लोकसंवाद संवाददाता | समाचार | जेठ ०८, २०७९
खोटाङ । स्थानीय तहको निर्वाचनमा खोटाङका माझी समुदायबाट एकजना मात्र जनप्रतिनिधि चुनिएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये रावा बेँसी गाउँपालिका–३ लामीडाँडा माझी गाउँका सोमबहादुर माझी वडा सदस्यमा विजयी भएका हुन् । ३७ वर्षीय माझीले कांग्रेसका तर्फबाट ७०२ मत ल्याएर वडा सदस्य जितेका हुन् । पाँच वर्ष साउदी अरब बसेर दुई वर्षअघि गाउँ फर्किएका माझीले गाउँको सेवा गर्नका लागि जनप्रतिनिधि बनेको बताए ।
विगतमा कांग्रेसमा आस्था राख्दै आएका माझीले दुई वर्षअघि मात्र क्रियाशिल सदस्यता लिएका हुन् । ‘पाँच वर्ष विदेशमा बसेँ । अव विदेश जान्न यही ठाउँको सेवा गर्छु,’ माझीले भने, ‘पछि परेको समुदायको उत्थानमा समय खर्च गर्नेछु ’, लामीडाँडामा कांग्रेसका चार वडा सदस्य विजयी हुँदा वडाध्यक्षमा भने एमालेका बिरेन्द्र मगर निर्वाचित भएका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा लामीडाँडामा कांग्रेसबाट सोमबहादुर माझी नामको अर्कै उम्मेदवार वडा सदस्यमा विजयी भएका थिए । यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भँडारे घाटका ज्ञानबहादुर माझी कार्यपालिका सदस्यमा मनोनित भएका थिए । यसपटक भने सोमबहादुर माझी समुदायबाट एक्लो जनप्रतिनिधि बनेका छन् ।
जिल्लाको लामीडाँडा रभुँवा, घोपाटार, जयराम, भँडारे घाट, सानो भँडारे, रसुवा घाट, गोडुलीघाटलगायतका सुनकोसी र दुधकोसी किनारमा डुंगा चलाउने र माछा मार्ने पुर्खौली पेशा भएका माझी समुदायले राज्यबाट अवसर नपाएको गुनासो गर्दै आएका छन् ।