एजेन्सी | विदेश | जेठ २२, २०७९
बंगलादेशको चटगाउँ शहर नजिकै रहेको एउटा डिपोमा भएको भीषण विस्फोटमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ । विस्फोटमा सयौँ घाइते भएका छन् । सीताकुण्ड शहरमा रहेको कन्टेनर भण्डारण केन्द्रमा आगो निभाउने क्रममा विस्फोट भएको थियो ।
डिपोमा रहेका केही कन्टेनरमा रासायनिक पदार्थ राखिएको स्थानीय संचार माध्यमले अनुमान गरेका छन् । विस्फोटका कारण वरपरका भवन हल्लिएका प्रत्यक्षदर्शीले बताए थिए । घाइतेमध्ये धेरेको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेहरूको शरीर ६० देखि ९० प्रतिशत जलेको प्राप्त विवरणहरूमा जनाइएको छ ।
यो शहर देशको दोस्रो ठूलो शहर चटगाउँबाट ४० किलोमिटर टाढा छ । सहरको एउटा अस्पताल घाइतेहरूले भरिएको छ । घाइतेहरूमा अग्नि नियन्त्रक र प्रहरीसमेत छन् । आगलागीअघि डिपोमा करिब ६०० जनाले काम गर्थे ।
विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।