डा. सदानन्द कडेल | साहित्य | जेठ २१, २०७९
नेपालमा बिकासात्मक कार्यक्रम तथा परियोजनाहरू संचालन गर्न सहयोग गर्दै आइरहेको संस्था, प्लान इन्टरनेशनलले नयाँ अवधारणालाई अगाडी सारेको थियो । जुन ‘बाल केन्द्रित सामुदायिक विकास अवधारणा’ को नामले चर्चित थियो । नेपालमा लागु हुनुभन्दा पहिले फिलिपिन्स र बंगलादेशमा नमूना परियोजना मार्फत सफलतापूर्वक परिक्षण भइसकेको थियो त्यो ।
प्लान इन्टरनेशनल एशिया क्षेत्रीय कार्यालयको संयोजनमा नेपाल र चीनको टोलीलाई फिलिपिन्सको सिकाइ भ्रमणमा पठाउने निर्णय भयो ।
तद अनुसार २०६१ साल माघ १४ गते (२७ जनवरी २००५) नेपालबाट १ जना परामर्शदाता र १२ जना प्लान इन्टरनेशनल नेपालका स्टाफको टोली बैंकक हुँदै फिलिपिन्सको राजधानी मनिला पुग्यो । नयाँ मुलुक जान पाएकोमा मक्ख थिएँ म । अरू साथीहरू पनि दंगै हुनुहुन्थ्यो ।
मनिलाको एउटा होटेलमा ‘चेक इन’ गरेर बाहिरको रेष्टुरेन्टमा डिनर गर्यौं । १३ जना नेपाली सँगै बसेर साँझको खानपिन गर्दा मनिलाको रेष्टुरेन्ट पनि नेपालकै हो कि जस्तो लाग्यो ।
पूर्व निर्धारित योजना मुताबिक भोलिपल्ट विहान हाम्रो टोली दुई समुहमा बाँडियो । डा. केदार बराल, चन्द्र कायस्थ, छिङलमु शेर्पा, राजन पौडेल, शिखा घिल्ड्याल र सुदिप गौतम मनिलाबाट दक्षिणी लेते प्रान्त भ्रमणको लागि प्रस्थान गर्नु भयो । उहाँहरूको टोलीमा परामर्शदाता डा. लोर्ना लबायान पनि हुनुहुन्थ्यो ।
अर्कोतिर कमल फुयाल, कमलेश कुमार लाल, कन्हैया पोखरेल, जुजुभाइ महर्जन, ललिता बास्कोटा, सुभाकर बैद्य र म सम्मिलित ७ जनाको टोलीको गन्तव्य थियो-मिन्डोरो टापुमा अवस्थित अक्सिडेन्टल मिन्डोरो प्रान्त ।
मनिलाको निनो अक्विनो अन्तर्राष्ट्रिय विमानस्थलबाट हामी फिलिपिन्स एयरलाइन्सको हवाईजहाज चढेर अक्सिडेन्टल मिन्डोरो प्रान्तको सान होसे विमानस्थल तर्फ प्रस्थान गर्यौं । प्लेनको झ्यालबाट समुन्द्र र टापुहरू हेर्दा अति नै आनन्द आयो । केही बर्ष अघि सिंगापुरबाट इन्डोनेशियाको यात्रा गर्दाको सम्झना आइरहेको थियो मलाई । उस्तै खाले दृश्य तल देखिएकोले त्यस्तो लाग्नु स्वाभाविकै थियो ।
आफ्नो देशमा आन्तरिक हवाई यात्रा गर्दा समुन्द्र नदेखिने भएर होला सायद विदेश भ्रमणको समयमा प्लेनको झ्यालबाट समुन्द्र हेर्न बिछट्टै मज्जा लाग्छ मलाई । झन् वीच-वीचमा टापुहरू पनि देख्दा त क्या आनन्द आउने !
आकाशबाट समुन्द्र र टापुहरू अवलोकन गरिरहेको बखतमा गुगलमा खोजेर फिलिपिन्सका टापुहरू सम्बन्धी आफूले संकलन गरेका केही सूचनाको स्मरण भयो ।
फिलिपिन्समा ७,६४१ टापुहरू रहेछन् । जसमध्ये स्थायी रूपमा मानिसको वसोवास भएका टापुहरूको संख्या चाहीं २,००० रहेछ । १०,५७२ बर्ग किलो मिटरमा फैलिएको मिन्डोरो चाहीं सातौं ठुलो टापु रहेछ । मैले बाल्यकाल देखी सुन्दै आएको ‘मिन्डानाओ’ चाहीं लुजोन पछिको दोस्रो (९७,५३० बर्ग किलोमिटर) ठुलो टापु रहेछ ।
प्रस्थान गरेको सवा घण्टा मै सान होसे विमानस्थलमा अवतरण गर्यो प्लेनले । काठमाडौंबाट नयाँ दिल्लीको जस्तै रहेछ हवाई यात्राको दूरी ।
प्लान इन्टरनेशनल फिलिपिन्सको एक टोली स्वागत गर्नको लागि एयरपोर्टको ‘रनवे’ नजिकै नै आएको थियो । प्लानको लोगो सहितको एउटा व्यानर प्रदर्शन गर्दै उभिएका थिए उनीहरू । त्यसमा रातो अंग्रेजी अक्षरमा लेखिएको थियो, ‘सान होसेमा स्वागत छ ।’ त्यसभन्दा तल निलो अक्षरमा ‘प्लान चीन र प्लान नेपाल स्टाफ’ लेखिएको थियो भने त्यो भन्दा तल झन् ठुला राता अक्षरमा ‘सिकाई भ्रमण’ लेखिएको थियो । ब्यानरको पुछारमा जनवरी २८ देखी फेब्रुअरी १, २००५ लेखिएको थियो ।
विमानस्थलको आगमन कक्षबाट बाहिर निस्किने स्थानमा नामांकित प्लेट तथा व्यानर सहित स्वागत गर्ने प्रचलन त सामान्य नै हो तर ‘रनवे’ मै व्यानर लिएर बसेको देख्दा चाहिं अचम्म नै लाग्यो । अनि उत्पातै खुसी पनि !
प्लान इन्टरनेशनल फिलिपिन्सले सान होसे स्थित कार्यालयमा परिचयात्मक तथा सिकाइ भ्रमण योजनाको ‘ब्रिफिङ’ गर्ने कार्यक्रम राखेको रहेछ । सिकाइ भ्रमणकी सहजकर्ता एला जोर्डन तथा प्लान इन्टरनेशनल चीनका साथीहरू सुन ली, वांग जियान्चेङ, गुवा लालन, लियांग ज्याङ जुन, गाव ओइजुन र यांग झाङ ओइसँग भेटघाट भयो ।
मिन्डोरो टापुमा दुई प्रान्त रहेछन् अक्सिडेन्टल मिन्डोरो र ओरिएन्टल मिन्डोरो । अक्सिडेन्टल मिन्डोरोका ११ ओटा नगरपालिकाहरू मध्ये सान होसे नगरपालिका र कलिन्टान नगरपालिकामा अवलोकन गराउने तयारी रहेको जानकारी पाइयो ।
सान होसे नगरपालिका ३३ ओटा बारांगाईमा विभाजित रहेछ भने कलिन्टान नगरपालिका अन्तर्गत ७ ओटा मात्र बारांगाई रहेछन् । बारांगाई चाहिं हाम्रो साविकको गाउँ विकास समिति जस्तो रहेछ ।
भोलिपल्ट विहान हामी कलिन्टान नगरपालिका अन्तर्गतको न्यू डागुपन बारांगाईको अवलोकन भ्रमण गर्नको लागि प्रस्थान गर्यौं । दुई छिमेकी राष्ट्र नेपाल र चीनमा काम गर्ने साथीहरू आपसमा गफिदैं यात्रा गर्दा झन् रमाइलो अनुभूति भयो ।
वरपर खेतीयोग्य भूभाग, स–साना आकर्षक घरहरू, साँघुरो भएपनि कालोपत्रे गरिएका सडकहरू तथा जताततै नरिवलका रूखहरू देखिने मनोहर वातावरणले मनै लोभ्यायो ।
आकर्षक देखिने एकताले सानो भवन अगाडि हाम्रो गाडी रोकियो । त्यो रहेछ न्यू डागुपन बारांगाई कार्यालय । कार्यालय अगाडी एउटा व्यानर झुन्ड्याइएको थियो । त्यसमा सबैभन्दा माथि ‘स्वागतम’ लेखिएको थियो राता अक्षरमा । त्यसपछि सहजकर्ताको नाम वीचमा लेखेर दुई तिर प्लान नेपाल र प्लान चीन उपशीर्षक अन्तर्गत सवै सहभागीको नाम लेखिएको थियो निलो अक्षरमा । सायद थाहा पाउन नसकेर होला ललिता दिदीको नाम अगाडी पनि ‘मिस्टर’ लेखिएको थियो भने चिनियाँ दुई महिलाको नाम अघि पनि त्यस्तै थियो ।
यस्तो किसिमको स्वागतले असाध्यै मिठो अनुभूति गरायो । साह्रै न्यानो र दिल छुने आतिथ्यता पस्कन सक्ने रहेछन् फिलिपिनाहरू ।
कार्यालय परिसरमा एउटा ठुलो होर्डिङ बोर्डमा मेरा आँखाहरू ठोकिन पुगे । त्यसमा शिक्षा, स्वास्थ्य तथा अन्य विषयहरू अन्तर्गतका सहस्राब्दी विकासका मूख्य लक्ष तथा परिसूचकहरु अनुसार सन् २००५ को आधाररेखा (वर्तमान अवस्था), सन् २०१० को मध्ये कालिन निर्दिष्ट लक्ष र सन् २०१५ को दीर्घकालिन लक्षको तथ्यांक उल्लेख गरिएको रहेछ - एउटा आकर्षक तालिकामा ।
तथ्य/प्रमाणमा आधारित उक्त योजना तर्जुमाले मन छोयो । हाम्रा गाउँ विकास समितिहरूमा पनि यसैगरी आधाररेखा सर्वेक्षण गरेर तथ्य÷प्रमाणमा आधारित योजना तर्जुमा गर्न सके कत्ति राम्रो हुन्थ्यो होला भन्ने लाग्यो मलाई । कमलजी र मैले त्यो बोर्डको दुई छेउमा उभिएर ‘अव नेपालमा पनि यस्तै गर्नुपर्छ है ?’ भनेर मौखिक सहमति गर्यौं ।
समुन्द्रको सतहबाट १०.७ मिटर (३५.२ फीट) उचाईमा रहेछ ‘न्यू डागुपन बारांगाई’ कार्यालय भएको भूभाग । कार्यालय छेउकै चउरमा गोलाकार ढंगले कुर्सीहरू राखिएका थिए । त्यहाँ कार्यक्रम सुरू हुन लागिरहेको थियो ।
न्यू डागुपन बारांगाईका महिला क्याप्टेनले आगन्तुकहरू तथा उपस्थित सवैलाई हार्दिक स्वागत गरेर आफ्नो बारांगाईको चिनारी गराउँदै बाल केन्द्रित सामुदायिक विकासको अवस्था र अनुभव सुनाउनु भयो । सानो स्थानीय तहलाई ‘बारांगाई’ भनिँदो रहेछ । त्यसका प्रमुखलाई चाहीँ ‘क्याप्टेन’ भन्ने चलन रहेछु ।
प्रभावकारी प्रस्तुतीकरण गर्नु भएकी क्याप्टेनले बिषयगत हिसावले प्रस्तुति दिनको लागि चुनिएका प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो । केन्द्रीय तहमा मन्त्रीहरू भए जस्तैग री स्थानीय बारांगाईमा चुनिएका प्रतिनिधिहरूलाई बिषयगत जिम्मेवारी दिइएको रहेछ । उहाँहरूको बिषयगत दक्षता पनि निकै नै राम्रो लाग्यो ।
शिक्षाको जिम्मेवारी निर्वाह गरिरहेका प्रतिनिधिले भन्नुभयो, ‘हाम्रो बारांगाईमा हाल (सन् २००५) को प्राथमिक तहको खुद भर्ना दर ८७ प्रतिशत छ । यसलाई सन् २०१० मा ९५ प्रतिशत र सन् २०१५ सम्ममा शत प्रतिशत पुर्याउने लक्ष राखेका छौं ।’ उहाँले थप्नुभयो, ‘यो लक्षलाई प्राप्त गर्नको लागि बाल केन्द्रित सामुदायिक विकासको अवधारणा अनुसार हामीले नीति, रणनीति तथा कार्यक्रमहरू तय गरेर लागु गरेका छौं ।’
त्यस्तैगरी शिक्षा, स्वास्थ्य तथा अन्य विषयका उद्देश्य र परिसूचक अनुसार विभिन्न प्रतिनिधिहरूले प्रस्तुत गर्नुभयो । हरेक पाँच बर्षमा मूल्यांकन गरेर सोही अनुसार योजनाको संसोधन हुने रहेछ ।
त्यहाँ कुनै स्थानीय गैर सरकारी संस्थाहरूसँग प्लानको साझेदारी रहेनछ । प्लानको बजेट सिधै स्थानीय सरकारमा जाने रहेछ । प्लान फिलिपिन्सका स्थानीय स्टाफको भूमिका प्राविधिक तथा परोक्ष खालको हुने रहेछ जुन नेपालको भन्दा विल्कुल फरक थियो ।
अर्को दिन कलिन्टान नगरपालिकाको न्यू डागुपन बारांगाईमा अवस्थित बागोंग सिलांग प्राथमिक विद्यालयको अवलोकन गर्न जाँदा मनमा एक किसिमको कौतुहलता थियो । ‘कस्तो होला त बालमैत्री विद्यालय ?’ यो प्रश्नले दिमागमा चक्कर लगाइरहेको थियो ।
विद्यालयको मूलद्वारा अगाडी हाम्रो गाडी रोकियो । हतार गर्दै हामीहरू विद्यालय भित्र पस्न लाग्यौं । दुई लाइनमा बालबालिकाहरू झण्डा बोकेर उभिएका थिए । ७ जना बालबालिकाहरूले नेपालको सूर्य चन्द्रान्कित झण्डा फहराइरहेका थिए । त्यसैगरी ६ जना बालबालिकाहरूले चीनको झण्डा फहराइरहेका थिए ।
बिदेशी भूमिमा आफ्नो देशको झण्डा सहितको न्यानो स्वागत पाउँदा हामी नेपालीहरू तथा चिनियाँहरु भावविभोर भयौं ।
विद्यालय परिसर, कक्षाकोठा, खेलमैदान, शौचालय, फर्निचर आदिमा बालमैत्री वातावरणको प्रत्याभूति प्रष्टै देखिन्थ्यो । त्यो भन्दा बढी त शिक्षक–बिद्यार्थी अन्तरक्रियामा जोड दिइएको पाइयो ।
सवैको सल्लाहमा ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट; यो देशको मुहार फेर्नलाई उठ’ बोलको गीत गाउनको लागि तयारी गरियो । कमल जीले मादल बजाउनु भयो । बाँकी सवै नेपालीले गीत गाउन थाल्यौं । स्वर त खासै मिठो थिएन कसैको पनि । तर सवै जना हौसिएका थियौं गीत गाउन ।
अर्को दिन विहान हामी सान होसे नगरपालिकामा अन्तरक्रिया गरेर बाल क्लवका क्रियाकलापहरू अवलोकन गर्न गयौं । विद्यालय तहमा अध्ययनरत बालबालिकाहरूको सक्रियता तारिफ गर्न लायक थियो । उनीहरूले बाल रेडियो संचालन गरेका रहेछन् । नेपाल र चीनबाट एक–एक जनासँग अन्तर्वार्ताको लागि अनुरोध गरे बालबालिकाहरूले ।
‘प्रारम्भिक बाल विकास र सिकाइ संयोजक’ को जिम्मेवारीमा भएकोले नेपालको तर्फवाट अन्तर्वार्ता दिन साथीहरूले मलाई आग्रह गर्नुभयो । चीनको तर्फबाट मिस गुवा तयार भइन् । ढोका माथि ‘अन एयर’ लेखिएको स्टुडियोमा हामी दुईजना पस्यौँ ।
एउटा ठुलो टेबलमा तीनवटा माइक्रोफोन सहित दुई जना बालिका र एकजना बालक बसेका थिए । अर्को छेउमा माइक्रोफोन ठडिएको ठाउँमा हामी दुईजना बस्यौं । अरू साथीहरू बाहिरको एउटा कोठामा रेडियो सुन्न तयार भएर बस्नु भएको थियो ।
प्रश्नकर्ता बालबालिकाले स्वागत गर्ने क्रममा पालैपालो नेपाल र चीनका आगन्तुकलाई नाम पढ्ने काम गरे । उनीहरूलाई नाम उच्चारण गर्न औधी गाह्रो भएको थियो । उनीहरूले नेपाल र चीनमा बालबालिकाहरूको लागि के कस्ता कार्यक्रमहरू संचालन भएका छन् ? प्लान सान होसेको बाल केन्द्रित सामुदायिक विकास कार्यक्रम कस्तो लाग्यो ? सान होसेका बालबालिकाहरूलाई के सन्देश दिन चाहनुहुन्छ ? आदि जस्ता प्रश्नहरू सोधेका थिए ।
फिल्ड भिजिटको अन्तिम दिन अलिक छिट्टै होटेलमा फिर्ता भयौं । हामी बसेको होटल नजिकै रहेछ ‘साउथ चाइना सी’ । त्यहाँको वीचलाई ‘बराबड विच’ भनिने रहेछ । ‘फिलिपिन सी’ चाहिं अर्को साइडमा पर्ने रहेछ ।
मेरो ‘रुम पार्टनर’ हुनुहुन्थ्यो कमलजी, धेरै पहिला देखी नै चिनजान भएको मन मिल्ने साथी । मौका मिल्ने बित्तिकै स्विमिङ कस्टम लगाएर कमल जी र म समुन्द्रमा पौडी खेल्न पस्यौँ । जुजुजी, कन्हैयाजी र ललिता दिदी पनि आउनु भयो ।
समुन्द्रको छालमा लडीबुडी गर्दा चौपट्टै रमाइलो भयो । छिपछिपे पानीमा सुतेर फोटो खिचाउन खोज्दा समुन्द्रको छाल आएर डुबाइदियो । म झसंग भएँ । झटपट उठेर पाखा तिर बुर्कुसी मारे । बालुवामा बुर्कुसी मार्नको मज्जा अतुलनीय थियो ।
छिपछिपे पानी सहितको बालुवामा डङ्ग्रङ्ङ लडेर, कुइनोले टेकी हत्केलामा गाला अड्याएर मिल्ने साथीसँग गफ्फिन पाउँदाको मिठासको वर्णन गरि साध्य छैन । एउटा हातले गालालाई टेको दिएर अर्को हात हल्लाउन लागेको बेलामा कमलजी दौडिएर पाखामा जानुभयो र भन्नुभयो, ‘यस्तो कमालको दृश्यलाई क्यामेरामा कैद नगरी भएन ।’
त्यो फोटो हेर्दा अहिले पनि मलाई साह्रै नै आनन्द आउँछ ।
साँझमा रिपोर्टिङ तथा फिलिपिन्सको टोलीसँग अन्तरक्रियाको आयोजना गरिएको थियो । एला जोर्डनले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।
अन्त्यमा नाचगान कार्यक्रम सुरु हुन थाले पछि म आफ्नो कोठा तर्फ हानिए । हतार हतारमा इक्वेडर जाँदा किनेको दौरा सुरुवाल, फ्रान्स जाँदा किनेको इस्टकोट र पाल्पाली ढाका टोपी लगाएर दौराको तुनामा नेपालको झण्डा बाँधेर भुईँ तलामा भएको हलमा आएँ । नेपाली साथीहरू छक्क पर्नुभयो । चाइनिज र फिलिपिन्सका साथीहरू झन् आश्चर्यचकित हुनुभयो ।
यांग झांग ओइले सोधे, ‘सदान्, तिमी त कलाकार हो कि क्या हो ?’ अरू साथीहरूले पनि नेपाली पोशाकको निकै तारिफ गरे । म त फुरुङ्ग भएँ ।
सवैको सल्लाहमा ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट; यो देशको मुहार फेर्नलाई उठ’ बोलको गीत गाउनको लागि तयारी गरियो । कमल जीले मादल बजाउनु भयो । बाँकी सवै नेपालीले गीत गाउन थाल्यौं । स्वर त खासै मिठो थिएन कसैको पनि । तर सवै जना हौसिएका थियौं गीत गाउन ।
‘हातमा कलम हुनेहरू कलम लिएर उठ’ भन्दा सुभाकर जीले खल्तीबाट फुत्त कलम निकालेर देखाउँदै माथि उठाउनु भएको दृश्य रोचक थियो ।
त्यतिबेला प्लान मोरङमा कार्यरत साथी तथा बलिदान फिल्ममा उक्त गीत गाउने असली गायक ओम श्रेष्ठलाई निकै स्मरण गरेका थियौं कमलजी र मैले ।
नेपाल पछि चाइनिज साथीहरूले गीत गाउनु भयो । सुभाकर जीले फेरी एकल आवाजमा ‘फूलको आँखामा फूलै संसार’ गाउनु भयो ।
‘मलाई पनि एक टुक्रा चाइनिज गीत आउँछ तर मेरो स्वर पनि मिठो छैन र गीतको अर्थ पनि बुझदिन’ मैले यत्ति भन्न नभ्याउँदै दुईजना चाइनिज साथी दौडिएर मेरो सामु आए र गीत गाउन हर्षित भाव भंगीमा अनुरोध गरे ।
नौबिसे–पोखरा पृथ्वी लोक मार्ग निर्माण गर्ने क्रममा गजुरीको चाइनिज क्याम्पमा बसेका चिनियाँ इन्जिनियरहरूबाट सिकेर कण्ठ पारेको गीत मैले सुनाएँ ।
‘ताया हान्सिङ खाउडुसु ह्वा ह्वा सान्जिङ खाउठाया
इह लिपुक सुइया ख लिपुक या,
कामिङ सान्जाङ लिपु खाइ, खानजाङ तान
ई... नापुची चिन्चीली थाया, लाची यौके माउचुसी पिचुली ख्वा मा.....।’
चाइनिजहरू खित्का छाडेर हाँस्न थाले । नेपाली तथा फिलिपिनाहरू पनि मरी मरी हाँसे ।
गीत सकेर मैले बोतलको पानी मुखमा हाल्ने बित्तिकै एउटा चाइनिज साथी वांग जियान्चेङ हाँस्दै ‘ई...नापुची चिन्चिली..’ भन्दै म छेउ आउन लागे । मैले हाँसो थाम्न सकिन । मुखमा हालेको पानी अनायासै बाहिर निस्केर कमलजीको अनुहार भरी पर्न गयो । म त ‘सरी सरी’ भन्दै लाजले भुतुक्कै भएँ । कमलजी असमन्जसमा पर्दै हल्का हाँसो सहित तुरुन्तै बाथरुम तर्फ जानु भयो सरसफाइको लागि ।
सातौं दिनमा सिकाइ यात्रा सम्पन्न गरेर फर्किंदा मुलुकमा निरङ्कुश राजतन्त्रले पौँजा फिँजाएको संकेत गरिरहेको थियो- काठमाडौँको सडकमा देखिएको सन्नाटा र सुरक्षाकर्मीको बिगबिगीले !
पछि पनि बेलाबेलामा कमलजीले त्यो क्षणको प्रसंग निकाल्दै भन्नुहुन्छ, ‘हाम्रो दोस्तीको एउटा इतिहास छ । त्यस्ता घटनाले झन् मित्रता बढाएको छ ।’
एकछिन पछि मैले गुवालाई गीतको अर्थ सोधें । त्यो त चिनियाँ सांकृतिक क्रान्तिको बेलाको क्रान्तिकारी गीत पो रहेछ । ‘माउचुसी’ भनेको माओत्सेतुङ रहेछ । तर गीतका शब्दहरू धेरै बिग्रिएका रहेछन् । सुनेर सम्झेका शब्दहरू सवै सहि कहाँ हुन्थे र ?
त्यतीबेला मलाई आफ्नो ब्रतबन्ध पछि सिकेको गायत्री मन्त्रको सम्झना भयो । पुरोहितले सिकाएको मन्त्र सम्झिन नसकेपछि मलाई एकजना दाइले गायत्री मन्त्र सिकाइदिनु भयो । मैले सिकेको गायत्री मन्त्र यस्तो थियो, ‘ॐ भू र्भुवस्व तस्य बिर्तुबम् दे मही देव जोर प्रछोदयात ।’
केही बर्ष गलत मन्त्र जपेपछि मैले कतै लिखित रूपमा गायत्री मन्त्र देखें, जसमा लेखिएको थियो, ‘ॐ भूर्भुवस्वः तत्स वितुर्वरेण्यं, भर्गो देवस्य धीमहि, धियो यो नः प्रचोदयात् ।।‘
आफूले मौखिक रूपमा सिकेर भन्ने गरेको मन्त्र गलत भएको थाहा पाएपछि मैले सही मन्त्र पनि भन्न छोडेको थिएँ । यो २०३५- ०३६ साल तिरको कुरो थियो ।
साथीहरूले ‘पानको पात’ गीत गाउन थालेपछि म नाच्न थालें । ललिता दिदीले पनि नाचमा मलाई साथ दिनुभयो । खासमा ललिता दिदीलाई चाहीँ राम्रोसँग नाच्न आउने रहेछ । मैले नाच्दा खेरी उफ्रे जस्तो मात्रै देखिन्थ्यो होला जस्तो लागेको थियो मलाई । तथापि फिलिपिन्स भन्दा अगाडी इजरायल, एक्वेडर र इन्डोनेशियामा नाची सकेकोले राम्रो नजाने पनि जमेर नाच्ने जमर्को गरेको थिएँ ।
सुभाकरजी पनि नाच्न थाल्नुभयो । उहाँलाई पनि नाच्न आउने नै रहेछ । अरू साथीहरूले पनि नाचेर आनन्द लिनु भयो ।
झन्डै साँढे सत्र बर्ष बित्न लाग्दा अहिले मलाई फेरी पनि ललिता दिदी र सुभाकरजीसँग नाच्न मन लागिरहेको छ । दिदीसँग त भेट नभएको पनि धेरै बर्ष भइसक्यो । खै, कहिले मिल्ला र त्यस्तो अवसर ?
कोठामा गएपछि भ्रमणको समिक्षा गर्दै कमलजीले भन्नुभयो, ‘मैले प्लान फिलिपिन्स र प्लान नेपालमा धेरै फरक पाएँ । फिलिपिन्सका स्टाफहरू सामाजिक रूपान्तरणको बारेमा बढी स्पष्ट रहेछन् । प्लान फिलिपिन्सले अनुसन्धान तथा प्राविधिक कुराहरूमा फिलिपिन्स विश्वविद्यालयसँग सहकार्य गर्दै सहयोग लिने गरेको रहेछ ।’ उहाँले अझै थप्नुभयो, ‘बिषयगत उद्देश्य र परिसूचकहरु आधारमा लक्ष निर्धारण गरी होर्डिङ बोर्डमा प्रदर्शन गरेर पारदर्शितालाई जोड दिएको पनि खुबै राम्रो लाग्यो ।’
भोलिपल्ट विहानै अक्सिडेन्टल मिन्डोरो प्रान्तको भ्रमण सम्पन्न गरेर हामी मनिला तर्फ उड्यौँ । मनिला पुग्दा दक्षिणी लेते तिर जाने साथीहरू पनि फर्किसक्नु भएको थियो ।
मनिलाको होटेलमा एक दिने कार्यशालाको आयोजना गरिएको थियो । दुबै टोलीलाई प्रतिवेदन पेश गर्न लगाइयो । हाम्रो टोलीको तर्फबाट नेपालको कार्यक्रम प्रमुखको हैसियतले सुभाकर बैद्यले प्रतिवेदन प्रस्तुत गर्नुभयो भने अर्को टोलीको तर्फबाट प्लान चीनका कार्यक्रम प्रमुखले पेश गर्नुभयो ।
त्यसपछि छलफलका क्रममा हरेक सहभागीलाई आफ्नो अनुभव तथा सिकाइ बारे बोल्ने मौका पनि मिल्यो । कार्यशालामा बाल केन्द्रित सामुदायिक विकास सम्बन्धी प्रमुख परामर्शदाता डा. लोर्ना लबायान र प्लान इन्टरनेशनल एशिया क्षेत्रीय कार्यालयका स्वास्थ्य सल्लाहकार डा. स्याण्डी फर्टुनाले सहजीकरण गर्नुभएको थियो । त्यहाँ प्लान इन्टरनेशनल फिलिपिन्स राष्ट्रिय कार्यालयका साथीहरूको पनि सहभागिता थियो ।
दक्षिणी लेतेमा जानुभएका चन्द्रजीले आफ्नो अनुभव सुनाउनुभयो, ‘पीएचडी गरेका महिला बारांगाईका क्याप्टेन भेटिए । प्राथमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूमा महिलाहरूको बाहुल्यता रहेछ । विद्यालयमा कक्षाकोठाको सजावट र सामग्री प्रदर्शन पनि निकै नै आकर्षक लाग्यो ।’
साँझमा प्लान इन्टरनेशनल फिलिपिन्स राष्ट्रिय कार्यालयले एउटा परम्परागत डान्स रेष्टुरेन्टमा नाचगान हेर्दै डिनर खाने अवसर जुटाइदियो । कला संस्कृतिमा फिलिपिन्स पनि धनी नै रहेछ । लुगा खोलेर लामा लामा पातहरूले जिउ ढाकेर गरिने नृत्य बेजोडको थियो । सुभाकरजी र चन्द्रजीले त्यसको भरपुर सदुपयोग गरेर नाच्नुभयो । बाँकी साथीहरूले पनि लागिमेली गर्ने काम गर्यौं ।
साँझको रमाइलो कार्यक्रम पश्चात कोठामा गएर टेलिभिजनमा बिबिसी समाचार हेर्दा नेपालको ब्रेकिङ न्युज आइरहेको रहेछ । सवैभन्दा पहिला आँखा पुग्यो भीमकाय जिउडाल भएका राधाकृष्ण मैनालीमा । त्यस्तै राजा ज्ञानेन्द्र, कीर्तिनिधि बिष्ट, डा. तुलसी गिरी, देवी ओझा, कृष्णलाल थकाली आदि पनि उभिएका थिए । नेपालमा त राजाले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई हटाएर आफै मन्त्रिपरिषदको अध्यक्ष भएर आफ्नो हातमा शासन लिइसकेका रहेछन् । अचम्म लाग्यो र ज्यादै नै दुःख पनि !
हामी दुबैले आ–आफ्नो घरमा फोन गर्ने प्रयास गर्यौं होटेलबाट । टेलिफोन नेटवर्कले काम गरेन । पछि थाहा भयो टेलिफोन नै बन्द गरिएको रहेछ । इन्टरनेट तथा वाईफाईको सुविधा अहिले जस्तो थिएन त्यतिबेला ।
राजनीतिक अनिष्ट भएछ नेपालमा भन्ने लाग्यो मलाई । कमलजीसँग राजनीतिक विषयमै लामो कुराकानी गरियो । उत्पातै नमज्जा लाग्यो । खास गरेर मन्त्रीपरिषदको अध्यक्ष भएका राजा ज्ञानेन्द्र तथा मन्त्री भएका राधाकृष्ण मैनाली, देवी ओझा र विपी पुत्र प्रकाश कोइराला प्रति उल्कै घृणा भाव जागृत भयो मनमा ।
एकछिन पछि बिबिसीले बेलायतबाट प्रा. डा. सूर्यप्रसाद सुवेदीसँग लिएको प्रत्यक्ष अन्तर्वार्ता आयो । उहाँले धेरै कुरा स्पष्ट पार्नु भयो र घुमाउरो पाराले समर्थन जनाउनु भएको देखियो राजाको कदमलाई ।
नेपालमा राजाले कू गरेको दिन २०६१ माघ १९ को समाचारले राती राम्रो निन्द्रा परेन । घरमा फोन पनि नलागेकोले झनै पिडा थपियो । सपनामा पनि राजनीतिक रणसङ्ग्रामका दृश्यहरू देखिएकोले ब्यूँझेपछि पनि बेचैन बनायो ।
सातौं दिनमा सिकाइ यात्रा सम्पन्न गरेर फर्किंदा मुलुकमा निरङ्कुश राजतन्त्रले पौँजा फिँजाएको संकेत गरिरहेको थियो- काठमाडौँको सडकमा देखिएको सन्नाटा र सुरक्षाकर्मीको बिगबिगीले !
फिलिपिन्सको सिकाइ यात्रा : निरङ्कुशताले पौँजा फिँजाएको थाहा नपाई बालुवामा बुर्कुसी मार्दाको मज्जा