लोकसंवाद संवाददाता | समाचार | जेठ २३, २०७९
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले असार मसान्तभित्र गण्डकी र बाग्मती प्रदेशमा दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारले धम्कीपूर्ण निर्देशन दिएकामा आपत्ति जनाएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा थापाले गत शुक्रबार राजपत्रमा सूचना प्रकाशन गरेर असार समान्न्तभित्र इम्बोस्ड नम्बर प्लेट जडान गर्न डर, त्रास र धम्कीपूर्ण भाषामा सरकारले उर्दी दिएको भन्दै आपत्ति जनाएका हुन् ।
नामकरण टुंगिएको प्रदेशमा गत मंसिर महिनादेखि इम्बोस्ड नम्बर प्लेट लागू गर्न गरिएको निर्णय कार्यान्वयन नभएको विषयमा समीक्षा नै नगरी सरकारले १ साउनदेखि अनिवार्य गर्नेगरी जारी गरिएको सूचनाबारे पुनर्विचार गर्नुपर्ने उनको माग छ ।
समयमा काम नगर्नेलाई कारबाही गर्नुपर्ने माग गरेका उनले जनतालाई सास्ती दिने काम भने बन्द गर्नुपर्ने बताए । जोडिएका एम्बोस्ड नम्बर प्लेट पनि गुणस्तरीय नरहेका भन्दै थापाले राष्ट्रिय सुरक्षाका लागि इम्बोस्ड नम्बर जडान गर्ने हो भने राज्यले पनि आर्थिकभार बेहोर्नुपर्ने बताए ।
इम्बोस्ड नम्बर जडानमा सस्तो र गुणस्तरीय पनि कायम गर्नुपर्ने उनको भनाइ छ ।