लोकसंवाद संवाददाता | समाचार | जेठ १५, २०७९
प्रमुख राजनीतिक दलका उम्मेदवारहरुलाई पाखा लगाउँदै काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत र एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याएका छन् ।
युवा पुस्तामा र्यापर का रुपमा चर्चित रहेका बालेन पेसाले इन्जिनियर हुन् । उनको जितलाई प्रमुख राजनीतिक दलहरुले बाहिरी रुपमा पचाए जस्तो गरेर बधाई दिए पनि भित्री रुपमा पचाउनै सकिरहेका छैनन् । उनीहरुलाई आफूहरुले चुनाव जित्ने निश्चित जस्तै आंकलन सार्वजनिक गरेका थिए ।
त्यसैले त एमालेका उम्मेदवार केशब स्थापितले आफ्नो प्रतिस्पर्धा कांग्रेसकी सिर्जना सिंहसँग हुने र बालेनलाई प्रतिस्पर्धी उम्मेदवार नै नठानेको अभिव्यक्ति दिएका थिए । तर मत परिणामले केशव बालेनका प्रतिस्पर्धी नै बनेनन् र कडा टक्करबीच सिर्जना सिंहसँग पनि पछि परेर तेस्रो स्थान हासिल गर्न सफल भए ।
राजधानी सहर, भौतिक पूर्वाधार, बाटो, पुल, विद्यालय, अस्पतालजस्ता अत्यावश्यक वस्तुको पर्याप्त व्यवस्थापन गर्नुपर्ने सहर पनि हो, काठमाडौं । तर विश्वले विकासमा ठूलो फड्को मारिसक्दा पनि काठमाडौं बासी सधै राजनीतिक दलहरुको रमिता हेर्न र वर्षाको समय आउनेबित्तिकै कतिपय ठाउँमा त रोपाइ गर्न लागेको खेतजस्तै सडकमा सवारी गुडाउन बाध्य छन् ।
काठमाडौँमै व्यवस्थित अस्पताल, फोहोर मैलाको उचित व्यवस्थापन, खानेपानी, सार्वजनिक शौचालय, सर्वसुलभ शिक्षाजस्ता आधारभूत कुराको कमी छ । काठमाडौँ ऐतिहासिक नेवारी सम्पदाको सहर पनि हो । यसलाई यथा अवस्थामै संरक्षण गर्नुपर्ने दायित्व पनि छ । काठमाडौँका तमाम समस्याबीच यहाँको बदलिदो मनोविज्ञानलाई बुझ्न नसक्दा ठूला दलहरुले नराम्रोसँग चक्मा खाएका छन् । यद्यपि अझै पनि दलहरु सुध्रिने छाँटमा भने देखिँदैनन् ।
काठमाडौंको शान्त विद्रोह
काठमाडौँ हरेक पटक विद्रोह गर्छ र विद्रोह पछि आउने नेतालाई सहयोग पनि गर्छ । काठमाडौं शान्त विद्रोह गर्छ र सत्तालाई सधैं विद्रोहको सन्देश पठाउँछ । नेपालमा हरेक राजनीतिक परिवर्तनहरु काठमाडौँका नेवार बस्तीहरु उठेपछि आउने गरेको छ । राणा विरोधी आन्दोलन, पञ्चायत विरोधी आन्दोलन, २०४६ सालको जनआन्दोलन, २०६२/६३ को आन्दोलन यी सबैमा काठमाडौंले प्रमुख भूमिका खेलेको छ ।
यहाँका नेवार समुदाय हरेक आन्दोलनमा अग्र मोर्चामा उभिएपछि परिवर्तन सम्भव हुँदै आएको छ । कुनै बेला नानी मैया दाहाललाई चुनाव जिताएर विद्रोहको शंखघोष गरेको काठमाडौंले यसपटक भने बालेनमार्फत राजनीतिक दलहरुको भूमिका, औचित्य र आवश्यकतामाथि प्रश्न उठाइदिएको छन् ।
लोकतान्त्रिक गणतन्त्रमा जनताले सामना गरिरहेको महंगी, भ्रष्टाचार, बेथिती, सामाजिक–आर्थिक विशृङ्खलता, अभाव, स्वास्थ्य, शिक्षा, रोजगारको समस्या, परिवार पाल्न लाखौं युवा बिदेसिनु पर्ने, प्रताडित हुनुपर्ने अवस्थामा पनि दलहरु जनताका प्रतिनिधि नहुने र अभिजात वर्गको हितका लागि सिंगो राज्य संयन्त्र प्रयोग हुने, जनताले सधै गरिबी, अभाव र अपमानको जीवन बाँच्नुपर्ने अवस्था अन्त्यका लागि जनताले दिएको यो सचेत चेतावनीलाई बेवास्ता गर्दै जाने हो भने देशभरका जनता राजनीतिक दलका विरुद्ध उत्रिने अवस्था आउन सक्छ ।
यसअर्थमा बालेन साह काठमाडौंको विद्रोहको मसालका रुपमा प्रकट भएका छन् । यो विद्रोहलाई कसैले कमजोर ठान्यो र काठमाडौँ बासीको परिवर्तनको चाहनालाई बेवास्ता गर्यो भने त्यसले नयाँ विद्रोहको रुप लिन नसक्ला भन्न सकिन्न ।
हरेक परिवर्तनमा राजनीतिक दलहरुलाई साथ दिएका काठमाडौंबासीले सधैं धोका खाँदै र दुःख मात्र हात परिरहेका छन् । राजधानीका रुपमा एउटा व्यवस्थित सहर बन्न सकेन काठमाडौं । यहाँका जनतालाई चुनाव जित्न सधै सपना देखाउने र चुनाव जितेपछि निद्रामा परेर आफैं सपना देख्ने दलका नेताहरुलाई यसपटक भने काठमाडौंबासीले राम्रैसँग झापड अर्थात सबक सिकाएका छन् । अब यो झापडले पनि दलहरु र नेताहरु सुध्रिएनन् भने त्यसको हिसाबकिताब काठमाडौंसहित देशभरबाट पाउने खतरा पनि देखिएको छ ।
तीन ठाउँबाट सल्किएको विद्रोह
सधैं परिवर्तनका लागि विद्रोहको नेतृत्व काठमाडौंले गर्दै आएको थियो । तर यसपटक भने धरान र धनगढीले पनि राजनीतिक दलहरु माथिको विद्रोहलाई साथ पाएको छ । धरानमा चुनाव जित्ने सधैं एउटै एजेन्डा थियो, पानी । हिउँदे याममा काकाकुल बन्ने धराने जनतालाई पानी खुवाउने बाचा गरेर चुनाव जित्नेहरू आफू ‘मिनरल वाटर’ मा पल्किएर जनताको पेटमा सधैं लात्ती हानिरहेका थिए । धरानको पानीको मूल स्रोत रहेको सर्दु जलाधार क्षेत्रको संरक्षण, विष्णुपादुकाबाट पानी ल्याउनेदेखि सप्तकोशीको पानी ल्याउने सम्मका सपना विगतमा धराने जनतालाई देखाइएका थिए ।
तर ति सबै प्रतिबद्धताहरू चुनाव जितसँगै समाप्त भइरहेका थिए । धरानको खानेपानीको समस्या सधैं ज्यूँ का त्यूँ रहँदै आयो । यसै विषयलाई लिएर एक्लै सामाजिक अभियान चलाइरहेका हर्क साम्पाङलाई यसपटक धराने जनताले मेयरमा निर्वाचित गरेर राजनीतिक दलहरुलाई विगतमा दिएको धोकाको बदला मतदानका माध्यमबाट लिएका छन् ।
प्रतिबद्धताअनुसार र साम्पाङ मेयर निर्वाचित हुँदाका कपडा समेत परिवर्तन नगरी खानेपानीको मुहानमा पुगेर केही सन्देश दिन खोजेका छन् । उनले खानेपानीको समस्या हल गर्न पूर्ण रुपमा सफल हुन्छन् या हुँदैनन् त्यो भविश्यले नै बताउने छ । तर उनले इमान्दार प्रयास गरे भने असम्भव विषय पनि होइन ।
सुदूरपश्चिमको धनगढीले पनि यसपटक स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई मेयर बन्न सफल छ । लामो समयदेखि धनगढीको विकासका लागि आवाज उठाउँदै आएका हमालको विजय कुनै अप्रत्यासित थिएन । उनी अघिल्लो निर्वाचनमा नै ठूलो जनमत पाइसकेका व्यक्ति हुन् । यसपटक धनगढीले पनि उनलाई चुनाव जिताएर राजनीतिक दलहरुको अक्षमता माथि औँला ठड्याउने काम मतदाताले गरेका छन् ।
हरेक पटक काठमाडौंले विद्रोहको मसाल बाल्दा सत्ता हल्लिन्थ्यो । त्यसलाई नेतृत्व गर्ने शक्ति सँधै सत्तामा पुग्दै आएको विगत छ । यसपटक भने यसलाई कसले नेतृत्व गर्छ भन्ने प्रश्न छ । यद्यपि देशैभरका जनता राजनीतिक दलहरुको अत्याचार पूर्ण क्रियाकलाप, देशलाई सधै कंगाल बनाइराख्ने र नेता मोटाउने प्रवृत्ति, भ्रष्टाचार, बेथिति, कुसंस्कारका विरुद्ध उत्रिएका छन् ।
लोकतान्त्रिक गणतन्त्रमा जनताले सामना गरिरहेको महंगी, भ्रष्टाचार, बेथिती, सामाजिक–आर्थिक विशृङ्खलता, अभाव, स्वास्थ्य, शिक्षा, रोजगारको समस्या, परिवार पाल्न लाखौं युवा बिदेसिनु पर्ने, प्रताडित हुनुपर्ने अवस्थामा पनि दलहरु जनताका प्रतिनिधि नहुने र अभिजात वर्गको हितका लागि सिंगो राज्य संयन्त्र प्रयोग हुने, जनताले सधै गरिबी, अभाव र अपमानको जीवन बाँच्नुपर्ने अवस्था अन्त्यका लागि जनताले दिएको यो सचेत चेतावनीलाई बेवास्ता गर्दै जाने हो भने देशभरका जनता राजनीतिक दलका विरुद्ध उत्रिने अवस्था आउन सक्छ ।
राजनीतिक दलहरुले बेलैमा जनचाहनाअनुसार राज्य व्यवस्था सञ्चालन गर्ने र जनताका न्यूनमत आवश्यकता पूरा गर्नसक्ने अवस्था निर्माण गर्नेतिर ध्यान दिन सके मात्र सचेत विद्रोहलाई मत्थर पार्न सक्ने छन् । सचेत चेतावनीलाई जनमुखी कार्यले विद्रोहको मसाल निभाउने कि निषेध गरेर सयौं मसल सल्काउने त्यो दलहरुको हातमा छ ।