लोकसंवाद संवाददाता | समाचार | जेठ १२, २०७९
नेपाल कम्युनिस्ट पार्टीहरूका लागि उर्वर भूमि रहँदै आएको छ । ७० प्रतिशतभन्दा माथि जनमत भएका कम्युनिस्ट पार्टीको अनुहार भने १० तिर फर्किएको छ ।
त्यसैको फाइदा उठाउँदै यस पटकको स्थानीय तहको निर्वाचनमा पनि नेपाली कांग्रेस फेरि एक पटक देशकै ठुलो राजनीतिक शक्तिका रुपमा पुनर्स्थापित भएको छ । कम्युनिस्ट पार्टीहरू वाद र विचार भन्दाभन्दै कति बेला जुट्छन् र कति बेला फुट्छन् टुङ्गो नभएको शक्तिका रुपमा स्थापित हुँदै आएका छन् ।
करिब चार वर्षअघि दुई ठुला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्र बिच एकीकरण भएर बनेको नेकपा केपी शर्मा ओलीको सत्ताको दम्भका कारण तीन टुक्रा बन्न पुग्यो । त्यसबाट पनि यस पटकको जनमत प्रभावित राम्रैसँग भएको पाइएको छ ।
चुनाव हारेपछि नौटङ्की
कम्युनिस्ट पार्टीको आम कार्यनीति चुनाव रहने गरेको छैन । तर नेपालका कम्युनिस्ट पार्टीहरूले चुनावमार्फत नै समाजवाद र साम्यवाद पुग्ने स्वैरकल्पना गरिरहेका छन् । यही चुनाव पनि हारेपछि कम्युनिस्ट पार्टीले बनाउने बहाना भने बढो रोचक हुन्छन् ।
२०६४ सालको संविधानसभा निर्वाचनमा पार्टी तेस्रो भएपछि तत्कालीन एमाले महासचिव माधवकुमार नेपालले पदबाट राजीनामा दिएका थिए । २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा पहिलोबाट एकै पटक तेस्रो बनेपछि माओवादीलाई पनि त्यो परिणाम स्वीकार्य भएन ।
त्यसैले उसले पत्रकार सम्मेलन गरेर नै धाँधली भएको र त्यसको छानबिन नभएसम्म संविधानसभामा नै नजाने घोषणा समेत गर्यो । पछि छानबिन गर्ने सहमतिको त्यान्द्रो समातेर माओवादी पनि दोस्रो संविधान सभाको परिणामलाई स्वीकार गर्यो । त्यसयता कहीँ कतै पनि माओवादीले त्यस बेला के भएको थियो र कसरी पार्टी हार्न पुग्यो भन्ने समीक्षा स सम्म गरेन ।
पार्टीभित्र आएको विभाजन र विचलन, सहर मुखी नेताका कारण चुनाव हारेको निष्कर्षमा पुग्न माओवादीलाई अझै फुर्सद मिलिसकेको छैन । त्यस बेला धाँधलीको नौटङ्की रचिए पनि पहिलो संविधानसभाको निर्वाचनमा पहिलो पार्टी भएर पनि कुशलतापूर्वक सरकार र संविधान निर्माणको नेतृत्व गर्न नसकेको, जनताबाट कटिँदै नेता मुखी बनेको सङ्गठनात्मक संरचना, हामी बाहेक अर्को शक्ति नै छैन भन्ने दम्भका कारण चुनाव हारेको यथार्थ माओवादीले आत्मसात् वा पचाउन सकेन ।
यी दुबै माग पूरा नहुँदै संसद्को अवरोध हटाउनु भनेको जनमतले पार्टी पराजित भएको संकेत थियो । यसअघि जारी राखेका दुराग्रहका कारण पार्टी पराजित भएपछि नयाँ कार्यनीति अपनाए पनि एमालेले अझै पनि त्यसलाई सहज रुपमा स्वीकार गर्नुको साटो एक सातामै बोली फेर्दै फेरि अन्तर्घातको बैसाखी टेकिरहेको छ ।
२०७४ को निर्वाचनमा कांग्रेस प्रत्यक्ष निर्वाचनमा पहिलोबाट तेस्रो पार्टी बन्यो । एमाले र माओवादी केन्द्रको गठबन्धनका कारण अधिकांश स्थानमा कांग्रेसका उम्मेदवारहरू पराजित भए । तर त्यस बेला पनि कांग्रेसले ठुला कम्युनिस्ट पार्टीको ठुलो जना धारका कारण चुनाव हारेको यथार्थ भन्दा पार्टीभित्र धोखा धडी र अन्तर्घातका कारण चुनाव हारेको निष्कर्ष निकाल्यो ।
यस पटक नेकपा एमालेले ठिक यही शैली अपनाएको छ । निकै लामो मौन अवधि तोड्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तर्घातका कारण धेरै स्थानीय तह गुमाउनुपरेको निष्कर्ष सुनाउन पुगेका छन् ।
ओलीले आफू सत्तामा बस्दा गरेको मनोमानी, सरकार प्रधानमन्त्रीले चलाउने हो भन्दै सिङ्गो पार्टीलाई बाइपास गरेर एकलौटी गरेका निर्णय, कम्युनिस्ट पार्टीमा भएका आलोचनालाई सहज रुपमा लिएर छलफल गर्नुपर्नेमा आरोप पत्र भन्दै पार्टी विभाजनका लागि तयार पारेको आधार, सत्तामा बस्दा देखाएको दम्भ, पार्टीका समकालीन र आफूभन्दा अगाडि पार्टीलाई नेतृत्व गरिसकेका वरिष्ठ नेताहरूमाथि गरेको हेला होचो र अपमान, त्यसबाट पार्टीमा आएको विभाजनजस्ता विषय अहिले एमालेले चुनाव हार्नका प्रमुख कारण हुन् भन्ने कुरा स्वीकार गर्न गाह्रो भइरहेको छ । एमाले अध्यक्ष ओलीका छुद्र बचन, विपक्षी नेताहरूमाथि प्रयोग गरेका दुर्वचन आदि कारणले एमाले पराजित हुन पुग्यो । तर एमालेले यो परिणामलाई पनि अस्वाभाविक रुपमा अन्तर्घातको लेपन लगाउने भरमग्दुर प्रयत्न गरिरहेका छन् ।
एक सातामै फेरिएको बोली
एमाले अध्यक्ष केपी ओलीले अन्तर्घातका कारण चुनाव हारेको दाबी गरिरहँदा उनको पार्टीको एक साता अघिको अभिव्यक्तिलाई स्मरण गर्नुपर्ने हुन्छ । स्थानीय तह निर्वाचन सकिएर धन्यवाद दिइसकेको एमालेले २०७० मा माओवादीकै तरिकाले नतिजा आफ्नो पक्षमा नदेखिएपछि भने १५ बुँदे विज्ञप्ति जारी गरेर चुनावको निष्पक्षतामाथि प्रश्न उठायो ।
१ जेठमा महासचिव शंकर पोखरेलले जारी गरेको वक्तव्यमा गठबन्धनका दलहरूले सत्ताको चरम दुरुपयोग गर्दा निष्पक्ष चुनाव हुन नसकेको निष्कर्ष समेटिएको छ । एमालेका कतिपय नेताहरूले चुनावमा धाँधली भएको भन्दै सर्वोच्च अदालतसम्म जान सक्ने चेतावनी समेत दिएका थिए । निर्वाचनको अन्तिम परिणाम आउन नपाउँदै एमालेले ३ जेठको संसद्को बैठकमा ९ महिनाभन्दा लामो समयदेखि जारी राखेको संसद् अवरोध पूर्ववत् अवस्थामा नै हटायो । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले संसद् अवरोध हटाउनेबारे छलफल गर्न बोलाएका सर्वदलीय बैठक समेत एमालेले बहिस्कार गर्दै आएको थियो ।
एमालेले संसद्को अवरोध हटाउनका लागि एकीकृत समाजवादीका सांसदहरू पदमुक्त गर्नुपर्ने वा सभामुख अग्नि सापकोटाले राजीनामा दिनुपर्ने अडान राख्दै आएको थियो । यी दुबै माग पूरा नहुँदै संसद्को अवरोध हटाउनु भनेको जनमतले पार्टी पराजित भएको संकेत थियो । यसअघि जारी राखेका दुराग्रहका कारण पार्टी पराजित भएपछि नयाँ कार्यनीति अपनाए पनि एमालेले अझै पनि त्यसलाई सहज रुपमा स्वीकार गर्नुको साटो एक सातामै बोली फेर्दै फेरि अन्तर्घातको बैसाखी टेकिरहेको छ ।
यदि अन्तर्घातबाट एमाले हारेको हो भने एक साताअघि भनेजस्तो राज्य शक्तिको दुरुपयोग गरेर एमाले हारेको भन्ने विज्ञप्तिको वैधता देखिँदैन । एउटा चुनाव हार्नका पनि एमालेका आन्तरिक कारण प्रमुख हुन सक्छन् । यदि एमालेले भनेजस्तै चुनाव हार्नुको बाह्य कारण प्रमुख हो भने कि त एक साताअघि भनेजस्तै सत्ता गठबन्धनको धाँधलीका कारण चुनाव हारियो भन्नुपर्यो । हैन भने आन्तरिक व्यवस्थापनको समस्या र अन्तर्घातका कारण चुनाव हारेको भन्नु उपयुक्त हुन्छ ।
यो पनि भएन भने यति प्रतिशत सत्ता गठबन्धनको धाँधलीका हारियो र यति चैँ अन्तर्घातका कारण हारियो भन्न सक्नुपर्यो । एउटै चुनाव हार्नका दुई प्रमुख कारण त हुँदैनन् । एउटा कारण प्रमुख हो भने अर्को निमित्त र सहायक कारण हो । एमालेले जसरी एक सातामै फरक फरक अभिव्यक्ति दिएको छ, त्यसबाट एमाले चुनावी परिणामबाट कति भयभीत छ भन्ने प्रस्ट संकेत गर्छ ।