एन्फाको नयाँ कार्यसमितिको पहिलो बैठक: दश खेलाडीलाई फिर्ता बोलाउने  निर्णय

एन्फाको नयाँ कार्यसमितिको पहिलो बैठक: दश खेलाडीलाई फिर्ता बोलाउने  निर्णय

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ०९, २०७९

काठमाडौँ ।  नवनिर्वाचित अध्यक्ष पंकजबिक्रम नेम्बाङको अध्यक्षतामा बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको पहिलो बैठकले मुख्य प्रशिक्षकसँग विवादपछि टिम बाहिर रहेका दस खेलाडीलाई टिममा फिर्ता बोलाउने निर्णय गरेको छ ।

बुधबार सातदोबाटो स्थित एन्फा मुख्यालयमा बसेको एन्फाको यस कार्यसमिति बैठकले खेलाडीलाई टिममा सहभागी गराउने तथा प्रशिक्षक र कतार फुटबल संघसँग समन्वय गरि कार्यान्वन गर्न सचिवालयलाई निर्देशन समेत दिएको छ । 

'राष्ट्रिय टिमका फुटबल खेलाडी र प्रशिक्षक बीचको विवाद पछि गठित कार्यदलले बुझाएको प्रतिवेदनको सुझाव अनुरुप १० जना खेलाडीहरुको हकमा राष्ट्रिय टिममा सहभागी गराउने निर्णय गरियो । र प्रशिक्षकको हकमा निज प्रशिक्षक र कतार फुटबल संघसँग समन्वय गरि कार्यन्वयन गर्न सचिवालयलाई निर्देशन दिने निर्णय गरियो'  विज्ञप्तिमा भनिएको छ   । 

गत महिना मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण कप्तान किरण कुमार लिम्बू, रोहित चन्द लगायत १० खेलाडी टिम बाहिर रहँदै आएका छन् ।

यस्तै,  महासचिवमा किरण राई र कोषाध्यक्षमा रबिन्द्र जोशीसंगै विदेश बिभाग प्रमुखमा नवीन पाण्डेललाई नियुक्त गरेको हो । 

सोमबार भएको एन्फाको चुनावी साधारणसभामा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्बाङ एन्फाको अध्यक्षमा निर्वाचित भएका हुन् । 

यता, संघले ढाकामा हुने साफको चुनावमा उपाध्यक्ष पदमा सुन्दर नरसिंह जोशीको नाम प्रस्ताव गर्ने निर्णय समेत  अखिल नेपाल फुटबल संघ (एन्फा) ले गरेको हो । 

'यहि जुलाई २ बंगलादेशको राजधानी ढाकामा हुने दक्षिण एसियाली फुटबल संघ (साफ) को चुनावमा उपाध्यक्ष पदमा नेपालबाट न्यु रोड टिम (एनआरटी) क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीको नाम प्रस्ताव गर्ने निर्णय पारित गरियो ।'