स्थानीय तह निर्वाचन : एमालेका ११ हजार ५ सय ९७ उम्मेदवार विजयी

स्थानीय तह निर्वाचन : एमालेका ११ हजार ५ सय ९७ उम्मेदवार विजयी

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ०९, २०७९

काठमाडौँ । निर्वाचन आयोगले मतगणना सम्पन्न भएका पालिकामा नेकपा एमालेका ११ हजार ५९७ जना उम्मेदवार विजयी भएको जनाएको छ । 

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उनीहरु प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा निर्वाचित भएका हुन् । 

आयोगले वैशाख ३० गते एकैदिन देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । कूल ३५ हजार २२१ पदको लागि भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए । 

उम्मेदवारी दिने मध्ये हालसम्म ३४ हजार २६९ जना निर्वाचित भइसकेका छन् । आयोगका अनुसार अब ९५२ जना उम्मेदवार विजयी भएको घोषणा गर्न बाँकी रहेको छ । 

एमालेको तर्फबाट उम्मेदवारी दिने मध्ये प्रमुखमा ७६, अध्यक्षमा १२३, उपप्रमुखमा १०१, उपाध्यक्षमा १२५, वडा अध्यक्षमा २०८४, महिला सदस्यमा २ हजार २८४, दलित महिला सदस्यमा २ हजार २३२ र सदस्यमा ४ हजार ५७२ जना विजयी बनेका छन् ।