लोकसंवाद संवाददाता | समाचार | जेठ २३, २०७९
चितवनको माडीमा बाँदरमुढे घटना हुँदा कृष्ण अधिकारी ३३ वर्षका हुनुहुन्थ्यो । त्यो घटना भएको आजदेखि १७ वर्ष पूरा भएको छ । कृष्ण अहिले ५० वर्षका हुनुभयो तर कृष्णलाई लाग्छ- घटनाको घाउ अझै आलै छ । पीडा जस्तो थियो, त्यस्तै छ ।
कृष्ण भन्नुहुन्छ–, '१७ वर्ष भयो, घटना सम्झिँदा पनि गाह्रो हुन्छ, छोडौँ कसरी छोडौँ ? निरन्तर लाग्दा त न्याय पाइएको छैन, छाड्दा आस पनि मर्छ ।’
२०६२ जेठको २३ गते माडीको बाँदरमुढेमा तत्कालीन विद्रोही नेकपा माओवादीले यात्रुबाहक बसमा विद्युतीय बम विस्फोट गराएको थियो । विद्युतीय बम विस्फोटबाट ४२ जनाको ज्यान गएको थियो भने ७५ जना घाइते भएका थिए । घाइते ३ जनाको उपचारका क्रममा ज्यान गएको थियो । ज्यान गुमाउनेमध्ये ३ जना नेपाली सेना पनि थिए ।
सर्वसाधारणको ज्यान लिने गरी गरिएको उक्त घटनालाई मानवताविरोधी घटनाको रूपमा सर्वत्र आलोचना गरिँदै आएको छ ।
समय बित्दै जाँदा राज्यले भने घटना बिर्सिंदै गएको अनुभूति बाँदरमुढेका घाइतेहरूले गरिरहेका छन् । उनीहरू भन्छन्, 'दोषी पहिचान गरी कारबाही नगरिएसम्म हामीले न्याय पाउँदैनौँ ।'
'हाम्रो न्यायलाई राज्यले अनिर्णयको बन्दी बनायो', कृष्ण भन्नुहुन्छ, 'हामी पीडितहरूलाई राज्यले मतलब गरेन ।’
कृष्णका अनुसार घटनाका घाइतेहरू समय बित्दै जाँदा झन् समस्यामा परेका छन् । घाइतेमध्ये अहिले १० जना हाराहारी ढाड, टाउकोलगायतका गम्भीर खालका समस्यासँग जुधिरहेका छन् ।
कृष्णको पनि सोही एम्बुसमा परेर दुवै खुट्टा, ढाड र छातीको करङ भाँच्चिएको थियो । लामो समयसम्म राम्रो उपचार नपाएर बैसाखी टेकेरै हिँड्नुपर्यो । ७ वर्षअघि देब्रे खुट्टामा स्टिल राखिएको छ । पलेंटी कसेर बस्न मिल्दैन । लामो बाटो हिँड्न मिल्दैन ।
यमकला चुवाइँ पनि बाँदरमुढे घटनाकै घाइते हुनुहुन्छ । एम्बुसमा पर्दा यमकला ९ महिनाकी गर्भवती हुनुहुन्थ्यो । आँखामा बमको छर्रा लाग्यो । खुट्टा भाँच्चिए । घटनालगत्तै हेलिकोप्टरबाट काठमाडौं लगेर उपचार गराएका कारण यमकला बाँच्नुभयो । उहाँको गर्भमा रहेको बच्चा पनि बाँच्यो ।
सोही घटनाको कारण आमा र बच्चा दीर्घकालीन समस्या लिएर बाँचिरहनुभएको छ । यमकलाले घाइते अवस्थामै छोरी अञ्जनालाई जन्म दिनुभयो । छोरी अञ्जनाको मुटुले लामो समयसम्म राम्रोसँग काम गरेन । जन्मिएको ५ महिना त अस्पतालमै राख्नुपर्यो ।
'छोरी अहिले पनि सुस्त छन् । हत्तपत्त कुरा बुझ्दिनन् । औषधि नियमित खुवाउनुपर्छ’, यमकला भन्नुहुन्छ, 'मेरो त दिन बित्दै जाँदा समस्या थपिँदै गएको छ ।’
समय बित्दै जाँदा शरीरमा समस्या झन् थपिँदै गएको यमकला बताउनुहुन्छ । यमकलाका अनुसार महिनाको ३ हजार रुपैयाँ हाराहारीको खर्चले आमाछोरीको औषधिको खर्च पुग्नेमा अहिले बढेर ५-७ हजार रुपैयाँसम्म पुगेको छ ।
राज्यले दिएको केही रकम यमकला, कृष्ण र अरू केही घाइतेहरूले पाएका छन् तर पटकपटक धाएर दिने केही रकमले जीविका कसरी चल्छ ?
विष्णुमाया विक सोही घटनाकी घाइते हुनुहुन्छ । १४ महिने छोरी सुस्मितासहित उहाँ दुर्घटनामा पर्नुभएको थियो । उहाँको दाहिने खुट्टा भाँचिनुका साथै टाउकोमा पनि चोट लागेको थियो । सानी छोरीको खुट्टामा चोट लागेको थियो ।
छोरी र श्रीमती घाइते देखेपछि श्रीमान् चन्द्रबहादुरले मानसिक सन्तुलन नै गुमाउनुभयो । विष्णुमायाको शरीर घाइते भएकाले दैनिक कामकाज गर्नसमेत कठिन हुन्छ ।
उहाँ शरीर दुखेर काम गर्न सक्नुहुन्न, बाँचेर पनि मरेको जस्तो जिन्दगी छ । 'राज्यले कहिले हेर्छ हामीलाई ?’, उहाँले सीमित रूपमा दिने नगद भन्दा पनि जीवन निर्वाह हुने सहयोग राज्यबाट हुनुपर्ने माग गर्नुभयो ।
यमकला, कृष्ण, विष्णुमाया सबै भन्नुहुन्छ, 'राज्यले हामीलाई जीविकोपार्जनका लागि सहयोग गरेन ।'
अहिले घाइते र मृतकका परिवार सबैको एउटै माग छ, 'राज्यले दोषी पहिचान गरोस् र उनीहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनअनुसारको सजाय सुनिश्चित गरोस् ।'
आफ्नै उमेरका साथीहरूले समाजमा प्रगति गरिसके तर आफू भने बाँदरमुढे भन्दै न्यायका लागि दौडिरहनुपर्दा घाइतेहरूलाई थप पीडाको महसुस भइरहेको छ ।
अधिकारी भन्नुहुन्छ, 'दिन बित्दै जाँदा आफ्नो पीडा बल्झिँदै गएको छ अरूले सधैँ बाँदरमुढे घटना भजाएर खान्छ भन्ने आरोप लगाउँछन् । राज्यले १७ वर्षको पीडादायी जीवनको क्षतिपूर्ति र मानवताविरोधी अपराध गर्नेलाई कारबाही गरिदिए फेरि बाँदरमुढे भन्दै भौंतारिनु नै पर्दैन नि !'
आज घटनाको १७ वर्ष बित्दा घटनाका घाइते र मृतकका परिवारले माडीको बाँदरमुढे खोलाका किनारमा बनाइएको बाँदरमुढे स्तम्भमा मृतकको स्मृति र घाइतेको स्वास्थ्यलाभको कामना गरी सभा गर्दै छन् ।
घटनापछि शान्ति सम्झौता हुँदै तत्कालीन नेकपा माओवादी राज्यको शक्तिको रूपमा आइसकेको छ । अधिकांश घाइते र पीडित माडीकै छन् । माडी नगरपालिका नै यसअघि माओवादीकै प्रमुख थिए तर पटकपटक घाइते र मृतकका परिवारलाई अल्झाउने काम माओवादीबाटै भएको उनीहरूको भनाइ छ ।
प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ले पीडित केही परिवारसँग लिखित ३ बुँदे सहमति पनि गर्नुभएको थियो । मतदाता प्रभावित गर्न गरिएको सो सहमति अर्को निर्वाचन आउन लाग्दासमेत कार्यान्वयनमा नआउँदा भने घटनाका घाइते झन् निराश भएका छन् ।
स्रोत: आईएनएस- स्वतन्त्र समाचार