सबै मतदाताहरुको नामावली संकलन, दर्ता र लेखनमा स्वचालित प्रणाली अपनाउनु पर्छ र संसारको जुनसुकै कुनामा रहेको नेपाली नागरिकता लिएको र पासपोर्ट लिएर बाहिर गएको नागरिकले कुनै कोड मार्फत आफ्नो मत दिन सकोस् ।
एकै दिनमात्र मतदान गर्नुपर्छ भन्ने छैन तर एक दिनको व्यवस्थापनमा त समस्या हुन्छ भने धेरै दिनको मतपत्रको सुरक्षा गर्न झन समस्या होला । तर निर्वाचनमा गरिनुपर्ने सबैभन्दा सहज र छिटो गणनाका लागि विद्युतीय मतदान मेसिन नै अहिलेसम्म उपलब्ध तरिका हुनसक्छ जसको सुरक्षाका लागि कुनै उपाय अरु गर्नुपर्दैन ।
मैले आफ्नो पहिलो मतदान कहिले गरेँ भन्ने सम्झनामा आर आर कलेज जनकपुरको विद्यार्थी युनियनको निर्वाचन २०२७सालमा सर्वप्रथम मतदान सुरु गरेको हुँ । त्योबेलामा म १६ वर्षको थिएँ आइ कम मा भर्ना हुन जनकपुरको आर आर कलेजमा जाँदा । त्यसपछि दोस्रो वर्षको युनियनको निर्वाचनमा दोस्रोपटक मतदानको प्रयोग गरेको हुँ । क्रमशः