घनेन्द्र ओझा | दृष्टिकोण | जेठ १३, २०७९
बिहीबारको संसद् बैठकमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले 'गज्जब'को मन्तब्य दिनुभयो । २ घन्टाभन्दा लामो मन्तब्यमा ओलीले 'अघाउँजी' कुरा राख्नुभयो । बडो चोटिलो र तेजिलो पाराले मन्तब्य दिने उहाँको खुबी पनि गज्जबकै रह्यो ।
केपी ओलीको बोलीका 'फ्यान' बालकदेखि वृद्धसम्म छन् । उनी सर्वसाधारणबीच उनको बोल्ने शैलीका कारण बढी परिचित छन् । सायदै नेपालका पूर्वप्रधानमन्त्रीहरूमा गाली धेरै खाएर सर्वसाधारणमा परिचित गिरिजाप्रसाद थिए भने उखान/टुक्का वर्षाएर र (कु)तर्क गरेर परिचित ओली नै हुन् । अरू पूर्वप्रधानमन्त्रीहरूको नाम सम्भवत: तिनका क्षेत्रका नागरिकलाई समेत थाहा छैन ।
उनै ओलीले बिहीबारको संसद् बैठकमा भर्खरै सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि बोल्ने क्रममा धेरै 'गहन' कुरा गर्नुभयो । ती सबै यस लेखमा उल्लेख गर्न सम्भव छैन । तर, पंक्तिकारलाई आश्चर्य लागेका २ वटा कुराबारे उल्लेख गरेको छु ।
ओलीले आफ्नो प्रधानमन्त्रित्वमा गरेको नयाँ नक्साको प्रसंग जोड्दै भारतले मिचेका लिम्पियाधुरा, लिपुलेक र कालापानी भूमि नेपालले प्राप्त गर्न नसक्नु वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारको 'कायरता' भएको बताउनुभयो । वास्तवमै उक्त क्षेत्र भारतद्वारा अतिक्रमित नेपाली भूमि भएको आधार पर्याप्त छन् । ती सबै आधारका आधारमै तत्कालीन ओली नेतृत्वको सरकारले 'जबर्जस्त' (भारतलाई 'बाल' नदिई) संसद्बाटै पारित गरेर उक्त भूमिसहितको नेपालको नयाँ नक्सा सार्वजनिक गरेको हो ।
त्यस कार्यबापत ओली र तत्कालीन सत्तापक्ष/प्रतिपक्ष सबैको जयजयकार भएकै हो । तर, त्यसको सम्पूर्ण जस ओली एक्लैले लिन प्रयास गर्दै ओलीले वर्तमान प्रधानमन्त्री देउवा र उनी नेतृत्वको सरकारलाई राम्रै 'दनक' दिनुभयो- 'कायर' भनेर ।
ओलीले केके बुझ्नुभएन भने, उक्त नयाँ नक्सा वर्तमान प्रधानमन्त्री नेतृत्वको तत्कालीन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका अन्य दलहरूको मतद्वारा मात्र संसद्बाट अनुमोदन भएको हो । यदि अन्य दलले अनुमोदन नगरेका भए ओलीको नाक फुल्ने थिएन आज ।
र, उक्त भूमि प्राप्त गर्न नसकेको भन्दै ओलीले देउवा र वर्तमान सरकारलाई 'कायर' अर्थात् भारतसँग 'छुलछुल' भएको बताउनुभयो । वर्तमान सरकारले यसबारे भारतसँग डराएरै कुनै पहल गर्न नसकेको उहाँको आशय थियो ।
तपाईंको विगतबारे धेरै जना राम्ररी जानकार छन् । तेह्रथुमदेखि झापा हुँदै बालकोट दरबारसम्मको यात्राका साक्षी जिउँदै छन् । १४ वर्षे जेलयात्राका बारेमा त तपाईंसँगै लामो समय जेल (तपाईंहरूकै शब्दमा 'होस्टेल') बसेकाहरू पनि जिउँदै छन् । उनीहरूसँग मैले पनि तपाईंका बारे लामा कुराकानी गरेको छु! अलिअलि तपाईंलाई उनीहरूका मार्फत चिनेको छु ।
अनि, प्रश्न त उहाँमाथि पनि जान्छ- प्रतिपक्षका रूपमा उक्त कामका लागि तपाईं र तपाईंको पार्टीले यसबीचमा के कस्तो पहल गर्यो ? के कति दबाब दियो वा सहयोग/सुझाव दियो सरकारलाई ? के नयाँ नक्सा जारी गरेपछि तपाईं र तपाईंको पार्टीको भूमिका र कर्तव्य पूरा भयो ?
जहाँसम्म 'कायर'को कुरा छ, के उक्त जग्गा प्राप्त गर्न भारतसँग 'बहादुरी' देखाउँदै पाखुरी सुर्किनुपर्ने ? कि अन्य कूटनीतिक पहलहरू गर्ने ? कूटनीतिक पहल झट्ट र तत्काल जादूगरले 'फु मन्तर' गरेजस्तो हो ?
ओलीज्यूले उक्त सन्दर्भमा संसद्मा चिच्याइरहँदा आमजनले सोचिरहेका थिए- आखिर उनी पनि त चुच्चे नक्सा सार्वजनिक गरेर पनि केही समय सत्ताकै नेतृत्वमा थिए । त्यसबेला केके पहल गरेका थिए त उक्त जमिन प्राप्त गर्न ?
अर्को 'महत्त्वपूर्ण' सन्दर्भ पनि जोड्नुभयो ओलीले बिहीबारको मन्तब्यमा । उहाँले आफ्नो र श्रीमतीको नामको सबै चल/अचल सम्पत्ति राष्ट्रका नाममा गरेको गर्वका साथ बताउँदै पूर्वप्रधानमन्त्रीहरूलाई पनि आफ्नो सबै सम्पत्ति आफूले जसरी नै राष्ट्रका नाममा गर्न चुनौती दिनुभयो र भन्नुभयो- 'के राष्ट्रका नाममा गरिदिन केपी ओलीले भ्रष्टाचार गरिदिनुपर्ने?'
क्या गज्जबको कुरा ! वास्तवमै नेता हुनु त यस्तो पो त ! कस्तो सारगर्भित भनाइ ! कस्तो राष्ट्रप्रेमी नेता ! एक कप चिया खुवाउन वा चन्दा माग्दै आउनेलाई १ रुपैयाँ दिनसमेत हात नलाग्ने नेताहरू भएको देशमा यस्ता पूर्वप्रधानमन्त्री, नेता पनि छन्, जसले आफ्नो र श्रीमतीका नाममा भएको सबै चल/अचल सम्पत्ति राष्ट्रका नाममा गरिदिएको छ ।
तर, प्रश्न नि- तपाईंको विगतबारे धेरै जना राम्ररी जानकार छन् । तेह्रथुमदेखि झापा हुँदै बालकोट दरबारसम्मको यात्राका साक्षी जिउँदै छन् । १४ वर्षे जेलयात्राका बारेमा त तपाईंसँगै लामो समय जेल (तपाईंहरूकै शब्दमा 'होस्टेल') बसेकाहरू पनि जिउँदै छन् । उनीहरूसँग मैले पनि तपाईंका बारे लामा कुराकानी गरेको छु! अलिअलि तपाईंलाई उनीहरूका मार्फत चिनेको छु ।
जेलबाट छुट्दा भुक्के चप्पलमा, पछि चुनाव लड्दा भुक्के चप्पलमा भएका तपाईंका त्यसबेलाका तस्बीर धेरैले देखेका छन् । जुत्ता किन्नसम्म नसकेरै त होला भुक्के चप्पल नै लगाउने बाध्यता !
र, यसबीचमा तपाईंले न खेती किसानी गर्न पाउनुभयो, न त जागिर खान वा कुनै व्यापार/व्यवसाय गर्न । १४ वर्षको ऊर्जाशील कमाउने उमेर जेलमै बिताउनुभयो । यति भनेपछि तपाईंको आर्थिक उपार्जनको बाटो रहेन करिब २०५१ सालसम्म ।
त्यसपछि तपाईं गृहमन्त्री हुँदै सत्तासँग कुनै न कुनै रूपमा टाँसिइरहनुभयो र निरन्तर सक्रिय राजनीतिमा हुनुहुन्छ । राजनीतिबाट त पैसा नकमिएला नि !
श्रीमतीको जागिर थियो रे ! नेपालको सरकारी जागिरेको आर्थिक हैसियत कतिसम्म हुन सक्छ ? तपाईंलगायत धेरैलाई थाहै छ । तपाईंको अहिले राष्ट्रका नाममा बकस गरेको तपाईं र तपाईंकी श्रीमतीको सम्पत्तिको स्रोत नखुली राष्ट्रले लियो भने त्यो राष्ट्रकै बदमासी हो । यसरी बिनास्रोतको सम्पत्तिलाई व्यक्तिका नामबाट राष्ट्रले लिनुहुँदैन । तर, प्रस्ट स्रोतसहितको सम्पत्तिलाई गज्जबले ससम्मान लिनु राम्रै हुन्छ ।
अनि, तपाईंको जागिर वा आम्दानीको स्रोत के हो, जसमार्फत यति धेरै सम्पत्ति जोड्नुभयो? भ्रष्टाचार वा अनियमितता नगरी यतिका सम्पत्ति कमाएको आधार बिहीबार संसद्मा चिच्याएर बोले जसरी नै सार्वजनिक गर्न सक्नुहुन्छ ?
कि पैतृक सम्पत्ति हो यो सबै ? (मैले माथि नै भनिहालेँ- तपाईंको शैशवकालदेखि तपाईं र तपाईंको परिवारलाई राम्ररी चिन्नेहरू जिउँदै छन् है!)
अथवा, श्रीमतीकै दाइजो वा पेवा नै भए पनि खुल्नुपर्छ नि स्रोत, होइन ? र, तपाईंले दिएको स्रोतबारे सम्बन्धित निकायले छानबिन र जाँच गरेर मात्र राष्ट्रका नाममा स्वीकार गरिनुपर्ने होइन र ?
यस कारण बाहिर दम्भी, आडम्बरी र आदर्शका गफ गरेजस्तो सजिलो हुँदैन आफैँमाथि अनेक प्रश्न उठेपछि । तपाईंमाथिका यी प्रश्नको जबाफ अपेक्षा गरेका छन् सर्वसाधारणले ।