विश्वविमोहन श्रेष्ठ: वामपन्थीमा छात्रवृत्ति, कांग्रेसीमा जागिर र दरबारियामा पदक नपाउने सर्जक !

विश्वविमोहन श्रेष्ठ: वामपन्थीमा छात्रवृत्ति, कांग्रेसीमा जागिर र दरबारियामा पदक नपाउने सर्जक !

आशिष पौडेल  |  अन्तर्मन्थन  |  जेठ १४, २०७९

२०३५ सालमा काठमाडौँ आएपछि रुसको छात्रवृत्ति खुल्यो । उहाँले निवेदन दिनुभयो । उहाँको नाम लिखित तथा अन्तर्वार्तामा एक नम्बरमा निस्कियो । सुटकेश किन्ने देखि सबै किसिमको तयारी भयो । तर, जाने बेला भइसक्दा पनि भरे भोलिको मात्र उत्तर आयो । जाने दिन टुंगो लागेन । 

त्यति खेर शिक्षामन्त्री पशुपनि शमशेर राणा हुनुहुन्थ्यो । म्याङलुङको गोविन्द मान श्रेष्ठलाई के भएको बुझ्न भनेपछि थाहा भयो उहाँको ठाउँमा अर्को मान्छे गइसकेको रहेछ । त्यस बेलका शिक्षा मन्त्रालयका सह–सचिवलाई गएर भन्दा यस पटक यस्तै भयो अर्को पटक तपाईँले अन्तर्वार्ता तथा जाँच दिनु पर्दैन भन्ने जवाफ आयो । 

एक वर्ष त्यसै बस्नु परेपछि उहाँले वाणिज्य सचिव राममणि मुडभरीलाई कामका लागि भन्नुभयो । उहाँ तेह्रथुमको सिडिओ भएर बस्दा राम्रो चिनजान भएको थियो । 

उहाँले नेबिको कम्पनीमा गएर गोरख बहादुर श्रेष्ठलाई भेट्न भन्नुभयो । जसलाई मेनजमेण्ट एशोसिएसन नेपाल (म्यान) ले पहिलो पटक असल व्यवस्थापकका रुपमा सम्मान पनि गरेको थियो । 

उहाँलाई नेबिकोमा लेखापालको रुपमा एक वर्ष काम मिल्यो ।  अर्को वर्षमा पनि उहाँको छात्रवृत्ति भएन । आलटाल मात्र भइरह्यो । 

त्यस बेला साहित्यिक वृत्तमा उहाँको राम्रो उठबस थियो । मदनमणि दीक्षित माड्सापसँग पनि राम्रो थियो सम्बन्ध । त्यस बेला ईश्वर वल्लभले अहिलेका राम्रा कवि भनेर उहाँको नाम एक नम्बरमा राखेर लेख्नु पनि भएको थियो । 

मड्सापले उहाँलाई रसियन दूतावासमा लिएर गएर बुझ्दा त्यस वर्ष पनि उहाँको नाममा अर्को मान्छे गइसकेको भन्ने जवाफ आयो । यसमा पठाउने जिम्मा सरकारको भएको हुँदा दूतावासले यसमा हामीले केही गर्न सक्दैनौं भन्यो । 

त्यसपछि उहाँ फेरि गोविन्दमान श्रेष्ठ कहाँ पुग्नु भयो । उहाँले त्यतिखेरको शिक्षामन्त्री पशुपति शमशेरको महाराजगञ्जस्थित निवासमा लिएर जानुभयो । मन्त्री जी आफ्नो बगैंचाको पिङमा हल्लिएर बसिरहनु भएको थियो । 

उहाँहरु अगाडि गएर उभिनु भयो । मन्त्रीजीले तेह्रथुममा त्यसै त कम्युनिष्ट नै कम्युनिष्ट छन् । अब फेरि अर्को कम्युनिष्ट उत्पादन गर्ने ! यो हुँदैन भनेर मैले नै रोकेको हो भनेर मन्त्रीजीले जवाफ दिनुभयो । 

उहाँलाई यसरी कम्युनिष्ट बनाइयो । 

०००

२०३६ सालमा आन्दोलन शुरु भयो । भवानी घिमिरेले सडक कविता क्रान्ति चलाउनु भयो । त्यतिखेर पहिलो कविता पाठ गर्ने सात जनामा उहाँ पनि हुनुहुन्थ्यो । उहाँहरुले पिपला बोटबाट सडक कविता क्रान्तिमा भाग लिनुभयो । 

सात पटक जति उहाँले सडक कविता क्रान्तिमा भाग लिनुभयो । नेबिकोमा जागिर भएका कारण उहाँ काठमाण्डौ बाहिर जान पाउनुभएन । 

भवानी घिमिरेले २०२७ सालमा स्थापना गरेको साहित्यिक पत्रकार संघले २०३७ सालमा साहित्यिक संगोष्ठीमा उहाँ प्रवेश गर्नुभयो । पछि कार्यसमितिमा पनि बस्नुभयो । मनोनित, निर्वाचित सदस्य हुँदै उहाँ उपाध्यक्षसमेत हुनुभयो । २०४४ सालदेखि २०५५ सालसम्म उहाँ केन्द्रीय अध्यक्षसमेत हुनुभयो । 

विश्‍वेश्‍वर प्रसाद कोइराला मेलमिलापको नीति लिएर फर्केपछि उहाँको राजनीतिक भन्दा पनि साहित्यिक योगदानको कदर गर्नु पर्छ भनेर संघले अभिनन्दन गर्ने भयो । अभिनन्दन समितिको सदस्य सचिव उहाँ हुनुभयो । यति भए पछि के चाहियो र अब उहाँलाई कांग्रेस परस्तको ट्याग लाग्यो । 

कारण के थियो भने त्यसबेला साहित्यकार परशु प्रधान सूचना विभागको डाइरेक्टर हुनुहुन्थ्यो । उहाँलाई एक जना मान्छे चाहिएको रहेछ । अनि उहाँले बोलाएर मलाई मान्छे चाहिएको छ नेपाल पत्रिकाका लागि । तपाईँ यत्रो कार्यक्रम गरेर हिँड्ने मान्छे मन्त्रीहरुलाई भनेर आउनुस् जागिर खान भन्नुभयो । 

त्यस बेला साहित्यिक कार्यक्रम राम्रो चलाउँछ भनेर कार्यक्रम गर्नका लागि उहाँलाई सम्झन्थे । कार्यक्रम गरिरहने नाताले सञ्चार मन्त्रालयमा उहाँको सम्पर्क थियो । उहाँले सचिवलाई गएर जागिर खाने कुरा राख्नुभयो । सचिवले कि त प्रधानमन्त्रीले कि दरबारले मात्र मान्छे राख्न सक्छ भन्नुभयो । 

बरु काम गर्ने हो भने रेडियोमा भन्दिन सक्छु भनेर उहाँले भनेपछि चार महिना जति रेडियोमा पनि काम गर्नुभयो उहाँले । 

साहित्यिक पत्रकार संघमा सल्यान तीरका उहाँका साथी पनि थिए । मरिचमान सिंह प्रधानमन्त्री भएका नाताले उहाँले सूचना विभागको जागिरको लागि कुरा गर्न भन्नुभएको थियो । साथीले कुरा राख्दा प्रधानमन्त्रीले विश्‍वेश्‍वर कोइरालाको अभिनन्दन गर्ने कांग्रेसलाई जागिर खुवाउने ? यो हुँदैन भन्नुभएछ । 

वामपन्थी भएर छात्रवृत्ति गुमाएको उहाँले अब कांग्रेस भएर जागिर खान पाउनु भएन । उहाँलाई दरबार परस्तको पनि आरोप लाग्यो । 

पञ्चायतको समयमा सरकारले संघ/संस्था भनेपछि देख्न सक्दैनथ्यो । मञ्जु रत्न शाक्यको पत्रकार महासंघले सूचना विभागमा दर्ता भएर त्यतिखेर वर्षको पाँच हजार पाउने गर्थ्यो ।

त्यसै उहाँहरुले दर्ताका लागि अनेक जोड गर्नुभयो । उहाँ समावेश साहित्यिक पत्रकार संघले तत्कालिन सञ्चार राज्य मन्त्री कमल थापामार्फत वर्षको पाँच हजार रुपैयाँ पाउने बनाउनु भयो । आखिर पाँच हजार दुवै संघको हैसियत बराबरीमा कायम गर्यो । 

पञ्चायतको समयमा राजाको महिना दिन लामो विकास क्षेत्रको भ्रमण हुने गर्थ्यो । त्यहाँ कला, साहित्य तथा संस्कृति जगेर्ना सम्बन्धी काम हुन्थ्यो । त्यसमा एउटा कवि गोष्ठी पनि हुन्थ्यो । कवि गोष्ठीको आयोजना प्रज्ञा प्रतिष्ठानले गर्ने गर्थ्यो । 

प्रज्ञाले क्षेत्रीय स्तरका दुई/चार जना र काठमाडौँका नाम चलेका पाँच/जनालाई गोष्ठीमा लैजान्थ्यो । २०२९ सालमा उहाँ धनकुटामा आइए पढ्दै हुनुहुन्थ्यो । त्यहाँ पूर्वाञ्चलमा राजाको सवारी शिविर भयो । कवि गोष्ठी हुने भयो । पूर्वाञ्चलका १७ जिल्लाका १७ कविलाई आमन्त्रण गर्दा उहाँको नाम तेह्रथुमबाट पर्‍यो । पूर्वाञ्चलको त्यस शिविरमा कविता पढेपछि उहाँको नाम कुनै पनि शिविरमा प्रज्ञाले छुटाएन । यसले उहाँलाई दरबार परस्तको आरोपलाई थप बल मिल्यो । तर, उहाँको अनुरोध के छ भने मैले त्यहाँ कस्तो कविता पढेँ त्यसलाई पो हेर्ने हो त । साथीहरुले कविता नहेरी आरोप लगाए भन्ने उहाँको गुनासो छ । 

दरबार परस्तका सन्दर्भमा उहाँको साथीहरुलाई प्रश्न पनि छ, २०३५ सालदेखि २०४६ सालसम्म आउँदा मैले राजाबाट पाउने गोरखा दक्षिण बाहु लगायतका कुनै पनि पदक किन प्राप्त गरिन त उसोभए ? शायद यसको उत्तर नखोजी शिविरमा कविता पढकै आधारमा मिथ्या आरोप लगाएकोमा उहाँ रुष्ट पनि देखिनुभयो ।

यसरी उहाँले वामपन्थी बनेर छात्रवृत्ति गुमाउनु भयो । कांग्रेसी भएर जागिर पाउनु भएन भने दरबारिया भएर पदक पनि पाउनु भएन !

०००

धनकुटामा उहाँ विद्यार्थी छँदा कवि गोष्ठीका लागि छनौट हुनुभयो । छनौट भएपछि मामाहरूले पनि भाग लिनुपर्छ भनेर हौस्याउनु भयो । त्यो बेलाको फेसन भनेको बेलबटम पाइन्ट लामो कपाल र ह्वार्लाङे शर्ट थियो । तर, अब कवि गोष्ठीमा जानका लागि बेलबटम लगाएर जान त भएन । दौरा सुरुवाल थिएन । अनि उहाँले मामाको लगाएर जाने विचार गर्नुभयो । 

म भात जोरूँ कि कविता लेखूँ भन्ने उहाँको एकदमै चर्चित कविता लण्डन विश्वविद्यालयको विदेशी भाषाको कवितामा पर्छ । उहाँको त्यही कविता अमेरिकाको एउटा विश्वविद्यालयको प्राध्यापकले पुरुषको दैनिकीमा कति महत्वपूर्ण जिम्मेवारी छ त्यो पनि दक्षिण एशियामा भन्ने सन्दर्भमा अनुसन्धान गरेर राख्नु भएको छ । त्यसमा २ सय एक जना कविको कविता संग्रह परेकोमा नेपालबाट उहाँको उक्त कृति परेको छ ।

तर, मामा उहाँभन्दा केही अग्लो । सुरुवाल पेट सम्म आयो लगाउँदा । त्यसलाई इँजारले पट्टयाएर अलि छोटो बनाउनु भयो । दौरा पनि त्यस्तै । दौरालाई पनि त्यसैगरी मिलाएर ठिक्क माथिसम्म आउने बनाउनु भयो । अनि ठूलो पेटी लगाएर ती सबैलाई नखस्ने गरी च्याप्नु भयो । 

पछि कवि गोष्ठीमा आउँदा भने उहाँले दाइको दौरा सुरुवाल लगाउनु भयो त्यो उहाँलाई ठीकै हुन्थ्यो । पछि भने उहाँले दौरा सुरुवाल सिलाउनु भयो । 

०००

उहाँको हजुरबा लोकमान श्रेष्ठ काठमाडौँ इखाटोलबाट धनकुटा हुँदै तेह्रथुम पुग्नु भएको हो । अहिलेको तेह्रथुमको म्याङलुङ बजारलाई व्यवस्थित बनाउने काम उहाँको हजुरबाबाटै  भएको हो । 

२००४ सालमा स्थानीयको सहयोगमा उहाँको हजुरबाले त्यहाँ सिंह वाहिनी हाइस्कुलको स्थापना समेत गर्नुभयो । उहाँका सात भाई छोरा मध्ये माइला छोराको उहाँ कान्छो छोरो । उहाँको बुवा चन्द्रमान कपडाको व्यापारी हुनुहुन्थ्यो । व्यापार हजुरबाको पालादेखि नै शुरु भएको हो । पसलमा कपडा मात्र नभएर किराना तथा अन्य आवश्यकताका चिजहरु पनि थिए । 

उहाँको हजुरबाको पालामा स्टुडेण्ट्स सप भन्ने पसल थियो किताबहरु पाउने । त्यहाँ सोभियत भूमि, चीन सचित्र, मातृभूमि, झापाबाट निस्कने सूर्योदय आदि पत्र–पत्रिका बिक्री हुन्थ्यो । यसले उहाँमा पढ्ने, लेख्ने र चेतनाको विकास गर्ने काम गर्यो । 

उहाँको घरमा हरेक दिन बिहान हजुरआमालाई ढोग गर्ने चलन थियो । त्यसबेला यदि कुनै पत्रिका घरमा हुन्थे भने त्यो पढेर सुनाउने प्रचलन पनि थियो । जो गएन त्यो सजायको भागिदार समेत हुन्थ्यो । 

उहाँको जन्म २०१३ सालमा तेह्रथुमको म्याङलुङ बजारमा भएको हो । उहाँको घरमा राखिदिएको नाम भने विश्वनाथ मान श्रेष्ठ हो । उहाँको परिवारमा मान श्रेष्ठ राख्ने प्रचलन थियो । तर, साहित्यमा रुचि भएकोले स्कुलका हेडमास्टरले उहाँको नाम विश्वविमोहन श्रेष्ठ राखिदिनुभयो । जुन अहिले चर्चित साहित्यकारका रुपमा चिनिन्छ । 

उहाँले आफ्ना दुई छोराको नाममा पनि विमोहन जोड्नु भएको छ भने नातिको नाममा पनि विमोहन जोडिसक्नु भएको छ । 

०००

उहाँको बाल्यकाल पनि अरु सामान्य बालक झैं डण्डी बियो, गुच्चा, खर्ल्याङ  खुट्टी आदि खेलेर बितेको हो । 

उहाँको प्रारम्भिक शिक्षा सिंहवाहिनी स्कूल तेह्रथुमबाट भएको हो । स्कूलमा प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप हुने गर्थ्यो । जसमा नाटक, गीत, कविता, हाजिरी जवाफदेखि फुटबल, भलिबल र अन्य खेलकुद प्रतियोगिता समेत हुने गर्थ्यो । 

उहाँको दाइहरूको पालामा भने स्कूलमा आफू बस्नको लागि चकटी लिएर जानुपर्थ्यो । तर, उहाँको पालासम्म आउँदा डेस्क बेन्चको व्यवस्था भइसकेको थियो । सदन विभाजन गरेर स्कूलमा बगैंचा सजाउने काम समेत हुन्थ्यो । 

शौचालय भने एउटा मात्र भएका कारण लाइन लामो हुन्थ्यो । गाउँमा खुला ठाउँ तथा रुख झाडीहरू पनि प्रशस्त हुनाले लाइन लाग्ने झन्झटबाट मुक्त हुन कान्लो, आली र झाडी उपयुक्त गन्तव्य हुन्थ्यो । त्यसको एउटा भोक्ता पनि हो उहाँ । 

तेह्रथुमको म्याङलुङ शिक्षामा अगाडि थियो आठराई क्षेत्रलाई त झन वामपन्थी विचारको उर्वर भूमि समेत मानिन्छ । त्यसकारण उहाँ पाँच कक्षासम्म पढ्दा कक्षामा विद्यार्थीको उपस्थिति राम्रै थियो महिलाहरुको उपस्थिति पनि झण्डै ६०/४० को हाराहारीमा हुन्थ्यो । 

२०२१/२२ सालतिर सिंहवाहिनीबाट निस्किएका शिक्षकहरुले श्रीकृष्ण पुस्तकालय समेत सञ्चालन गरेका थिए । त्यो पुस्तकालयको निजी भवन अहिले पनि छ । पुस्तकालय बेलुका २ घण्टा खुल्थ्यो । पुस्तकालयमा भारतीय पुस्तकालय, मदन पुरस्कार गुठी, चिनियाँ दूतावास तथा दार्जिलिङ तीरबाटसमेत पुस्तकहरु आउँथ्यो । पुस्तकालयमा जवाहरलाल नेहरु, महात्मा गान्धी आदिको जीवनी, माओत्सेतुङको रातो किताबसमेत पाइन्थ्यो । उहाँले उतिबेलै ती किताबहरु पढिसक्नु भएको थियो । 

२०२८ सालअघि विद्यार्थी युनियन खोल्न प्रतिबन्ध थियो । अनौपचारिक रुपमा युनियनहरू खोलिन्थ्यो । उहाँ आठ कक्षामा पढ्दा युनियनको सचिव हुनुहुन्थ्यो । नौ कक्षामा पढ्दा उपाध्यक्ष हुनुहुन्थ्यो । दश कक्षामा अध्यक्ष हुनुहुन्थ्यो । 

राति राति बैठक बस्थ्यो । कोही शिक्षकले बदमासी गरेको छ वा मर्का परेको छ, विद्यार्थीलाई केही समस्या परेको छ भन्ने बारेमा छलफल हुन्थ्यो । चन्दा पनि संकलन गरिन्थ्यो । बजारमै घर भएका कारण उहाँको सबै शिक्षकसँग चिनजान व्यवहार राम्रो थियो । 

उहाँ विद्यार्थी त सामान्य नै हो । तर, नेतृत्व गर्ने क्षमता भने राम्रै भएका कारण स्कूलबाट बाहिर हुने हाजिरी जवाफ, नाटक र अन्य साहित्यिक कार्यक्रमको उहाँ आफैं नेतृत्व गरेर जानुहुन्थ्यो । 

उहाँले २०२८ सालमा एसएलसी दिनुभएको हो । उहाँको ब्याचका त्यस बेला ३४/३५ जना थिए । त्यस मध्ये ४ जनाले फस्ट डिभिजनमा पास गरे । उहाँ सहित ४ जना सेकेण्ड डिभिजनमा पास हुनुभयो । उहाँको भने फस्ट डिभिजनका लागि ४ नम्बर पुगेन ।

०००

एसएलसीपछि २०२९ सालमा उहाँ काठमाण्डौ आउनु भयो पढ्नका लागि । त्यसबेला काठमाडौँ आइपुग्न पनि गाह्रो थियो । हिँड्न सक्ने मान्छेलाई तेह्रथुमबाट धरान आउन तीन दिन लाग्थ्यो ।एक दिन हिँडेर बसन्तपुर, अर्को दिन धनकुटा अनि धरान । धरानबाट गाडी चढेर विराटनगर अनि विराटनगरबाट हवाइजहाज चढेर बल्ल काठमाडौँ आइ पुगिन्थ्यो । 
उहाँको काकाको छोरा त्यतिबेला शाही नेपाल वायुसेवा निगममा काम गर्नुहुन्थ्यो । उहाँको अफिसको गाडीबाट उहाँ एअरपोर्टबाट क्षेत्रपाटी सम्म उहाँको कोठामा आउनु भयो । दाइले भोलिपल्ट काठमाडौँ घुमाउनु भयो । क्षेत्रपाटीबाट किलागलको बाटोबाट झर्दा किला ठोकेको सम्झनुहुन्छ भने किलागलमा रहेको स्टेशनरीमा दाइले मोटो टेलिफोन डायरी किनेर यसमा सबैको फोन नम्बर लेखेर राख्नुपर्छ भनेर दिनुभयो । अनि इन्द्रचोक निस्किएर आरसी मःमः मा मःमः खाएर रञ्जनाको गल्लीबाट न्यूरोड पीपलबोट निकाल्नुभयो । त्यहाँ धेरै साहित्यकारसँग भेट पनि भयो । यी सबै सबै उहाँको स्मरणमा अझै ताजा छ । 

त्यस्तै पछि तेह्रथुम गएपछि पनि एउटा चौतारोबाट अर्को चौतारोसम्म एक घण्टा साथीभाइसँग डुलेको अनि वरको पाकेको गेडा छोडाएर खाएको, आलेटारमा पौडी खेल्न सिक्न गएका घटनाहरु उहाँको स्मरणमा प्रिय बनेर रहेका छन् । 

०००

हालको बागदरबार रहेको ठाउँमा त्यसबेला आइसीएम अर्थात् इण्डियन कोअपरेशन मिसनको अफिस थियो । आइसीएमले छात्रवृत्ति दिने काम गथ्र्यो । एसएलसी दिएर आएका विद्यार्थीले त्यहाँ परीक्षा दिएर पास भएमा छात्रवृत्तिमा इण्डिया पढ्न जान पाइन्थ्यो । 

उहाँले पनि लिखित तथा अन्तर्वार्ताका दुवै परीक्षा पास गर्नुभयो । सातौं नम्बरमा उहाँको नाम निस्कियो । उहाँ भारतको फैजावादमा इन्जिनियरिङ पढ्न जाने हुनुभयो । उहाँ २०२९ सालमा इण्डियन एयरलाइन्सको जेट चढेर पढ्नका लागि लखनउ ओर्लनु भयो । लखनउबाट रेल चढेर उहाँ फैजावाद जानुभयो ।

एक त गर्मीको समय अर्को भनेको खानपान पनि मिलेन । रोटी खानुपर्ने । उहाँ झण्डै दुई महिना पढेपछि बिरामी हुनुभयो । शरीर भरी खटिरा आयो । लुगा लगाउँदा पनि टाँसिने हुन थाल्यो । अनि उहाँ दशैंको समयमा बिरामी भएका कारण छुट्टि मिलाएर नेपाल आउनुभयो । दशैंमा दश दिन बिदा त पाइन्थ्यो । तर, घर आउन नपाउने, भारतमै घुम्नुपर्ने हुन्थ्यो ।

उहाँ अयोध्याको बाटो हुँदै रेल तथा अन्य माध्यम गरी उहाँ तेह्रथुम आइपुग्न भयो । आएर चिकित्सकलाई देखाउँदा बसेर उपचार गर्नुपर्छ भनेपछि उहाँको छात्रवृत्ति छुट्यो । किनकि प्राविधिक विषय भएकोले दुई महिना भन्दा बढी बिदा पाइँदैनथ्यो । 

त्यसपछि उहाँले आइए पहिलो वर्षमा प्राइभेट फर्म भर्नुभयो । उहाँ पहिलो वर्षमा प्रथम हुनुभयो । त्यसपछि अर्को वर्ष छात्रवृत्तिसहित धनकुटा कलेजमा पढ्न थाल्नुभयो । महिनाको तीन सय पाउनुहुन्थ्यो उहाँले छात्रवृत्ति । 

बिए भने उहाँले धरानमा आएर पढ्नु भयो । बसाइ मामाघरमा थियो । त्यहाँ पनि उहाँले छ सय छात्रवृत्ति पाउनु भएको थियो । बिए सकाएपछि भने उहाँ २०३५ सालमा काठमाडौँ आउनुभयो । 

०००

हुनत उहाँ २०२४ साल पछाडिका हरेक बाल दिवसमा कवितामा प्रथम हुनुभएको हो । तर, २८ थरी गुराँस पाइने तेह्रथुमको चर्चित स्थान तीनजुरे मा उहाँहरुले एउटा हस्तलिखित नामक पत्रिका पनि निकाल्नु भएको थियो २०२६ सालमा । पछि जिल्ला विकास समितिले तीनजुरे भन्ने पत्रिका निकाल्यो २०२७ सालमा । त्यहाँ नै उहाँको पहिलो कविता छापिएको हो । 

नेपाल प्रज्ञा प्रतिष्ठानले वर्षेनी असार ९ गते अयोजना गर्ने राष्ट्रिय कविता गोष्ठीमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई त्यहाँका कविहरूलाई भाग लिनका लागि खबर पठाउने गर्छ । २०३२ सालमा उहाँ बिएको जाँच दिएर तेह्रथुममै बसिरहनु भएको बेला प्रजिअ अफिसले उहाँलाई चिठी दियो र उहाँले एउटा कविता पठाउनु भएको थियो । उक्त कविता पुरस्कृत भएछ तर, उहाँलाई भने थाहा थिएन । पछि प्रजिअले नै व्यवस्था गरेर उहाँलाई काठमाडौँ पठाइदिए । 

उहाँ त्यसबेला केही समय काठमाडौँ बस्नु भयो । अनि त्यस बेलाका चर्चित साहित्यकारहरूसँग भेटघाट चिनजान भयो । त्यो बेला गोरखापत्रका सम्पादक हुनुहुन्थ्यो केशवराज पिंडाली । उहाँले अफिसमा बोलाएर केही कविता माग्नुभयो । अनि गोरखापत्रको शनिबारसरीयमा उहाँका कविताहरु छापिन थाले । यसरी ३०३२ सालदेखि उहाँ राष्ट्रिय स्तरमा छाउन थाल्नु भएको हो । 

०००

साहित्यिक पत्रकार संघमा हुँदा उहाँले केही उल्लेख्य काम गर्नुभयो । काठमाडौँका वरिष्ठ कविलाई मोफसलका स्थानीय कविसँग जोड्न कविता यात्राको कार्यक्रम शुरु गर्नुभयो । 
कथा दिवस उहाँकै संयोजकत्वमा शुरु भयो । गुरु प्रसाद मैनालीका नाममा मैनाली कथा पुरस्कारको स्थापना गर्नुभयो । जुन अहिले कथा विधामा उत्कृष्ट पुरस्कार मानिन्छ । 
पाँचै विकास क्षेत्रमा साहित्यिक पत्रकार संघको स्थापना गर्नुभयो । संस्थालाई संस्थागत रुपमा नै अगाडि बढाउनुपर्छ भनेर भाडा तिरेर कार्यालय स्थापना गर्नुभयो । 

सञ्चार मन्त्रालयबाट अनुदान लिनका लागि अडिट रिर्पोट चाहिने हुँदा हरेक वर्ष साधारणसभा बोलाउने, अडिट गरेर आयव्यय प्रस्तुत गर्ने कामको पनि शुरुवात गर्नुभयो । यसलाई संस्थागत रुपमा विकसित गर्नुभयो जसले गर्दा महालेखाले समेत अनुदान दिने गथ्र्यो । 

त्यतिखेर प्रज्ञाको निमन्त्रणामा हरेक वर्ष एउटा चिनियाँ सांस्कृतिक टोली नेपाल आउने गथ्र्यो । भने नेपाली टोली पनि चीन जाने गर्थ्यो । उहाँ पनि त्यसमा पर्नुहुन्थ्यो । उहाँ साहित्यिक पत्रकार संघमा पुगिसकेपछि चिनियाँ दूतावासले यदि तपाईँहरुले निम्ता दिनुभयो हामी टोली सांस्कृति टोली पठाइ दिन्छौं भन्यो । 

साहित्यिक पत्रकार संघको खर्चमा आयोजना भएको गोष्ठीमा चिनियाँ टोली आयो । अनि चीनले पनि बोलाएपछि उहाँको नेतृत्वमा २२ सदस्यीय एउटा टोली राज्यमन्त्री स्तरीय सुविधासहित चीन पुग्यो । 

उत्तर कोरियाले बोलाएपछि उहाँहरु चीन जानुभयो । यी सबैले कम्युनिष्टको आरोप लाग्छ भनेर उहाँहरुले भारतीय साहित्यकारहरु बोलाएर कार्यक्रम पनि गर्नुभयो । 

०००

उहाँ आफू साह्रै कम लेख्ने कविहरू मध्ये पर्ने बताउनुहुन्छ । उहाँको अहिलेसम्म चारवटा कविता कृति प्रकाशित भएको छ । अहिले कविहरूले अन्य विधामा कलम चलाए पनि उहाँ जस्ता दुई/चार जना सर्जक मात्र कविताले टिकिरहनु भएको छ । 

उहाँको पहिलो कविता संग्रह प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित विश्वविमोहनका केही कविताहरु भन्ने रहेको छ । त्यस बेला भूपि शेरचनको प्रेम पूर्ण आग्रहमा यो सम्भव भएको हो । उहाँ त्यो कृति म भात जोरूँ कि कविता लेखूँ भन्ने शीर्षकमा नै निकाल्न चाहनुहुन्थ्यो । तर, तत्कालिन व्यवस्थाले आफू माथि प्रहार गरेको ठहर्ने कारण विश्वविमोहनका केही कविताहरु शीर्षकमा कृति प्रकाशन गर्यो । कविता पनि संलग्न गर्यो तर शीर्षक भने त्यो राख्न मानेन् । 

उक्त कृतिको म भात जोरूँ कि कविता लेखूँ भन्ने उहाँको एकदमै चर्चित कविता लण्डन विश्वविद्यालयको विदेशी भाषाको कवितामा पर्छ । उहाँको त्यही कविता अमेरिकाको एउटा विश्वविद्यालयको प्राध्यापकले पुरुषको दैनिकीमा कति महत्वपूर्ण जिम्मेवारी छ त्यो पनि दक्षिण एशियामा भन्ने सन्दर्भमा अनुसन्धान गरेर राख्नु भएको छ । त्यसमा २ सय एक जना कविको कविता संग्रह परेकोमा नेपालबाट उहाँको उक्त कृति परेको छ ।  

पछि अँगारका अमिला धर्साहरु शीर्षकको संग्रह एपेकबाट निस्कियो । त्यसको अंग्रेजी अनुवाद पनि निस्किएको छ । साझा प्रकाशनबाट एउटा गन्तव्यको खोजीमा भन्ने अर्को संग्रह निस्किएको छ । साझा प्रकाशनबाट म भात जोरूँ कि कविता लेखूँ शीर्षकको अर्को कृति प्रकाशन भएको छ । 

२०३२ सालमा उहाँ प्रज्ञा प्रतिष्ठानले आयोजना गरेका राष्ट्रव्यापी कविता प्रतियोगितामा दोस्रो हुनु भएको थियो । २०४४ सालमा राज्यले दिने मोती पुरस्कार, रत्नश्री पुरस्कार, वनिता पुरस्कार, नई पुरस्कार, ईश्वर वल्लभ पुरस्कार, व्यथित काव्य पुरस्कार, वासु शशी स्मृति पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, गोपाल प्रसाद रिमाल काव्य पुरस्कार लगायत थुप्रै पुरस्कार तथा सम्मान पाउनु भएको छ । 

उहाँले पछि एपेक नेपाल भन्ने एउटा संस्था खोल्नुभएको छ । एपीइसी अर्थात अथर, पब्लिसर्स, इडिटर, सर्कल । अर्थात सर्जकदेखि प्रकाशक र सम्पादकसम्मको एउटा समूह । जसले प्रत्येक वर्ष गर्ने कार्यक्रमको खाका तयार पार्ने र काम गर्ने गर्छ । 

एपेक नेपालले विशेषगरी विदेशमा रहेका नेपाली साहित्यकारहरु नेपाल आएका बेलामा साहित्य गोष्ठी गर्ने, रचना प्रकाशन गर्ने लगायत अन्य कुरामा सहयोग गर्ने गर्छ ।