लोकसंवाद संवाददाता | समाचार | जेठ १५, २०७९
नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्पर्कविहीन रहेको तारा एयरको ट्विनअटर ‘नाइन एनएईटी’ जहाजको खोजी कार्यमा मौसम बाधक बनेको जनाएको छ ।
प्राधिकरणले एक विज्ञप्ति जारी गर्दैै प्रतिकूल मौसमका कारण खोजीमा गएको फिस्टेल एयरको हेलिकोप्टर पुनः जोमसोम फर्किएको बताएको छ ।
तारा एयरको ट्विनअटर ‘नाइन एनएईटी’ जहाज आज बिहान पोखराबाट जोमसोम जाने क्रममा सम्पर्कविहीन बनेको थियो । जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना यात्रु छन् । जहाजमा रहेका यात्रुमा १६ जना नेपाली, ४ जना भारतीय र २ जना जर्मन छन् ।
प्राधिकरणका अनुसार जहाज बिहान पोखराबाट ९ः५५ बजे जोमसोमका लागि उडेको थियो । जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः०५ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो । सोपश्चात् विमान सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ ।
‘काठमाडौं, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धार कार्यका लागि थप हेलिकोप्टरहरू स्ट्याण्ड बाई रूपमा रहेकाले मौसममा सुधार आउनासाथ हवाईमार्गबाट खोज कार्य पुनः सुरु गरिनेछ । स्थलमार्गबाट खोजी कार्य गर्न नेपाली सेना र नेपाल प्रहरीसमेत त्यसतर्फ प्रस्थान गरिसकेका व्यहोरा जानकारी गराइन्छ’, प्राधिकरणले विज्ञप्तिमा भनेको छ ।