लोकसंवाद संवाददाता | समाचार | जेठ २३, २०७९
स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता विरोध खतिवडाले मन्त्री फेरफेरको विषयमा कुनै निर्णय नभएको बताएका छन् । आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नाम प्रधानमन्त्रीलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
साेमबार बेलुकासम्म नयाँ मन्त्रीहरूको शपथ ग्रहण हुने कार्यक्रम तय भएका बेला खतिवडाले मन्त्री हेरफेरको विषयमा कुनै निर्णय नभएको बताएका हुन् । मन्त्री हेरफेरको विषयमा समाजवादीले सिफारिस गरेको हो भन्ने प्रश्नमा मन्त्री खतिवडाले भने, ‘मन्त्री सिफारिसको विषयमा कुनै निर्णय भएकै छैन । के पो भनेर सोध्नुभएको छ जहिल्यै पनि ।’
मन्त्रिपरिषद् फेरबदल भएको विषयमा कुनै निर्णय भएको भए यस विषयमा जानकारी दिन सकिने तर कुनै निर्णय नै नभएको विषयमा के जबाफ दिने भनेर उनले प्रश्न गरे ।
मन्त्री हेरफेरको विषयमा भने सरकारमा सहभागी मन्त्रीहरूले असन्तुष्टि व्यक्त गर्दै आएका थिए । मन्त्री हेरफेरको चर्चा चलेपछि स्वास्थ्यमन्त्री खतिवडा र पर्यटनमन्त्री प्रेम आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए । भेटका क्रममा उनीहरूले आफूलाई फिर्ता बोलाउने विषयमा असन्तुष्टि व्यक्त गरेका थिए ।
अध्यक्ष नेपालले भने मन्त्री नियुक्त हुने बेला नै ६ महिनाका लागि मात्र हो भनेर गराइएको बताएका थिए । नयाँ मन्त्रीहरूको साेमबार शपथ ग्रहणको कार्यक्रम पनि तय भइसकेको थियो । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट शपथ ग्रहणको कुनै जानकारी दिइएको छैन ।
समाजवादीले नयाँ मन्त्रीको रूपमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई शहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा पठाउने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्रीमा बढुवा गरेर प्रधानमन्त्रीलाई नाम सिफारिस गरेको थियो । स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई पठाउने निर्णय गरेको थियो ।
एकीकृत समाजवादीले पर्यटनमन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्यमन्त्रीबाट विरोध खतिवडा, शहरी विकासमन्त्रीबाट रामकुमारी झाँक्री र श्रममन्त्रीबाट कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।